भर्खरै :

विभिन्न जिल्लामा कार्ल माक्र्सको सम्झना

जुम्ला, २३ वैशाख । विश्व सर्वहारा वर्गका गुरू कार्ल माक्र्सको २०१ औँ जन्म दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी जुम्ला जिल्ला समितिको आयोजनामा पातरासी गाउँपालिका, लासी बजारमा आइतबार जनसभा भयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले माक्र्सवादी सिद्धान्तले पुँजीवादी व्यवस्थाको अन्त्य अवश्यम्भावी हुने पुष्टि गरेको बताउनुभयो । उहाँले माक्र्सले मानव समाजको विकास क्रममा सुरुदेखि नै वर्गसङ्घर्षले नयाँ सामाजिक व्यवस्था जन्माएको प्रस्ट पार्दैै पुँजीवादी व्यवस्थामा सर्वहारा वर्ग र पुँजीपति वर्गबीचको सङ्घर्षले नयाँ व्यवस्थाको आधार तयार गर्ने बताउनुभयो ।
माक्र्सवाद नै कम्युनिष्ट आन्दोलनभित्र देखिएको अवसरवाद र संशोधनवादलाई पराजित गर्ने हतियार भएको धारणा राख्दै उहाँले माक्र्सवादको नियमित अध्ययन गरेर व्यवहारमा पालना गर्दा असल माक्र्सवादी बन्ने धारणा राख्नुभयो ।
देशमा विदेशी लगानी प्रवद्र्धन गर्ने, उत्पादनका साधन एकपछि अर्को राष्ट्रियकरण गर्ने र जन्मको आधारमा नागरिकता दिएर देशको सार्वभौमिकता कमजोर बनाउने ओली सरकार कम्युनिष्ट र देशभक्त दुवै नभएको उहाँले प्रस्ट पार्नुभयो ।
उहाँले साम्राज्यवादी देशहरू गरिब तथा अविकसित देशमा भएका प्राकृतिक स्रोतसाधन आफ्नो नियन्त्रणमा ल्याउन युद्ध र हस्तक्षेपको सहारा लिने बताउनुभयो ।
नेमकिपा जुम्ला जिल्ला समितिका अध्यक्ष शिवलाल डाँगीले माक्र्सले प्रतिपादन गर्नुभएको वर्गसङ्घर्षको सिद्धान्त, द्वन्द्वात्मक भौतिकवाद र अतिरिक्त मूल्यको सिद्धान्तबारे उल्लेख गर्दै वैज्ञानिक समाजवादमा व्यक्तित्व विकासमा समान अवसर, उत्पादनका मुख्य मुख्यम साधनको राष्ट्रियकरण, शिक्षा र स्वास्थ्य निःशुल्क, गाउँ र सहरबीच भेदको अन्त्य, शारीरिक र मानसिक श्रमबीचको भेद अन्त्य हुने चर्चा गर्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ जुम्ला जिल्ला समितिका अध्यक्ष विर्खबहादुर रावतले ओली सरकारले सस्तो लोकप्रियताका नारा दिएर जनतालाई झुक्याइरहेको धारणा राख्नुभयो ।
सभामा नेमकिपा तातोपानीका अध्यक्ष पूर्णलाल खत्री, नेमकिपा जुम्ला जिल्ला समितिका यज्ञबहादुर बुढ्थापा, जयकृष्ण उपाध्याय, जोटा बुढा, रामबहादुर थापा, डबल महतारालगायतले बोल्नुभएको थियो ।
बाँके
नेपाल मजदुर किसान पार्टी नगर समिति कोहलपुरको आयोजनामा २०१ औँ कार्ल माक्र्सको जन्म दिवसको अवसरमा स्थानीय कार्यकर्ताहरूको भेला भयो ।
कार्यक्रममा नेमकिपा बाँके जिल्ला समितिका उपाध्यक्ष गौरीकान्त आचार्यले कार्ल माक्र्सको गहन अध्ययन र अनुसन्धानबाट माक्र्सवादको जन्म भएको विचार व्यक्त गर्नुभयो । संशोधनवादीहरूले माक्र्सवाद पुरानो भएकोले पुनर्विचार गर्नुपर्ने भ्रम फैलाई वर्गसङ्घर्ष कमजोर गराउने षड्यन्त्र गरिरहेको धारणा राख्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ बाँकेका अध्यक्ष सीता शाहीले सर्वहारा वर्गका गुरु कार्ल माक्र्सको सम्झना मानव सभ्यता रहेसम्म रहिरहने र साम्यवादसम्मको गन्तव्यमा कामदार वर्ग सफल र विजयी हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घका जिल्ला समिति सदस्य गौरा शाही , नेपाल क्रान्तिकारी युवा सङ्घ बाँकेका उपाध्यक्ष हिराबहादुर शाही, अंजिरबहादुर शाही, रत्नबहादुर शाहीलगायतले बोल्नुभएको थियो ।
सुर्खेत
माक्र्सको २०१ औँ जन्मजयन्तीको अवसरमा नेपाल मजदुर किसान पार्टी सुर्खेतको आयोजनामा माक्र्सको जीवनीबारे चर्चा भयो ।
कार्यक्रममा नेमकिपा सुर्खेतका संयोजक हरिबहादुर बोहराले माक्र्सले सर्वहारा गरिब जनताको हितको लागि जीवनभर सङ्घर्ष गरेकै कारण संसारभरका जनताले सम्झिरहेको बताउनुभयो । शेरबहादुर शाहीले स्वागत गर्नुभएको कार्यक्रममा सहभागीहरूले माक्र्सको जीवनीका विभिन्न पक्षबारे चर्चा गर्नुभएको थियो ।
त्यस्तै माक्र्स जयन्तीकै अवसरमा नेपाल क्रान्तिकारी युवा सङ्घ सुर्खेतको आयोजनामा वीरेन्द्रनगरको यरिचोकमा कोणसभा भयो ।
कोणसभामा नेपाल मजदुर किसान पार्टी सुर्खेतका कोषाध्यक्ष गोविन्दनाथ योगीले अहिलेको नेकपाको एकता वाम गठबन्धनको नाममा भारतले गराएको हुँदा यो सरकारले नेपाल र नेपाली जनताको भन्दा भारतको लागि काम गरिरहेको बताउनुभयो ।
नेमकिपा वीरेन्द्रनगर समितिका उपाध्यक्ष गणेशबहादुर खड्काले नेमकिपा वैचारिक र सैद्धान्तिक लडाइँमा विजय प्राप्त गर्दै आएको बताउँदै वैज्ञानिक समाजवादको निम्ति सङ्घर्ष गरिरहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ सुर्खेतका अध्यक्ष लालबहादुर थापाले निजीकरणको पक्षपोषण गर्ने र युवाहरूलाई योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त नगर्ने सरकार कम्युनिस्ट नभएको बताउनुभयो । कार्यक्रममा खेमराज कँडेलले पनि बोल्नुभएको थियो ।
दैलेख
सर्वहारा वर्गका गुरु कार्ल माक्र्सको २०१ औँ जन्म दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी दुल्लू नगर समितिको आयोजनामा वैशाख २१ गते दुल्लूमा प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला समितिका अध्यक्ष जग्यबहादुर शाहीले हरेक कार्यकर्ताले माक्र्सको जीवनको भोगाइबारे जनतालाई बताउनुपर्छ भन्नुभयो ।
“अहिले देशमा कम्युुनिष्ट नामको सरकार छ तर गरिब जनताले दुःख पाइरहेका छन् । जबसम्म कामदार जनता राजनीतिकरूपले सचेत र सङ्गठित हुँदैनन् तबसम्म कामदार जनताका समस्या जस्ताको तस्तै रहन्छ ।” उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीले समाजवादी व्यवस्था प्राप्तिको लागि सङ्घर्ष गरिरहेको छ ।”
नेमकिपा जिल्ला समिति दैलेखका सचिव लक्ष्मीकुमार विकले आफूले अध्ययन गरेको कुरा गरिब जनतालाई बुझाउनुपर्छ भन्नुभयो ।
नेमकिपा पार्टीका दैलेख पूर्वअध्यक्ष पूर्णबहादुर शाही, नेपाल क्रान्तिकारी किसान सङ्घ जिल्ला समिति दैलेखका अध्यक्ष तिलकप्रसाद आचार्य, नेपाल क्रान्तिकारी महिला सङ्घ जिल्ला समिति दैलेखका अध्यक्ष कुमारी रुमा गुरुङ, नेपाल क्रान्तिकारी शिक्षक सङ्घ जिल्ला समिति दैलेखका अध्यक्ष मनोज दाहालले पनि बोल्नुभएको थियो । कार्यक्रममा नेमकिपा दुल्लू नगर समितिका अध्यक्ष मदनकुमार भण्डारी, पद्मबहादुर बुढा, बासुदेव बुढालगायतले बोल्नुभएको थियो ।
शिक्षक भेला
नेपाल क्रान्तिकारी शिक्षक सङ्घको आयोजनामा दुल्लू नगरपालिका र भैरवी गाउँपालिकामा संयुक्त भेला भयो । भेलाले दुल्लू नगरपालिकामा बासुदेव बुढा र भैरवी गाउँपालिकामा लोकप्रसाद आचार्यलाई नेक्राशिसङ्घको संयोजक चयन गरेको छ ।
त्यस्तै नेपाल मजदुर किसान पार्टी चामुण्डा विन्द्रासैनी नगर समितिको आयोजनामा चामुण्डामा मजदुर दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा पार्टीका स्थानीय कार्यकर्ता मनबहादुर विक, बासुदेव कँडेल, गोरखबहादुर केसी, रवीन्द्र चुदारा, दीपक शाही, विष्णु रेग्मी र हिमाल शाहीलगायतले बोल्नुभएको थियो ।
यसैबीच नेमकिपा महाबु गाउँपालिकाको आयोजनामा काप्रीखोलामा मजदुर दिवस मनाइयो । कार्यक्रममा पार्टी जिल्ला उपाध्यक्ष बमबहादुर सिंहले कामदार वर्गका जनताले आफ्नो मुक्तिको लागि योग्यता र क्षमताको आधारमा ज्याला पाउनुपर्ने र हरेक नागरिकले समाजवादी व्यवस्थाको लागि लड्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टी जिल्ला समिति दैलेखका सदस्य दुर्गबहादुर थापामगर, उजिरसिंह बुढा, टेकबहादुर सलामी र भगिराम थापाले पनि बोल्नुभएको थियो ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसकै अवसरमा दैलेख आठबीस नगरपालिकामा प्रशिक्षण कार्यक्रम भयो । कार्यक्रममा नेमकिपा आठबीस नगरपालिका वडा नं ९ का अध्यक्ष तेजबहादुर सिजापतिले अन्तर्राष्ट्रिय श्रमिक दिवस संसारका श्रमिक जनताको एकताको दिन भएको बताउनुभयो ।
कार्यक्रममा नवीनकुमार सिजापति, धनबहादुर सिजापति, दलबहादुर सिजापति, विलमबहादुर सिजापतिलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *