भर्खरै :

सुन्दरता

श्यामकृष्ण खुलिमुली
सौन्दर्यको मापन के हो ?
सौन्दर्य केका लागि ?
सुन्दर वस्तु आफैमा उत्कृष्ट हुन्छ । त्यसका लागि कुनै प्रतियोगिताको जरुरत पर्दैन, त्यसको लागि कुनै विज्ञापनको जरुरत पर्दैन, त्यसको बोक्रा छोडाउनुपर्दैन । गुलाफ आफैमा सुन्दर छ, त्यसलाई कसैले सुन्दरताको ताज पहि¥याउनुपर्दैन ।
सुन्दरता केका लागि ?
– नामका लागि ?
– दामका लागि ?
– यौनका लागि ?
– बिक्रीका लागि ?
– प्रेमका लागि ?
– जीवनका लागि ?
ताज÷प्रचार÷बौद्धिकता या प्रतिभा प्रस्फुटनका लागि ?
तिमी जसलाई स्वतन्त्रता भन्छौ
म त्यसलाई बन्धन भन्छु
तिमी जसलाई सुन्दर भन्छौ
म त्यसलाई कुरुप भन्छु ।
नाङ्गिएर देशको नाम चम्काउन सकिने भए अब सबै नाङ्गिए हुन्छ । (टेरेसा, रोजा लक्जम्वर्ग, जोन अफ आर्क नाङ्गिनु परेका थिएनन् त ।) सायद यो नयाँ प्रयोग होला नाङ्गिएर देशको नाम चम्काउने, सुन्दरता बेचेर बौद्धिकता जगाउने ।
क्याटवाकले शारीरिक क्षमता मापन गर्नेहरू, ब्रा र पेन्टीमा सौन्दर्य देख्नेहरू, ब्युटी विथ ब्रेनको नाममा चेतनाको हत्या गर्दैछन् कथित बौद्विक जमात (नाङ्गा बौद्धिक जमात) तयार गर्दैछन् । अरु बुद्धि लडाएर बाँच्छन्, उनीहरू शरीर नङ्ग्याएर बाँच्छन् ।
राम्रो केश, उत्कृष्ट मुस्कान, सुन्दर छाला सुन्दरताका मापनहरू अनि फेसियल, पेडिक्युर, मेनिक्युर गरेर छाला चम्काउनेहरू नाङ्गिन तँछाडमछाड गर्दैछन् । गोल्डेनगेजले सुन्दरता नाप्नेहरू बौद्धिकतालाई बन्धक राखी आधुनिक दास बाँचिरहेछन् ।
मलाई सोध्न मनलाग्छ, कतिजना सुन्दरी जोया भए ? कतिजना विश्व सुन्दरी सुकी भए ? कतिजना ब्रम्हाण्ड सुन्दरी जोन अफ आर्क भए ? कतिजना रोजा भए ? सुन्दरताको मापन के हो ? पसिनालाई सोध, लुटिएको अस्मितालाई सोध । आमूल परिवर्तनका लागि जीवनमरणको युद्ध गर्नेलाई सोध ।
आधुनिकता (अझ उत्तर आधुनिकता) का नाममा नाङ्गिनेहरू एउटा सपना पालिरहेछन्, पिँजडाभित्र प्रतिभा प्रस्फुटन गरेर । कोसीमा बगेको सपनाहरूमा खोज सुन्दरता के हो ? बगरमा बालुवा बोक्नेलाई सोध सुन्दरता के हो ? रातदिन घरेलु हिँसा सहेर आँसु पिउनेलाई सोध सुन्दरता के हो ? जङ्गलमा घाँसदाउरा गर्ने नाङ्गा खुट्टाहरू, कर्णालीका भोका पेटहरूलाई सोध, बन्दुक बोक्ने आमालाई सोध ।
मान्छेको जात । नभरेसम्म भरिने सपना देख्छन् । जब मान्छे भरिन्छ तब पोखिने बाटो खोज्छ अनि पोखिन्छ छताछुल्ल भई, छ्यानविचार नपु¥याई । अनि जताततै बग्छ । बस् अनि त्यतिकै सुक्छ । जीवनको टुङ्गो ।
नक्कली दृष्टान्त बाँच्नेहरू, नक्कलताको जीवनदर्शन जिउनेहरू हरेक कुराको नक्कल गर्ने नाममा आफैलाई नक्कली बनाउँछन् । नक्कलको नाममा नाङ्गो नक्कल गर्नेहरू प्रतिभालाई चुँडाल्छन्, पहिचानलाई दुत्कार्छन्, मौलिकतालाई लतार्छन्, पहिचानलाई गुमाउँछन् । अनि विज्ञापन बाँच्छन्, वस्तु बन्छन्, भोक मेटाउँछन्, रस भुलाउँछन् । महँगो जीवनलाई सस्तो बनाउनेहरू अबला जीवन बाँचिरहेछन् ।
मन्दिरमा धाउने यात्रीहरू सुन्दरता खोज्न बजार दौडिरहेछन् । अनि स्वतन्त्र जीवन बाँच्नेहरू थाहै नपाई बँधुवा बनिरहेछन् । अदृश्य बन्धनलाई स्वतन्त्रता छान्नेहरू दिवास्वप्न देखिरहेछन् अनि सुन्दरताको नाममा बहुराष्ट्रिय कम्पनीको विश्व हाटबजारमा हात फैलाई आफ्नो सौन्दर्य बेचिरहेछन् ।
म विश्व सुन्दरी हुँ ।
म ब्रम्हाण्ड सुन्दरी हँु ।
म अमेरिकी सुन्दरी हँु ।
म नेपाल सुन्दरी हुँ ।
पँुजीवाद र साम्राज्यवादका जीवनदाताहरू । कागजी बाघका बर्दिविहीन र हतियारविहीन सुरक्षादस्ताहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *