भर्खरै :

समाजवादको बिग्रेको आकार

आइतबार नेपालको राजनीतिमा एउटा अर्को समाजवादी दलको जन्म भएको छ । नयाँ शक्ति पार्टी र सङ्घीय समाजवादी फोरम मिलेर समाजवादी पार्टी घोषणा भएको हो । कुनै बेला युरोपमा समाजवादको चर्चा गर्ने मानिसको छेलोखेलोलाई सङ्केत गर्दै सी ई एम जोड नामका बेलायती दार्शनिकले भनेका थिए, “समाजवादको टोपी सबैले लगाउँदा त्यसको मूल आकार नै बिग्रिसकेको छ ।” आज नेपालमा पनि त्यहीँ अवस्था दोहोरिएको छ । सबैले समाजवादकै कुरा गरिरहेका छन् । संविधानमा पनि समाजवादउन्मुख समाज निर्माण गर्ने लक्ष्य तय गरिएको छ । अहिले अस्तित्वमा रहेका राजनीतिक दलमध्ये सबभन्दा जेठो पार्टी नेपाली काङ्ग्रेसदेखि सोमबारमात्र जन्मिएको समाजवादी पार्टीले पनि समाजवादकै कुरा गरिरहेका छन् । तर, खासमा समाजवाद के हो र केलाई भन्ने ? यो प्रश्नको जवाफमा भने सबै समाजवादीका मत आनका तान फरक छ ।
समाजवादका विविध प्रकारबारे माक्र्स र एँगेल्सले ‘कम्युनिस्ट घोषणापत्र’मा पनि विस्तृत चर्चा गर्नुभएको छ । कति समाजवादी सामन्तवादकै सेवा गर्ने, कति समाजवादी निम्न पुँजीपति वर्गको सेवा गर्ने, कतिपय समाजवादी कामदार जनतालाई घृणा गर्ने । आज नेपालको सन्दर्भमा पनि फरक फरक समाजवादी अस्तित्वमा छन् । नेकाले समाजवादकै नारा लगाएर देशमा तीसौँ वर्ष शासन चलायो । जनताबीच आर्थिक असमानता झन् गहिरो बन्दै गयो । राज्यका नाममा भएका सबै उद्योग कलकारखाना व्यक्तिलाई कौडीमा बेचियो ।
एमाले र माओवादी केन्द्र मिलेर बनेको पार्टी नेकपाले पनि पटक–पटक गरेर लामो समय सरकार सञ्चालन ग¥यो । अहिले पनि सरकारले समृद्धि र विकासको नारा लगाउँदै समाजवाद स्थापनाको आधार तयार गर्दै गरेको दाबी गरेको छ । तर, भ्रष्टाचार र दलालीले सरकार पूर्णरूपमा बदनाम भइरहेको छ । देशका भ्रष्टाचारीहरू आज सत्ताको संरक्षणको लागि नेकपाको ओत लागेका छन् । नेकपाले कस्तो समाजवाद चाहन्छ भन्ने कुरा समाजमा मौलाउँदो विकृति र भ्रष्टाचारबाट प्रस्ट हुन्छ । नेपाली युवाहरूलाई सरकारले रोजगारी दिनसकेको छैन । बरू विदेशमा सस्तो ज्यामी बन्न जान सरकारले नै उत्साहित गरिरहेको छ । जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार असफल छ । ती क्षेत्रलाई निजी क्षेत्रमा सुम्पेर नवउदारवादी अर्थतन्त्रलाई बलियो बनाइरहेको छ । अर्थतन्त्रको ५५ प्रतिशत विदेशी पुँजीको हातमा सुम्पिने सरकारको नीतिले नेकपाको समाजवाद देशलाई विदेशीको अर्धउपनिवेश बनाउने ‘समाजवाद’ भएको स्पष्ट छ ।
वैकल्पिक राजनीतिको मूलधार दाबी गर्दै नयाँ शक्ति पार्टी गठन गरेका बाबुराम भट्टराई र अवसरवादी राजनीतिको उदाहरण बनेका उपेन्द्र यादवको पार्टी मिलेर बनेको समाजवादी पार्टीको समाजवाद कस्तो हो, अझ स्पष्ट छैन । तर, सोमबारको घोषणा सभाका वक्ताहरूले ठूलो पार्टी बन्ने हतारोमा व्यक्त गरेका शब्द सुन्दा यो दल समाजवाद स्थापनाभन्दा पनि सत्तामा बढी भाग खोज्न बनेको पार्टी स्पष्ट हुन्छ । सरकारमा बढी मन्त्री लिने, भागवण्डामा आफ्नो भाग बढी हात पार्ने लक्ष्यसहित त्यो पार्टी गठन भएको हो । समाजवादको नारा अरू पार्टीभन्दा आपूm भिन्न भएको देखाउने र जनता झुक्याउने चालबाजीमात्र हो । समाजवादी पार्टीले चाहेको समाजवाद व्यापक कामदार नेपाली जनताको हित हुने समाजवाद कदापि हुनसक्दैन । यसले चाहेको समाजवाद कम्युनिष्ट घोषणापत्रमा माक्र्सले व्याख्या गर्नुभएको सामन्ती, निम्न पुँजीवादी र शोषण व्यवस्थालाई निरन्तरता दिने समाजवादमात्र हो । सिद्धान्तहीन अवसरवादी राजनीतिले कहिल्यै पनि व्यापक कामदार नेपाली जनताको हित हुने समाजवाद स्थापना गर्नसक्दैन । नेपाली जनताको वास्तविक हित गर्ने समाजवाद भनेको वैज्ञानिक समाजवाद नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *