भर्खरै :

माक्र्सको जीवन सङ्घर्ष

मानिसले मानिसमाथि गर्ने शोषणबाट संसारलाई मुक्त गर्न चाहने मानिसहरू आज कार्ल माक्र्सको २०१ औँ जन्म दिवसमा उहाँका अमर विचार र अदम्य जीवनको सम्झना गरिरहेका छन् । वैचारिकरूपमा माक्र्सबाट सिक्न सकिने जति अथाह ज्ञान छ, एक व्यक्तिको रूपमा पनि माक्र्सबाट सिक्नुपर्ने कुरा धेरै छन् । माक्र्सले जाल्ट बोमेललाई दिनुभएको अन्तर्वार्तामा लक्ष्यप्रतिको अर्जुनदृष्टि नै आफ्नो विशेषता र जीवनको सुख नै सङ्घर्ष भएको बताउनुभएको थियो । वास्तवमै जीवनलक्ष्य र सङ्घर्ष– यी दुई कुरा माक्र्सको जीवनमा अन्तिम दिनसम्म पनि अविछिन्न रह्यो ।
जीवनलक्ष्यको सन्दर्भमा माक्र्स सुरूदेखि नै स्पष्ट हुनुहुन्थ्यो । माध्यमिक तहको विद्यार्थी हुँदै उहाँले लेख्नुभएको जीवनलक्ष्यसम्बन्धी निबन्धमा ‘आफू मानव जीवनको मुक्तिको लागि लाग्ने’ लक्ष्य तय गर्नुभयो । उहाँ क्रमशः आफ्नो लक्ष्य प्राप्तिका अनेकन बाटो खोज्दै अघि बढ्नुभयो । माक्र्सका पिता छोरालाई राम्रो वकिल बनाउन चाहनुहुन्थ्यो । तर, वकिल पेशाले मात्र माक्र्सको लक्ष्य हासिल हुने अवस्था थिएन । ‘जीवनलक्ष्यप्रतिको अर्जुनदृष्टि’ ले उहाँलाई अझ फराकिलो क्षितिज खोज्न अभिपे्ररित गरिरह्यो । उहाँ दर्शनशास्त्रको विद्यार्थी बन्नुभयो । दर्शनशास्त्रको अध्ययनमा पनि उहाँले तत्कालीन प्राज्ञिक वृत्तमा सबभन्दा अघि बढेको हेगेलको दर्शन अध्ययन गर्नुभयो । माक्र्सले हेगेलको दर्शनशास्त्रलाई चुनौती दिँदा अझ अघि बढेको दर्शनको विकास गर्नुभयो । पुरातनपन्थी हेगेलवादीहरूसँग त्यसक्रममा भएको सङ्घर्षले उहाँको चिन्तनमा अझ चमक ल्यायो । पुरातनपन्थी हेगेलवाद तत्कालीन शासकको पक्षमा उभिएको दर्शन थियो, माक्र्स त्यसको विपरीत धारमा हिँड्नुभयो । कुनै पनि सत्तासँग सङ्घर्ष गर्नु त्यत्ति सरल र सहज हुने गर्दैन । माक्र्सको क्रान्तिकारी विचार सत्ताको निम्ति मृत्युपत्र थियो । आफ्नो मृत्युको दर्शन बोकेर हिँड्ने मानिसलाई राज्यसत्ताले लघार्नु कुनै नौलो कुरा थिएन । न त त्यस्तो कोपभाजनमा पर्ने माक्र्स नै पहिलो व्यक्ति थिए ।
माक्र्स युरोपको एउटा देशबाट अर्को देशमा अनेकन प्रतिकूलता सामना गर्दै अघि बढ्नुभयो । जुन देशमा जस्तोसुकै परिस्थितिमा बस्दा पनि माक्र्सको चिन्तन रोकिएन । उहाँको परिवारले पनि हजार चुनौतीका पहाड छिचोल्नुप¥यो । आर्थिक अभाव, सन्तान वियोगदेखि सरकारको लगातारको दमन सामना गर्दै माक्र्सको जीवनयात्रा अघि बढिरह्यो । प्रतिकूलतासँग सामना गर्ने क्रममा उहाँको जीवनलक्ष्यको अर्जुनदृष्टि कहिल्यै तिरमिराएन । सङ्घर्षले माक्र्स स्पात बन्दै जानुभयो । विरोधीको पूर्वाग्रह र निन्दाले उहाँलाई आफ्नो लक्ष्यप्रति प्रतिबद्ध बनाउँदै लग्यो । त्यही भट्टीबाट तयार हुनुभएका माक्र्स आज संसारका लागि बाटो देखाउने कम्पास बन्नुभएको छ । निधन भएको १३६ वर्षपछि माक्र्सका विचार अझै जीवित मात्र छैन, दिनानुदिन सान्दर्भिक बन्दै गएको छ । माक्र्सवादी विचार निर्माणमा माक्र्स एक्लैको योगदान पक्कै भएको छैन । धेरै–धेरै माक्र्सवादी र माक्र्सवादविरोधीहरूले पनि माक्र्सवाद निर्माणमा योगदान गरेका छन् । तर, माक्र्सवादको आधार तयार गर्न माक्र्सले आफ्नो जीवनमा भोग्नुभएको सङ्घर्ष र ती सबै परीक्षा उत्तीर्ण हुँदै माक्र्सले हासिल गर्नुभएको अमरत्व आज पनि संसारको लागि आदर्श छ ।
माक्र्स र माक्र्सवादलाई बङ्ग्याएर आफ्नो निजी फाइदा उठाउने कथित माक्र्सवादीहरूको पनि संसारमा कमी छैन । उनीहरूको लागि माक्र्स र माक्र्सवाद कमाइ खाने भाँडो बनेको छ । ‘माक्र्सवादी विचार’को व्याख्या उनीहरूको पेशा बनेको छ । तर, माक्र्सको जीवन सङ्घर्षसम्बन्धी उनीहरू चर्चा गर्न चाहँदैनन् । उनीहरू आफूलाई माक्र्सवादी भनाउनमा खुसी हुन्छन् । तर, माक्र्सको सङ्घर्षका आँधीहुरीले भरिएको जीवन आफ्ना सन्तानलाई पढाउन चाहँदैनन् । माक्र्सवादी बन्न माक्र्सको जीवनसङ्घर्ष र लक्ष्यप्रतिको अविचलित यात्राबाट पनि सिक्नु जरूरी छ । माक्र्स गुलाबको ओछ्यानमा हुर्कनुभएको थिएन, सङ्घर्षको भट्टीहरूबाट माक्र्सहरू जन्मिने हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *