भर्खरै :

के संरा अमेरिकाले इरानमाथि हमला गर्ला ?

विजय प्रसाद
मे ५ आइतबारको दिन संरा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले आफ्नो देशको युएसएस अब्राहम लिङ्कन नामको युद्धक विमान बोक्ने जहाज र बमबारी गर्ने विशेष सैनिक टोली इरानको तटीय क्षेत्र नजिक भूमध्यसागरतिर रवाना भएको घोषणा गरे । इरानले ‘धेरै समस्यामूलक र उत्तेजनात्मक सङ्केत र खतरा’ देखाएको बोल्टनको दाबी थियो । तर, इरानले देखाएको खतरा कस्तो खालका थियो भन्ने विषयमा उनले केही प्रष्ट पारेनन् । विगतमा पनि वाशिङ्टन डीसीको ह्वाइट हाउसबाट बोल्टनले यस्ता खतरनाक वक्तव्य दिएका धेरै उदाहरण छन् । “संरा अमेरिका इरानी सरकारसँग युद्ध गर्न खोजिरहेको छैन ।”, बोल्टनले भने । तर, उनको यो अभिव्यक्ति अपत्यारिलो छ । कुनै एउटा देशको सिमानासम्म ठूलो आकारको युद्धक जहाज पुग्नु भनेको युद्धको घोषणा नभए अरु के हुनसक्छ ?
युरोप भ्रमणमा रहेका संरा अमेरिकी विदेश सचिव माइक पम्पेओले ‘सङ्केत र खतरा’ अन्तर्गत लेवनानी राजनीतिक शक्ति हेजबुल्लाहले गरिरहेका गतिविधि पनि पर्ने सङ्केत गरेका थिए । तर, पम्पेओले पनि कुनै प्रमाण दिन आवश्यक भने ठानेनन् । ‘अन्तरनिहीत कुरा के हो भन्नेबारेमा म थप केही बोल्न चाहन्न ।”,उनले भने ।
लाल सागर तरेर युएसएस अब्राहम लिङ्कलन युद्धक जहाज आउनुको मूल सङ्केत भनेको इरानविरुद्ध संरा अमेरिकी सरकारको नाकाबन्दी अझ निखार्नु हो । संरा अमेरिकाले इरानसँग तेल खरिद गर्ने कुनै पनि देशविरुद्ध नाकाबन्दी लगाउने घोषणा समेत गरिसकेको छ । उसको यस्तो घोषणाबाट सबभन्दा बढी प्रभावित बन्नेपाँच देशहरू भनेका चीन, भारत, जापान, दक्षिण कोरिया र टर्की हुन् । भारत, जापान र दक्षिण कोरियाले संरा अमेरिकाको नयाँ र कडा नाकाबन्दीको पालना गर्ने बताएका छन् । चीन र टकीले भने संरा अमेरिकाको यो घोषणा आफूले मान्न बाध्यकारी नभएको प्रष्ट भनिसकेका छन् ।
इरानको अर्थतन्त्र
इरानका तेल उपमन्त्री अमिर होसेन जामानिनियाले इरानी राज्य नियन्त्रित सञ्चारमाध्यमलाई इरानी तेल ‘अनौपचारिक बजार’ (ग्रे मार्केट) मा बेच्ने घोषणा गरिसकेका छन् । उनले संरा अमेरिकाले थोपरेको नाकाबन्दी ‘अवैधानिक’ भएको र नाकाबन्दी निष्प्रभावी बनाउन इरानले सम्भव सबै उपाय अपनाउने बताए । ‘अनौपचारिक बजार’ अन्तर्गत इरानी तेलले भरिएका ट्याङ्करलाई निर्यातको लागि जसै समुद्रमा पु¥याइन्छ, तिनमा राखिएको सङ्केत बदलिन्छ । संसारभरका समुद्रमा धेरै सङ्ख्यामा हुने ट्याङ्करले कुन ट्याङ्कर कुन बन्दरगाहबाट आएको हो भनी निक्र्योल गर्न सम्भव हँुदैन । इरानले त्यसरी बेचिने तेल धेरै छुटमा बेच्नेछ । अनौपचारिक बजारमा इरानले यसरी तेल बेच्ने काम नरोके पनि उसले हिजो बेच्दै आएको तेलको अनुपातमा त्यतिबेला बेच्ने तेलको मात्रा भने उल्लेख्य रुपमा घट्नेछ । फलतः इरानको बाह्य निकै राजस्व घट्नेछ ।
अप्रिलमा अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०१९ मा इरानको अर्थतन्त्र ६ प्रतिशतले घट्ने पूर्वानुमान सार्वजनिक गरिसकेको छ । यसप्रकार अर्थतन्त्रमा आउने लगातारको ¥हासको मूल कारण संरा अमेरिकाको नेतृत्वमा हुने नाकाबन्दी हो । त्यसले इरानको बजेट अस्तव्यस्त बनाउनुका साथै इरानी जनताको आत्मविश्वासलाई प्रभावित बनाएको छ । ठूलो आकारको बजेट घाटाले इरानको समग्र आर्थिक अवस्थालाई नकारात्मक प्रभाव पार्नेछ । यो वर्ष इरानको बजेट घाटा १४ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । बजारमा इरानी मुद्रा रियालको छेलोखेलो गरिएको छ । मुद्रा आपूर्ति २० प्रतिशतभन्दा बढीले माथि पुगेको छ । पुँजी पलायन र कर छुट जस्ता गम्भीर समस्याले इरानी सम्भावनामाथि अवरोध सिर्जना गरिरहेको छ । इरानी संसदको आर्थिक आयोगका उपाध्यक्ष काजिम देलखोसले देशको कूल आयको झण्डै ४० प्रतिशत कर कार्यालयबाट लुकेको अनुमान गरेका छन् ।
इरानले गएको महिनामात्र उत्तरपूर्वी र दक्षिणपश्चिम क्षेत्रमा विनाशकारी बाढीको सामना गर्नुप¥यो । बाढीको कारण २ अर्ब ५० करोड अमेरिकी डलर बराबरको क्षति भएको अनुमान गरिएको छ । वित्तीय प्रणालीमा संरा अमेरिकाले थोपरेको नाकाबन्दीका कारण इरानका बाढी पीडित जनतालाई आर्थिक मद्दत गर्न चाहने विभिन्न देशहरूले मद्दत गर्न नसकेको इरानी रेड क्रिसेन्ट सोसाइटीले बताएको थियो । त्यही भएर पीडित जनताको मद्दतको लागि भौतिक वस्तुमात्र इरानमा पठाउन अनुमति दिइएको थियो । बाढी पीडित जनताको लागि चीनले टेन्ट पठायो भने अस्ट्रियाले कम्बल पठायो । भौतिक वस्तुकै रूपमा पनि साउदी अरब र संयुक्त अरब इमिरेट्सले पठाएका वस्तु संरा अमेरिकी नाकाबन्दीका कारण इरान पस्न दिइएन । इरानी विदेशमन्त्री जाभेद जारिफले ट्वीटरमा लेखेका थिए, “संरा अमेरिकाको अवैध नाकाबन्दीको कारण इरानी रेड क्रिसेन्टले कुनै सहायता रकम प्राप्त गर्न सकेन । संरा अमेरिकाले आफ्नो आर्थिक आतङ्कवाद त्याग्नुपर्छ ।”
तनाव
मे ८ बुधबारका दिन इरानी राष्ट्रपति हसन रोहानीले टेलिभिजन र रेडियो अन्तर्वार्तामार्फत सन् २०१५ को इरान आणविक सम्झौताबाट संरा अमेरिकाले हात झिक्नु र इरानमाथि नयाँ कडा नाकाबन्दी थोपरेको विषयमा आफ्नो सरकारको कडा प्रतिक्रिया जनाए ।
संरा अमेरिकाले केही रुसी र युरोपेली कम्पनीहरूलाई इरानको आणविक ऊर्जा क्षेत्रमा काम गर्न छुट दिएको थियो । पाँच वटा कम्पनीलाई इरानका चार वटा आणविक केन्द्रहरू–बुसेर आणविक ऊर्जा केन्द्र, फोर्दो अभिवृद्धि केन्द्र, अरक आणविक कम्प्लेक्स र तेहरान रिसर्च रियाक्टरमा सहयोग गर्न अनुमति दिइएको थियो । ती पाँच कम्पनीमध्ये तीन वटा कम्पनीलाई संरा अमेरिकाले थप ९० दिन काम गर्न (अघिल्लो पटकभन्दा आधा समय) दिने छुट दिएको र दुई वटालाई त्यस्तो छुट दिन नसकिने बताएको छ । म्याद थप नभएका दुईमध्ये एउटा रुसी कम्पनी हो । उक्त रुसी कम्पनीले रुसी कच्चा एल्लोकेक (युरेनियमको शुद्धिकरणका क्रममा निस्किने अशुद्ध युरेनियम) र इरानी शुद्ध युरोनियम सत्तापत्ता गर्दै आएको थियो । अर्को कम्पनीले इरानबाट ओमानमा हेभी वाटर (आणविक प्रतिक्रियाको सहजकर्ताको रूपमा पानीमा हुने हाइड्रोजनको तत्व निकालेर इसोट्रम ड्युटेरम प्रत्यायोजन गरिएको पानी) भण्डारण गर्ने गथ्र्यो । रुस र युरोप दुवै संरा अमेरिकी उक्त नीतिबाट सन्तुष्ट छैनन् । इरानले पनि युरेनियम उत्पादनमा रोक लगाउने कुनै सङ्केत गरेको छैन । युरेनियम उत्पादन इरानको आणविक ऊर्जा कार्यक्रमको प्रमुख कार्यक्रम हो । सन् २०१५ को इरान आणविक सम्झौताले युरेनियम उत्पादनलाई वैध मानेको छ । इरानी राष्ट्रपति रोहानीले युरेनियम उत्पादनलाई निरन्तरता दिने इरानको अधिकार भएको दाबी गरेका छन् ।
गएको महिना इरानका वरिष्ठ नेता आयोतोल्लाह अली खानेमीले आफ्ना इराकी समकक्षीलाई ‘सकेसम्म चाँडो इराकबाट संरा अमेरिकी सेना फिर्ता गर्न’ आग्रह गरे । संरा अमेरिकी सेना लामो समय कुनै एउटा देशमा रहँदा पछि त्यहाँबाट फिर्ता पठाउन गा¥हो हुने गरेको उनको भनाइ थियो । सन् २००३ मा संरा अमेरिकाले इराकविरुद्ध युद्ध थाले यता इराक र इरानले आफ्नो सम्बन्ध विस्तार गरेका छन् । सडक र सम्भावित रेलमार्ग क्षेत्रमा नजिकको आर्थिक सम्बन्धले दुवै देशलाई एक अर्कासँग निर्भर बनाएको छ । (संरा अमेरिकी दबाबको अस्वीकार गर्दै इराकले इरानी तेल निर्यात गरिरहेको छ ।) खामेनीले इराकमा अझै बसेका ५ हजार २ सय अमेरिकी सेनालाई सङ्केत गर्दै इराकलाई त्यस्तो आग्रह गरेका थिए । विगतमा बोल्टनले ती अमेरिकी सेना ‘इराकमाथि निगरानी’ गर्न त्यही रहने भनी बोलेको वाक्यलाई ट्रम्पले पनि यो वर्षको सुरुमा बोलेपछि संसारले उनको हाँसो गरेको थियो ।
अमेरिका र इरानबीच शब्दको युद्ध उत्कर्षमा पुगेको छ । अप्रिलमा ट्रम्प सरकारले इरानी सेनालाई ‘आतङ्कवादी’ को बिल्ला लगायो । इरानी संसद्ले त्यस्तो आरोपप्रति निन्दा गरेको थियो । इरानी रक्षामन्त्री जनरल अमिर हातामीले संरा अमेरिकी सेनाका ‘आतङ्कवादी गतिविधि’ को प्रतिरोध दिन इरानी सरकारलाई बाटो खोल्ने विधेयक सदनमा पेश गरेका थिए । इरानले संरा अमेरिकी गतिविधिको प्रतिरोध कसरी गर्ने तयारी गरेको थियो,त्यो कुरा प्रष्ट छैन । तर, विधेयकमा अमेरिकी गतिविधिको प्रतिरोध सैनिकभन्दा पनि राजनीतिक र कूटनीतिक हुनुपर्ने उल्लेख छ ।
संरा अमेरिकाले इरानले इराक वा मध्यपूर्वमा रहेका आफ्ना सेनालाई निशाना बनाउन सक्ने बताएको छ । बोल्टनले ‘सङ्केत र खतरा’ भनेर भन्न खोजेको कुरा यही थियो । अफगानिस्तान, इराक र खाडी क्षेत्रमा संरा अमेरिकाका दसौं हजार सिपाहीं तैनाथ छन् । इरानलाई चारै तिरबाट संरा अमेरिकी सैनिक हातहतियारले घेरा लगाएको छ । संरा अमेरिकी सेनाको पासोमा आफू परेको महसुस गर्दै गत सालको अन्तिमतिर इरानी सरकारले कतारको अल–उब्देड हवाई अड्डा, संयुक्त अरब इमिरेट्समा रहेको अल–डाफ्रा आधार क्षेत्र र अफगानिस्तानमा रहेको कान्दहार सैनिक आधारमा हमला गर्न सक्ने बताएको थियो । इरानी क्रान्तिकारी सेनाको हवाई ब्रिगेडका प्रमुख अमिराली हाजिजादेहले भनेका थिए,“ती स्थानहरूमा हामी पुग्न सक्छौं ।” इरानलाई उक्साउन गएको मार्च महिनामा संरा अमेरिकाले ओमानका सालेह र डुक्म बन्दरगाह सैनिक उद्देश्यको लागि प्रयोग गर्ने ओमान सरकारसँग सम्झौता गरेको थियो ।
अन्त्यहीन युद्ध
आफ्नो युनियन अफ स्टेट सम्बोधनमा ट्रम्पले भनेका थिए, “महान् राष्ट्रहरू अन्त्यहीन युद्धहरू लड्दैनन् ।” संरा अमेरिकाले अफगानिस्तानमा आफ्नो हात झिक्न नयाँ सम्झौता गर्न खोजिरहेको छ । सिरियाको द्वन्द्वबाट पनि उसले हात झिकेको छ । दुवै देशका द्वन्द्वबाट हात झिक्न उसलाई त्यत्ति सजिलो पक्कै भएन । तर, यदि संरा अमेरिकाले इरानमाथि हमला गरे त्यो युद्ध लेवनानदेखि भारतको सिमानासम्म पनि अन्त्यहीनरूपमा फैलिनेछ । संरा अमेरिकाभन्दा इरान निःसन्देह कमजोर छ । तर, कदाचित संरा अमेरिकाले इरानमाथि हमला गरे इरानले यसलाई अफगानिस्तानमा रहेको संरा अमेरिकी सेनामाथि हमला गर्ने अवसरको रुपमा उपयोग गर्नेछ । उसले खाडी र उत्तर अफ्रिकाका आफ्ना सहयोगी शक्तिहरूलाई संरा अमेरिकी सेनामाथि आक्रामण गर्न आह्वान गर्नेछ । इरानको जनता देशभक्त छन् । इरानी जनताले आफ्नो देशमाथिको हमलालाई इरानी सरकारमाथिको हमलाको रूपमा मात्र लिनेछैनन् । बरु आफूमाथिको हमलाको रूपमा लिनेछन् । इरानी जनताबीच संरा अमेरिकाले कोही आफ्नो पक्षधर भेटाउने सम्भावना देखिंदैन । यतिबेला इरानमाथिको युद्ध थालनी गर्नु भनेको संसारभरि युद्धको विध्वंस विस्तार गर्नु हो । संसारले निकट इतिहासमा धेरै युद्धहरू सामना गरिसकेको छ । अब संसार शान्तिको ढोका खोल्न चाहन्छ । ट्रम्प, बोल्टन र पेन्सहरूले युद्ध उछाल्न खोज्छन् । उनीहरू खतरनाक योजनासहितका खतरनाक मानिसहरू हुन् । यो लेख स्वतन्त्र मिडिया संस्था ग्लोबलट्रोटरको लागि तयार गरिएको हो ।
स्रोतः न्युजक्लिक
नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *