भर्खरै :

घोषणापत्र जारी गर्दै ‘कर्णाली वाङ्मय सङ्गोष्ठी’ सम्पन्न

सुर्खेत, २८ वैशाख । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुक्रबारदेखि सुरु भएको दुईदिने ‘कर्णाली प्रदेशस्तरीय वाङ्मय सङ्गोेष्ठी’ सम्पन्न भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान र सुर्खेती कल्याण समाज, काठमाडौँको सहकार्यमा आयोजना भई आज सम्पन्न भएको सङ्गोेष्ठीले तेह्र बुँदे ‘कर्णाली प्रदेश साहित्यिक घोषणापत्र–२०७६’ जारी गरेको छ । घोषणापत्रको पहिलो बुँदाले नेपाली भाषाको उद्गमस्थल तथा साहित्य, कला, पुरातत्व र संस्कृतिको अध्ययन–अनुसन्धान, संरक्षण, प्रवद्र्धन गर्न सङ्घीय सरकार र नेपाल प्रज्ञा–प्रतिष्ठानसँगको समन्वयमा कर्णाली प्रज्ञा–प्रतिष्ठान स्थापना गर्ने उल्लेख गरेको छ ।
त्यसैगरी, क्रमशः सिञ्जा सभ्यता, काक्रेबिहार, पञ्चकोशीलगायतका विद्यमान सांस्कृतिक सम्पदालाई युनेस्कोको सूचीमा सूचीकृत गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारको विशेष पहल गरिनुपर्नेमा जोड दिइएको छ । कर्णाली प्रदेशको ऐतिहासिक रेशम मार्ग पहिल्याई बर्दियादेखि हिल्सासम्मको सहज बाटो निर्माण गरी मानसरोवर जाने धार्मिक सांस्कृतिक पर्यटक बढाएर राष्ट्र लाभान्वित हुने नीति ल्याइनुपर्ने जारी घोषणापत्रमा सुझाव दिइएको छ ।
त्यस्तै, कर्णाली प्रदेशमा लोपोन्म्ुख अवस्थामा रहेका भाषिक र लोक साहित्यिक सम्पदाको शोध खोज गरी प्रकाशनमा ल्याउने, पृथ्वीको सतहमुनि लुप्त रहेका सांस्कृतिक, पुरातात्विक महत्वका वस्तुको उत्खनन्, पहिचान, सदुपयोग र संरक्षण, जडिबुटीको धनी प्रदेशमा आयुर्वेदिक प्रतिष्ठान खडा गर्नेलगायतका बुँदा घोषणापत्रमा समेटिएको सुर्खेती कल्याण समाज, काठमाडौँका सभापति डा. जीवेन्द्रदेव गिरीले जानकारी दिनुभयो ।
सङ्घगोेष्ठीमा ‘नेपाली कवितामा कर्णाली प्रदेशको योगदान’का बारेको कार्यपत्र प्रा जगतप्रसाद उपाध्यायले प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्रमाथि मध्यपश्चिम विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन प्रा. खोपीराम लम्सालले टिप्पणी गर्नुभयो । समापन कार्यक्रममा कर्णाली प्रदेशभरिका तीन दर्जन कवि साहित्यकारले पद्य तथा गद्यशैलीका कविता वाचन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *