भर्खरै :

जनताले बोलीमा होइन काममा विश्वास गर्छन्

अभिनव
सरकारले बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ताको विषयमा जोसुकै जोडिए पनि छानबिन गर्न सरकार पछि नहट्ने बताएको छ । बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक कार्यक्रममा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बालुवाटार जग्गा अनियमितता छानबिनमा सरकार पछि नहट्ने बताए ।
‘यसमा म बहुत स्पष्टसँग अनुरोध गर्न चाहन्छु । सरकारले पिठ्युँ फर्काउने, आँखा चिम्लने, आँखा झिम्क्याउने र कानमा तेल हाल्नेवाला छैन’ मन्त्री बाँस्कोटाले भने ।
तर, नेपाली जनताले अहिले ओली सरकारको बोलीलाई सहजै विश्वास गर्नसक्ने अवस्था भने छैन । प्रधानमन्त्री ओली र सबैजसो मन्त्रीहरूले गरेरै छाड्छौं भनेका देश र जनताको हित हुने कयौँ निर्णय र काम अलपत्र छन् । बरु जनविरोधी भ्रष्ट ठेकेदार, कर्मचारी, विचौलियाहरूले राम्रो संरक्षण पाएका छन् । सरकारले कारबाही गर्ने घोषणा गर्नुभन्दा अगाडि संदिग्धहरूमाथि निगरानी गरी तत्काल मुद्दा दायर गरी पक्रनुपथ्र्यो । दोषीहरू स्वतन्त्र भएर सके अनुसन्धान नै हुन नदिने र कथंकदाचित भइहालेमा पनि त्यसलाई प्रभावित पार्न लागिरहेका छन् । “सरकार भने दोषीलाई छाडिन्न” भन्दै दोषीहरूलाई चनाखो बनाई विदेश भाग्ने मौका दिइरहेको छ । सरकार जनताले बोलीमा होइन काममा विश्वास गर्छ, त्यसैले जनभावना अनुसार ऐन–नियम बनाऊ, ऐननियम सबैका लागि समान ढङ्गले लागू गरेर देखाऊ । सरकार र पदमा बसेकाहरूबाट भ्रष्टाचार,अनियमितता र मनपरीतन्त्र मात्र नभए पनि नेपाली जनताले ठूलो राहत महसुस गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *