भर्खरै :

ओझेल परेकी लेखिका दिनेशनन्दिनी

सौदामिनी दिओ
“जोसेफाइनको प्रेममा नेपोलियन यति निमग्न थिए, जोसेफाइनको आकर्षणसामु नेपोलियन यसरी समर्पित थिए, युद्धमोर्चाको अग्रभागमा लडाई लडिरहनुपर्ने बेलामा नेपोलियन जोसेफाइनको सम्झनामा चुर्लुम्म डुबेर बस्थे । …त्यही भएर उनले जीवनमा निकै महत्वपूर्ण मौका गुमाए र आफ्नो जीवनकै सबभन्दा गम्भीर गल्ती गर्न पुगे… त्यसैकारण फ्रान्सको इतिहास नै अर्को दिशातिर मोडियो ।”
(सौदामिनी दिओले अनुवाद गरेको दिनेशनन्दिनीको उपन्यास ‘हाइड एन्ड सिक’ उपन्यास उद्धत)
चौध वर्षको उमेरमा दिनेशनन्दिनी आफूले कहिल्यै नभेटेको पुरुषसँग प्रेममा परे । उनले प्रेम गर्न थालेका पुरुष थिए–४५ वर्ष उमेरका आकर्षक मोहन सिंह मेहता । त्यत्तिबेला मेहताको श्रीमतीको निधन भइसकेको थियो । उदयपुरमा मोहन सिंह ग्लामरस र कूलीन ठाँटबाँटको लागि कहलिएका थिए । त्यही मानिसले आफ्नो प्रेमलाई निकै रुखो पाराले लत्याएपछि फ्रान्समा जस्तै दिनेशनन्दिनीको जीवनको दिशा सधैंको लागि अन्यत्र मोडियो । दिनेशनन्दिनी पछि साहित्य लेखनतिर लागे । उनका दस वटा गीत सङ्ग्रह, एघार वटा कविता सङ्ग्रह, दस वटा उपन्यास र चार वटा कथा सङ्ग्रह प्रकाशित छन् । अतृप्त प्रेम साहित्यको विराटतामा फैलियो ।
उनले आत्महत्याको असफल प्रयास गरिन् । त्यसपछि उनी मनोवैज्ञानिक रोग(हिस्टेरिया) बाट पीडित भइन् । उनी ओविस्थोटोनस नामको एउटा अचानक मासु बाउँडिने रोगबाट प्रभावित बनिन् । तर, उनका पिताजीले छोरीको रोगलाई आध्यात्मिक शक्ति र देवता चढेको भनी अपव्याख्या गरे । दिनेशनन्दिनी स्थानीय समुदायबीच बालयोगिनीको रुपमा परिचित बनिन् । स्थानीय सञ्चारमाध्यमले पनि उनमा कुनै जादुमयी क्षमता भएको भनी प्रचारप्रसार गरे ।
दिनेशनन्दिनीकी छोरी निलिमा दलमिया अधरले आफ्नो पुस्तक ‘फाडर डियरेस्ट’ पुस्तकमा आफ्नी आमाको मनोविज्ञानमा परेको यो नै पहिलो गहिरो आघात भएको लेखेकी छिन् । छोरी अधरले लेखेअनुसार दिनेशनन्दिनीले भोगेको दोस्रो ठुलो मनोवैज्ञानिक आघात भनेको निरोका नाममा जवाहरलाल नेहरूको नाममा पत्रहरू लेख्दा भोगेकी थिइन् । निरो रोमका एक जना पागल र क्रुर सम्राटको नाम हो ।
नेहरूले उनको पत्रको जवाफमा लेखेका थिए, “रहस्यमयी लेखक, तिमी आऊ र मलाई भेट । तिमी को हो, तिम्रो नाम के हो, तिमी कस्तो छौ अथवा तिमीले किन मलाई पत्र लेख्छौ, मलाई थाहा छैन ।” पत्राचार भएको दुई वर्षपछि दिनेशनन्दिनीले नेहरूलाई भेटे । भेटमा उनले नेहरूसमक्ष राजनीतिकरूपमा सक्रिय हुने इच्छा प्रकट गरिन् । नेहरूले पनि मौलाना आजादको नाममा सिफारिस पत्र लेख्ने वाचा गरे । त्यहींबाट उनको राजनीतिक जीवन सुरु भयो ।
“देश विभाजित भइसकेको थियो । गान्धीको हत्या हुँदाको समयमा उनी गहिरो दुःखमा थिए ।…भारतको मेरुदण्ड दुई भागमा विभाजित भएको थियो । विभाजनको क्रममा यति धेरै रक्तपात र हिंसा भयो, गंगा नदीको पानी पनि रातो बन्यो । झेलुम र सतलज सुर्योदयको आगोमा डुबेका थिए । हिन्दु र मुसलमानहरूबीचको विभाजन यति गहिरो थियो, स्वाधीनता र अनेकन परिवर्तनपछि पनि यो विभाजन अझै मेटिएन ।(…) जुनसुकै कुनामा पनि सामुदायिक हिंसा मच्चिएको थियो– हुँदाहुँदै एउटा नयाँ समुदायले आकार लिइरहेको थियो, हुलदङ्गा मच्चाउनेहरूको समुदाय ।”
(सौदामिनी दिओले अनुवाद गरेको दिनेशनन्दिनीको उपन्यास ‘दिस टु इज अ लाई’ बाट)
वैवाहिक जीवन
दिनेशनन्दिनीले कहिले कतिबेला राजनीतिक सक्रियताको इच्छा त्यागे, त्यो प्रस्ट छैन । तर केही समयपछि उनले विख्यात उद्योगपति रामकृष्ण दालमियाकी छैटौँ श्रीमती बन्ने प्रस्ताव स्वीकारिन् । रामकृष्ण दालमिया भारतमा चर्चित दालमिया उद्योगपत्ति घराना समूहका संस्थापक थिए । दालमियाको रुची बैङ्किङ, बीमा, वायुसेवा, मिडिया, रेलमार्ग सेवा, कपडा उत्पादन आदिमा विस्तारित थियो । रामकृष्णले आफ्ना कोही पनि श्रीमतीसँग न सँगै बस्न छोडेका थिए न पारपाचुके नै भएको थियो । सम्भवतः रामकृष्णसँगको यही विवाहले दिनेशनन्दिनीको मनोविज्ञानमा सबभन्दा गहिरो आघात पा¥यो ।
रामकृष्णकी पहिलो श्रीमती नरबदाको पहिले नै निधन भइसकेको थियो । १६ वर्षको उमेरमा क्षयरोगका कारण उनको निधन भएको थियो । दिनेशनन्दिनीका अनुसार नरबदाको निधनपछि उनकै सम्झनामा र फेरि उनलाई पाउने आशामा रामकृष्णले धेरै प्रेमिका बनाएका थिए र केही केटीहरूसँग विवाह गरेका थिए । दिनेशनन्दिनीको वैवाहिक जीवनमा धेरै प्रकारका सङ्कट आए । काङ्ग्रेस सरकारको पालामा भारत बीमा कम्पनीको मुद्दाका कारण उनका पति रामकृष्णले तिहाड जेलमा दुई वर्ष बिताउनुपरेको थियो । दालमियाको अवनतिको मूल कारण जवाहरलाल नेहरू नै बनेका थिए । दिनेशनन्दिनीको निम्ति यो घटना कल्पना पनि नगरेको आफ्नो सत्ताको अवसान थियो ।
त्यही बेला दिनेशनन्दिनी र उनका छोराछोरीका गणित शिक्षक राजनारायणबीचको निकटताबारे अनेकन हल्ला चल्यो । ठूलो परिवारमा यो गाईंगुर्इं व्यापक बन्यो । फलतः रामकृष्ण दालमियाले आफ्नै श्रीमतीमाथि चियोचर्चा गर्न मान्छे खटाएका थिए । दिनेशनन्दिनीको छवि अझै धमिल्याउने नाटकीय प्रयासमा घरमा काम गर्ने मानिसहरूले रामकृष्णको लागि बनाइएको खानामा विष मिसाइदिए । त्यत्तिबेला रामकृष्ण कारागारबाट उपचारको लागि अस्पतालमा भर्ना भएका थिए । त्यो घटनापश्चात दिनेशनन्दिनी र रामकृष्णबीचको सम्बन्ध लगभग अन्त्य भयो । राजनारायणलाई कामबाट बिदा गरियो । गाजियाबादस्थित दालमियाको ग्लास कारखाना परिसरभित्र पसेका राजनारायण त्यहाँबाट कहिल्यै फर्केनन् ।
दिनेशनन्दिनी र उनीबाट भएका सात सन्तानको चियो गर्न रामकृष्णले छोडेनन् । उनी दिनेशनन्दिनीलाई आएका सबै फोन कलबारे दैनिक जानकारी लिन्थे । दिनेशनन्दिनीकी छोरीका अनुुसारमा त्यो घरमा बस्ने सबै मानिस कैदी जस्ता थिए ।
“मेरो जन्मबाट मेरी आमा खुशी हुनुहुन्नथ्यो । मेरो बुबाको पहिलो पत्नीको पहिलो सन्तानको रुपमा पनि छोरी नै जन्मेकी थिइन् । त्यसकारण मेरी आमा मेरो बुबालाई एउटा चन्द्रमाजस्तो छोरो उपहार दिन चाहन्थिन् । तर, उनको अपेक्षाभन्दा पर म जन्मेकी थिएँ । मेरी आमाका सारा सपना चकनाचुर भयो । मेरो जन्ममा केही पनि विशेष भएन ।…हवेलीको दिनचर्यामा कुनै नयाँ भएन मानौं केही पनि भएको थिएन ।”
(सौदामिनी दिओले अनुवाद गरेको उपन्यास ‘दिस टु इज अ लाइ’ बाट)
साहित्य संसार
दिनेशनन्दिनीको उथलपुथलपूर्ण व्यक्तिगत जीवनका अनेकन आरोहअवरोहबीच पनि उनको बेरोकतोक समानान्तर साहित्यिक जीवन भने अपत्यारिलो देखिन्छ । त्यसमाथि उनको अधिकांश साहित्यिक लेखनमा रोमाञ्चक प्रेम, महिला–पुरुष सम्बन्ध, पुरुषप्रधान समाजमा महिलाको अवस्था र भारतीय राजनीति तथा समाजमा विद्यमान द्वन्द्व आदि विषयमा छन् । लेखनबाहेक उनले हिन्दी भाषाको साहित्यिक पत्रिका ‘धर्मयुग’ को सम्पादनमा पनि केही समय बिताएकी थिइन् । उनले सन् २००३ देखि ‘ऋचा’ नामको पत्रिका सम्पादन गर्न थालिन् । सन् २००७ मा ७९ वर्षको उमेरमा उनको निधन नहुँदासम्म उनले लगातार त्यो पत्रिका सम्पादन गरिन् ।
उनको सबभन्दा पछिल्लो कृति ‘मन्त्रपुरुष और अन्य कहानियाँ’ कथा सङ्ग्रह उनको निधन भएकै वर्षमा मृत्युपरान्त प्रकाशन भएको थियो । साहित्यमा उनले गरेको योगदानप्रति सम्मान गर्दै पद्मभूषण, साहित्य एकेडेमी पुरस्कार, साहित्यश्री, प्रेमचन्द पुरस्कार, मैथिलीशरण गुप्ता पुरस्कारलगायत सम्मान र पुरस्कार प्रदान गरियो ।
भारतमा चर्चित उनका पतिको छायाँमा दिनेशनन्दिनी ओझेल परेको देखिन्छ । उनका कृतिहरू मूलधारको आलोचनात्मक भासमा परेका छन् । उनका कुनै पनि कृति अङ्ग्रेजी वा भारतका अन्य भाषामा अनुवाद भएका छैनन् । भारत र विश्वको साहित्यिक वृत्तमा दसकौं पछि के दिनेशनन्दिनीको सम्झना गरिनेछ ?
उनले कुनै बेला एउटा गीतमा लेखेकी थिइन्,“कुनै समय कसैले को हो दिनेश भनी सोधे, भन्नुहोला–उनी प्रेमिका थिइन् कसैको ।”
स्रोतः स्क्रोल. आइएन
नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *