भर्खरै :

साना सहरका हुर्कंदो दुःख

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पानीको हाहाकार हुँदा जनजीवन कष्टकर बनेको छ । जनसङ्ख्या वृद्धिसँगै पानीका स्रोतको उचित जोहो गर्न नसक्दा नेपालका अन्य सहरभन्दा तुलनात्मकरूपमा सानो सहर सुर्खेतमा अहिले नै पानीको अभाव हुन थालेको छ । नेपालकै सबभन्दा पातलो मानव बस्ती भएको कर्णाली प्रदेशको राजधानीको यस्तो अवस्थाले देशका अन्य सहरको भयावह समस्यातर्फ पनि सड्ढेत गरेको छ । सङ्घीय राजधानी काठमाडाँैमा खानेपानीको समस्या समाचारको विषयसमेत बन्न छोडिसक्यो । यो रोग अब सुर्खेत, हेटौंडा, बुटवल, कोहलपुर, चन्द्रनिगाहापुर, लालबन्दी, धरानजस्ता स–साना सहरमा समेत सङ्क्रमण भएको छ । आज ती बन्दै गरेका सहरमा समेत कलिलैमा किन यस्ता समस्या विकराल बन्दै छ ?
धेरै मानिसहरूको सुविधासम्पन्न बस्तीलाई सहर भनिन्छ । तर, नेपालमा सहरको विकास योजनाबद्ध हुन नसक्दा अथवा बन्दै गएका सहरमा योजनाबद्ध विकास गर्न नखोजिंदा सहर धेरै मानिसहरू बस्ने अव्यवस्थित बस्ती बन्न पुगेको छ । धेरै मानिस बस्ने हुनाले धेरै थरी सुविधा धेरै परिमाणमा आवश्यक पर्दछ । त्यसको जोहो र दिगोपनाको लागि व्यवस्थित योजनाको खाँचो हुन्छ । व्यवस्थित र योजनाबद्ध विकासले नै सहर बस्न लायकको बन्छ । यसको निम्ति राज्य नै जिम्मेवार बन्छ । सहर बन्न आवश्यक पर्ने बाटोघाटो, ढलनिकास, अस्पताल, विद्यालय, खुला क्षेत्र, विशाल बजार, सुरक्षा चौकी, अन्य आकस्मिक सेवा, खानेपानी, सामुदायिक केन्द्र आदि धेरै पूर्वाधारको विकासबिना सहर बनाइनु मानिसलाई जीवनका अनावश्यक तनावमा धकेल्नुमात्र हुनसक्छ । त्यस्ता पूर्वाधारको विकास नभएका सहरका बासिन्दाको जीवनको धेरै समय त्यस्तै समस्याका तनाव बोकेर बित्छ । उनीहरूले कुनै उपलब्धिमूलक र रचनात्मक काम गर्नसक्दैनन् ।
काठमाडाँै उपत्यकाका अधिकांश मानिसको दैनिक खानेपानीको जोहो, ट्राफिकजाम, प्रदूषणले जन्माएको स्वास्थ्य समस्याको उपचार आदि समस्या समाधान गर्दैमा धेरै समय खेर गइरहेको छ । यो समस्या विराटनगर, नारायणगढ, विराटनगर, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, बुटवलजस्ता तुलनात्मकरूपमा ठूला सहरका बासिन्दाको पनि समस्या हो । ती सहरमा पनि दिनानुदिन खानेपानी, ढलनिकास, प्रदूषण आदि समस्या जटिल बन्दै गइरहेको देखिन्छ । सहर बन्न आवश्यक पूर्वाधारको व्यवस्थित विकास हुन नसक्दा पानी, ढलनिकासजस्ता सहरका आधारभूत तत्वसमेत केही मानिसको नाफा कमाउने माध्यम बन्ने गरेको छ । आज काठमाडाँैमा जनता किनेरै खानेपानी पिउने गर्छन् । खानेपानीको वितरण गर्ने निकायसमेत निजी क्षेत्रलाई सुम्पिंदा सरकार जिम्मेवारीबाट पन्छिन खोजेको प्रस्ट देखिन्छ । सहरका कुनै पनि खोला र खोल्सा सद्दे छैनन् । अधिकांश खोला र नदीमा कालो न कालो फोहोर पानी बगिरहेको देखिन्छ । यो समस्या अब अरू साना सहरमा पनि सङ्क्रमण भइरहेको छ ।
राज्यले तत्कालै ती सहरमा आजै योजनाबद्ध विकास र पूर्वाधारको जोहो नगर्ने हो भने ती समस्या अझ गम्भीर बन्दै जाने अवस्था छ ।
समाजवाद र पुँजीवादबीचका भिन्नतामध्ये एउटा भिन्नता सहरी विकासमा पनि हो । समाजवादी व्यवस्थामा सहरको विकास मानिसलाई सुखी र सुविधासम्पन्न जीवन दिने मान्यतामा आधारित हुन्छ भने पुँजीवादी सहरहरूको विकास नाफाको ठूलो स्रोतको हिसाबमा भएको पाइन्छ । समाजवादी सहर व्यवस्थित र योजनाबद्ध बनेका हुन्छन् भने पुँजीवादी सहरको विकास जङ्गली च्याउजस्तै गरी भएको हुन्छ ।
सरकारले देशभर बन्दै गरेका सहरमा आधारभूत पूर्वाधारको दिगो विकास गर्न नसक्ने हो भने मानिसहरूको सहर बास नर्कको बास बन्दै जाने पक्का छ । समृद्धिको अर्थ भवन बनाउनु र रेल गुडाउनुमात्र होइन । भएका सहर बस्नलायक कसरी बनाउने भनी चिन्तन गर्नु पनि विकास हो । ‘समृद्धि र विकासको लागि बनेको सरकार’ ले यतातिर ध्यान दिन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *