भर्खरै :

‘विश्व प्रसिद्ध मजदुर आन्दोलनहरू’ बारे गहन छलफल आवश्यक

– जमिला
१३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वका जनता उत्साहका साथ मनाउँँदैछन् । यही सेरोफेरोमा ‘विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरू’ पुस्तकको चर्चा गर्नु सान्दर्भिक र सामयिक हुनेछ ।
संसारका विभिन्न कुनाकाप्चामा उठेका मजदुर आन्दोलन र सङ्घर्षका उभारहरूबारे सत्यतथ्य जानकारी दिने यस पुस्तकका लेखक नेमकिपाका अध्यक्ष का. रोहित हुनुहुन्छ । किसान र मजदुरहरूले बुझ्ने भाषामा आजभन्दा ४० वर्ष अगाडि नै लेखिएको यस पुस्तकको महत्व आज पनि उत्तिकै छ ।
अन्तर्राष्ट्रिय जगतमा भएका राजनीतिक आरोहअवरोह, मजदुर आन्दोलनहरूको अध्ययन स्वयम् नयाँ आन्दोलनको निम्ति भूमिका हुने गर्दछ । ऐतिहासिक महत्व बोकेको यस पुस्तकले आज पनि पाठकलाई उत्तिकै वैचारिक ऊर्जा दिन्छ । विश्वमा मजदुर आन्दोलनहरू सुरु हुनुका कारणहरू, मजदुर आन्दोलन किन, कसरी विकास भयो ? संसारभरि मजदुर आन्दोलनहरू कसरी फैलिए ? भन्ने प्रश्नहरूको जवाफ पुस्तकले दिन्छ ।
सन् १४९२ मा क्रिस्टोफर कोलम्बसले अमेरिका पत्ता लगाएको सन्दर्भ र १५८८ मा स्पेन र बेलायतबीच भएको समुद्री लडाइँदेखि सन् १९१७ को अक्टोबर क्रान्तिसम्मका महत्वपूर्ण र उल्लेखनीय मजदुर सङ्घर्षहरू, सामन्तवाद र पुँजीवादविरोधी सङ्घर्षहरूको तथ्यपरक विश्लेषण पुस्तकले समेटेको छ ।
मानव समाजको विकास सँगसँगै मानिसहरू वर्गमा विभक्त भए । दास युग, सामन्तवादी युगविरुद्ध उठ्ने वर्ग दबिएका र शोषित वर्ग नै हुन् । पुँजीवादको विकाससँगै कलकारखाना, निजी सम्पत्तिको विकास भयो । नाफाको विकास भयो र शोषणले तीव्रता पायो । नाफाको लागि मजदुरहरूमाथि चरम शोषण गर्न पुँजीपतिहरू पछि नहट्ने प्रवृत्तिबारे पुस्तकले छर्लङ्ग पार्छ ।
अत्यन्त न्यून ज्याला श्रमिकलाई दिई पँुजीपतिले नाफा कमाउँछ । रोटीको निम्ति काम गर्ने श्रमिकहरूलाई चुसेर पुँजीपतिहरूले नाफा कमाउँछन् र त्यही नाफा पुँजीमा रूपान्तरण गरिन्छ । पुँजीपतिहरू झन्झन् धनी हुने क्रम जारी हुन्छ । श्रमिक वर्गले आफूमाथि भएको अन्याय, शोषणप्रति सचेत र सङ्गठित भएपछि पुँजीपति वर्गविरुद्ध लड्न एकजुट भई उठ्छन् । यो इतिहासले बोलेको सत्य हो । इतिहासका विभिन्न कालखण्डमा मजदुरहरू सचेत भई जागेको र भोकविरुद्ध उठेको इतिहासबारे यस पुस्तकले प्रकाश पार्दछ ।
सन् १६१९ मा मजदुर सङ्गठनहरूको जन्म भएसँगै मजदुरहरूको समस्याका विषयमा आवाज उठ्न थाल्यो । पुँजीपतिहरूले सङ्गठन खोल्न नपाइने ऐन नियम बनाई दमन र शोषण गर्न थाले । त्यसविरुद्ध पनि मजदुरहरू निरन्तर लडे । सही विचार, वर्गचेत र माक्र्सवादी दृष्टिकोणसहित उठेका आन्दोलनको उपलब्धि साँचै नै उल्लेखनीय छ । हिजोदेखि आजसम्म आइपुग्दा मजदुर आन्दोलनको आवश्यकता पुँजीवादी देशहरूमा अझै महसुस गरिइँदैछ । का. रोहितको यस विश्लेषणात्मक पुस्तकले नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान गरेको र गर्दै जानेमा दुईमत नहोला ।
बेलायतको मेसिनविरोधी ‘लुडाइट’ आन्दोलन मजदुरहरूले काम नपाएको, ज्याला नपाएको, मजदुर सङ्गठनमाथि सरकारको हस्तक्षेपले जन्माएको आन्दोलनको नाम हो । कारखाना मालिकहरूले मेसिनहरू प्रयोग गरेका कारण काम नपाएको ठान्ने लुडाइटहरू मेसिनलाई धुजाधुजा पार्नतिर लागे । कारखानाहरूमा आगो लगाई खरानी बनाएको सन् १८११ तिरको अवधि उजागर गर्ने यस पुस्तकले चुसाहा, निर्दयी र मजदुरविरोधी ‘हर्सफलहरू’ लाई चिनाउँछ । पुँजीपति वर्गद्वारा उचाइमा पुगेको लुडाइट आन्दोलन दबाइयो । प्राण आहुती दिई लडेका लुडाइटहरूको स्मरण पुस्तकले गराउँछ । मजदुरहरूले वर्गशत्रु मेसिन नभई पुँजीवादी व्यवस्था हो भन्ने नबुझ्नु, क्रान्तिकारी राजनीतिक पार्टी नहुनु, आन्दोलनको राजनीतिक रूप नहुनु त्यस आन्दोलनको कमजोरी रह्यो । सारा विश्वलाई पुँजीवाद र पुँजीपति वर्गविरुद्ध घृणा पैदा गराउन र शोषणविरुद्ध लड्न उत्साह सञ्चार गर्न भने त्यो आन्दोलन सफल रह्यो ।
लियोन सहरको विद्रोह अस्थायी थियो तर सारा युरोप र फ्रान्सका मजदुर र क्रान्तिकारी वर्गमा यसको ठूलो प्रभाव परेको थियो । राजाको शासनको ठाउँमा जनताको शासनको निम्ति उठेको त्यो उभारले मजदुर वर्ग पनि राजनीतिक शक्ति हो र राज्यसत्ताको निम्ति लड्न सक्छ भन्ने ऐतिहासिक सन्देश बोकेको प्रस्ट छ ।
बेलायतका मजदुरहरूको मागपत्रको आन्दोलन पुँजीपतिहरूसमेत मतदान गर्नबाट वञ्चित हुँदाको सङ्घर्ष हो । पुँजीपतिहरूसँग किसान, मजदुरले त्यो राजनीतिक अधिकारको निम्ति सहयात्रा गरे । मजदुरहरूले पनि चुनावमा भाग लिन पाउनुपर्ने माग राखेको त्यो समयसम्ममा बेलायतमा पुँजीपतिहरूको हातमा सारा सम्पत्ति पुगिसकेको थियो । ठूलो आर्थिक सङ्कटको सामना पुँजीवादी देश बेलायत गर्दै थियो । मजदुरहरूको स्थिति अत्यन्त नाजुक थियो । त्यसकारण ‘मागपत्र’ को आन्दोलन सुरु भयो तर पुँजीपतिहरूद्वारा दबाइयो । मजदुरहरूकै समूह चार्टिष्ट सङ्घभित्रको गुटबन्दीले आन्दोलनलाई कमजोर बनाएको र शसस्त्र सङ्घर्षको कुरा गर्ने तर काम पुँजीपतिकै गर्ने फर्गस ओकोनोरजस्ता जनताका शत्रुहरूका कारण त्यो आन्दोलन असफलतामा टुङ्गियो । यद्यपी आन्दोलनका सकारात्मक छालहरूले बेलायतमा बेग्लै तरङ्ग ल्याएको थियो ।
सिलेसियाली जुलाहाहरूको विद्रोह ज्वानजिगरजस्ता कारखाना मालिकहरूको अमानवीय र पशु सरहको व्यवहार तथा यातनाविरुद्ध उठेको बुलन्द आवाज थियो । जर्मनका मजदुर वर्ग एक बलियो शक्तिका रूपमा ज्वानजिगर र सामन्ती प्रवृत्तिविरुद्ध जागेको त्यो समय सदा सम्झन योग्य छ ।
सन् १८४८ को मागपत्रको आन्दोलनको महत्व तात्कालीन समयमा कति थियो भन्नेबारे सटिक व्याख्या पुस्तकमा छ । विशेषगरी बाल श्रमिक र महिला मजदुरहरूको अधिकारको सुनिश्चितताको निम्ति लडिएको त्यो लडाइँ बेलायत र संसारका मजदुर आन्दोलनलाई बाटो देखाउन सफल छ ।
फ्रान्समा भएको जुन महिनाको मजदुर विद्रोहको शिक्षा अनुकरणीय छ । मजदुर आन्दोलनको नयाँ सिद्धान्तका रूपमा काल्पनिक समाजवादको विचार प्रादुर्भाव भएको यथार्थ पाठकमाझ पु¥याइएको छ । पुँजीवादले निम्त्याएको बेकारी र भोकमरीको विकल्पका रूपमा सेन्ट साइमन, रोबर्ट ओवेन र चाल्र्स फ्यूरिएले काल्पनिक समाजवादको विचार पस्केपनि समयक्रमले त्यो अवैज्ञानिक पुष्टि ग¥यो । क्रान्तिकारी विचार, क्रान्तिकारी पार्टी र प्रस्ट भाषामा माक्र्सवादी विचारले नै मात्र मजदुरहरूको मुक्तिको मार्गचित्र कोर्न सक्दछ भन्ने स्पष्ट सन्देश पुस्तकले दिन्छ ।
जर्मनीमा भएको मजदुर आन्दोलनले कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सको नेतृत्व पायो । कम्युनिस्ट घोषणापत्रको भावनाअनुरूप अघि बढेको सो आन्दोलन प्रतिक्रन्तिकारीविरुद्ध समेत लक्षित थियो । माक्र्स र एङ्गेल्सको सहकार्यमा भएको सो आन्दोलनले संसारभरि क्रान्तिको सन्देश प्रवाह ग¥यो । मजदुर वर्गको मुक्तिको निम्ति वातावरण तयार ग¥यो । त्यस आन्दोलनले पुँजीपति वर्गले मात्रै क्रान्तिको नेतृत्व गर्न नसक्ने प्रमाणित ग¥यो । साथै क्रान्तिकारी वर्गको नेतृत्वको जिम्मा लिनसक्ने परिपक्व मजदुर वर्गले मात्र क्रान्तिलाई विजयसम्म लैजान सक्छ भन्ने शिक्षा पुस्तकले दिन्छ ।
मजदुर वर्गको राज्य पेरिस कम्युन स्थापनाका निम्ति कम्युनार्डहरूले विरतापूर्वक लडेको, पेरिसको झन्डा कुनैपनि परिस्थितिमा झुक्न नदिई विजय प्राप्त गरेको गौरवशाली इतिहास पुस्तकले छर्लङ्ग पारेको छ । साथै पेरिस कम्युन विघटन हुनु पछाडिका कारणहरू, रणनीतिक भूलहरू मिहिन ढङ्गले केलाई पाठकलाई जानकारी दिएको छ ।
संरा अमेरिकामा मजदुर आन्दोलनको इतिहास पनि उस्तै हो । मई १ को दिन मजदुर अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवसको रूपमा मनाउने १८८९ बाट सुरुआत भएको जानकारी पुस्तकबाट मिल्छ ।
सन् १९०५ को रुसको मजदुर क्रान्ति, सन् १९१७ को मजदुर क्रान्तिले नै रुसी अक्टोबर समाजवादी क्रान्ति सम्भव भएको हो । अक्टोबर क्रान्ति सम्पन्न हुनु अगाडिका सङ्घर्षहरूलाई पुस्तकले समेटेको छ ।
माक्र्स, एङ्गेल्स, लेनिन र स्तालिनको नेतृत्व कौशल र व्यक्तित्व चर्चासमेत पस्केको यस पुस्तकको महत्व समय सँगसँगै बढ्नेमा कुनै शङ्का नहोला । यस्तो सैद्धान्तिक, जानकारीमूलक, ऐतिहासिक महत्वका पुस्तकको अभाव पूर्ति गर्दै जानु समयको माग हो । तेस्रो संस्करणसमेत प्रकाशित भइसकेको यस पुस्तकको गाता सुन्दर र मूल्य पाठकमैत्री छ । जिज्ञासुहरूलाई इतिहासको ज्ञान तथा वैचारिक खुराक प्रदान गर्ने यस पुस्तकका लेखकप्रति उच्च सम्मान र प्रकाशकप्रति हार्दिक आभार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *