भर्खरै :

उदीयमान खेलाडीको अवार्ड मञ्जलीकुमारी र अभिषेकलाई

काठमाडौँ, २२ वैशाख (रासस) : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आफ्नो दिवसको अवसरमा वितरण गरेको अवार्डअन्तर्गत उदीयमान खेलाडीको अवार्ड मञ्जलीकुमारी योन्जन र अभिषेक रिजाललाई दिएको छ । एन्फाद्वारा आज यहाँ आयोजित कार्यक्रममा मणिविक्रम शाहको नामबाट प्रदान गरिएको उदीयमान अवार्डमा शसस्त्र प्रहरी बल (एपीएफ)की मन्जलीकुमारी र राष्ट्रिय यु २३ (तेइस वर्षमुनी) टोलीका सदस्य अभिषेकलाई फुटबल खेलमा उल्लेखनीय योगदान गरेको भन्दै सम्मान गरेको हो । मन्जलीकुमारीले अवार्डसहित एक थान स्कुटर र रु एक लाख प्राप्त गरिन् । उनले राष्ट्रिय टोलीका लागि उत्कृष्ट प्रदर्शन गर्दै क्लबका लागि पनि उल्लेखनीय योगदान गरेकी थिइन । त्यस्तै पुरुषतर्फ अभिषेक रिजालले उदयमान खेलाडीको अवार्ड पाएका हुन् । उनले पनि मोटरसाइकल र रु एक लाख प्राप्त गरे । लाइफटाइम एचिभमेन्ट अवार्डबाट प्रशिक्षक भागीरथ आले सम्मानित भए । फुटबल क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै एन्फाले उनलाई सम्मान गरेको हो । उनले मोटरसाइकलसहित रु तीन लाख ५० हजार प्राप्त गरे । त्यसैगरी उत्कृष्ट प्रशिक्षको अवार्ड नेपाली महिला राष्ट्रिय टोलीका प्रशिक्षक हरी खड्काले पाए । अवार्डसँगै उनले एक थान मोटरसाइकल र रु एक लाख प्राप्त गरे । उत्कृष्ट पुरुष रेफ्रीमा लव खत्री तथा महिलामा अस्मिता मानन्धर सम्मानित भए । उत्कृष्ट जिल्ला फुटबल सङ्घको अवार्ड साफ च्याम्पियनसिप आयोजना गरेको मोरङ जिल्ला फुटबल सङ्घले पाउदा उत्कृष्ट क्लबको अवार्ड गत वर्षको ए डिभिजन लिग विजेता मनाङ मस्र्याङ्दी क्लबले हात पायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *