भर्खरै :

फलामखानी सञ्चालन हुने भएपछि स्थानीयवासी खुसी

कावासोती, २२ वैशाख । सरकारले आगामी आर्थिक वर्षदेखि नवलपरासीको धौवादीमा रहेको फलाम खानीबाट व्यावसायिक उत्पादन गर्ने जनाएसँगै यस क्षेत्रका बासिन्दा खुसी भएका छन् ।
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा फलामखानीको व्यावसायिक उत्पादन थाल्ने घोषणा गरेपछि आफ्नो क्षेत्रको विकास हुने आशमा यस क्षेत्रका बासिन्दा खुसी भएका हुन् । “फलामखानी सञ्चालनमा आउँदैन कि भन्नेमा चिन्तित थियौँ तर सरकारले व्यावसायिक उत्पादन गर्न लागेकामा हामी धेरै खुसी छौँ,” हुप्सेकोट गाउँपालिका–४ का रुक्माङगत भुर्तेलले भन्नुभयो  ।
फलामखानी पत्ता लागेको धौवादी आसपासका क्षेत्रमा पुग्न अहिले निकै कठिन छ । सडकको अवस्था जीर्ण छ । एकाध सवारीसाधन चल्ने गरेका छन् । यस क्षेत्रमा खानेपानीको पनि निकै समस्या छ । धौवादी आसपासका धेरै क्षेत्रमा अझै राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सकेको छैन
। फलामखानीको उत्पादन सुरु गर्नुपूर्व यस क्षेत्रमा सडक, विद्युत्, खानेपानीको सुविधा होला भन्नेमा यस क्षेत्रका बासिन्दा आशावादी भएका हुन् । “फलाम खानी छ भन्नेमात्र थियो, पाँच÷छ वर्षसम्म यत्तिकै रहँदा उत्खनन हुन्छ– हँुदैन भन्ने अन्यौलमा थियौँ, अहिले सरकारले चासोका साथ आगामी आर्थिक वर्षदेखि नै उत्पादन गर्नेभन्ने सुन्दा हामी खुसी छौँ,” हुप्सेकोटका झविलाल राना मगरले भन्नुभयो ।
विसं २०६८ मा खानी तथा भूगर्व विभागको टोलीले कोइलाखानी अध्ययन गर्न आउँदा फलाम खानी फेला पारेको थियो । सात वर्षपछि यसको परीक्षण गर्दै उत्पादन गर्न सरकार अग्रसर भएको हो । पूर्व पश्चिम राजमार्गदेखि करीब १६ किलोमिटरको दूरीमा हुप्सेकोट गाउँपालिकाअन्तर्गत पर्ने धौवादी क्षेत्रमा फलामखानी छ । यहाँको १० किलोमिटर आसपासका क्षेत्रसम्म फलामखानी रहेको जनाइएको छ । धौवादीको फलामखानी अहिलेसम्म फेला परेको खानीमध्ये नेपालकै ठूलो खानी भएको भूगर्भविद्ले बताएका छन् ।
नीति तथा कार्यक्रममा फलाम खानी परेसँगै झ्यालबास, रुम्सी, रामकोट, पोखरी, ल्हापे, धौवादी क्षेत्रका बासिन्दालाई यस क्षेत्रको विकास हुन्छ भन्ने आशा जागेको छ । सरकारले फलामखानीबाट फलाम उत्पादन गर्ने भन्ने कुरा थाहा पाउँदा रुम्सीका पूर्णबहादुर आलेलाई गाउँमै रोजगार पाइएला भन्ने आश छ । फलामखानीसम्म पुग्ने सडक अहिले निर्माण भइरहेको छ ।
पहिलो चरणमा सडक विभागले झ्यालबासदेखि करीब चार किलोमिटरको ट्र्याक खोल्ने काम अघिल्लो वर्ष नै गरेको थियो । करीब रु. ६ करोडको बजेटमा ट्र्याक खोलिएको थियो । अहिले पनि यस क्षेत्रमा रु. पाँच करोड बराबरको बजेटमा थप पाँच किलोमिटर ट्र्याक खोल्ने, ग्याविन भर्ने, एक किलोमिटरमा ग्राभेल गर्ने, नाला निर्माण गर्नेलगायत कामहरू सञ्चालन गर्न लागिएको सडक विभागका सबइन्जिनियर नवीन पाण्डेले बताउनुभयो । सरकारले प्रत्येक वर्ष प्राथामिकतामा पारेर बजेट विनियोजन गर्दै आएको र सोहीअनुसार सडक निर्माणको काम सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *