भर्खरै :

काठमाडाँै उपत्यकाका खोलानालामा कहिले फर्किएला स्वच्छता ?

काठमाडौँ उपत्यकाका खोलानाला सरसफाइको लागि सरकारी र गैरसरकारी निकायले आजसम्ममा सयौँ करोड पैसा खर्च गरिसकेका छन् । बागमती सरसफाइको नाममा साप्ताहिक अभियान सञ्चालन भइरहेको धेरै वर्ष बितिसकेको छ । तर, उपत्यकाका खोलानालाको प्रदूषण बीसको उन्नाइस भएन । बरू नदी अझ बढी प्रदूषित र फोहोर बनेका छन् । देशको अथाह पैसा र हजारौँ मानिस परिचालन हुँदा पनि हाम्रा खोलानाला किन सफा भएनन् ?
नदीनालाको सरसफाइमा व्यापक जनसमुदायको परिचालन र जनसचेतनाको कोणबाट अभियानका केही सकारात्मक प्रभाव पक्कै छन् । तर, परिणाम भने किन आउन नसकेको होला ? नेपालीमा एउटा उखान छ–टाउको दुखाइको औषधि नाइटोमा । काठमाडाँै उपत्यकाका नदी र खोलाहरूको सरसफाइको सन्दर्भमा पनि मूल समस्यालाई ध्यान नदिई सतही काममा मात्र रमाउने हुँदा वर्षौँअघि थालनी भएको अभियान परिणामशून्य छ । आदर्शवचनका लामै सूची बने, तर नदीको पानी कालोबाट पारदर्शी हुन सकेको छैन ।
काठमाडाँै उपत्यकाका खोलानालाहरू वास्तवमै प्रदूषणमुक्त बनाउने हो भने हप्तामा एकपटक केही प्लास्टिकका टुक्रा व्यवस्थापन गरेरमात्र हुनेछैन । उपत्यकाले थाम्नसक्ने भन्दा बढी जनसङ्ख्या वृद्धि र त्यो बढ्दो जनसङ्ख्याअनुसार सहर व्यवस्थापनका कुनै प्रयास नहुँदा नदी र खोला ढलमा परिणत भएका हुन् । ढल मिसिंदासम्म नदी प्रदूषणरहित हुने सम्भावना छैन । तर, जनसङ्ख्या वृद्धिका कारण नदीमा ढल मिसाउने समस्याको सजिलै समाधान हुने अवस्था पनि छैन । मानव बस्ती विस्तार नदीको मुहान नजिकसम्म फैलिने अवस्थामा केही मुख्य स्थानमा मात्र नदी सफा गरेर सिङ्गो नदी स्वच्छ हुनसक्दैन ।
उपत्यकामा जनसङ्ख्या वृद्धि नियन्त्रण र भएका मानव बस्तीका ढल नदीमा जोड्नुभन्दा अरू वैज्ञानिक व्यवस्थापनका उपाय कार्यान्वयन गर्न सके नदीको स्वच्छता फर्काउन सकिन्छ । ढलको पानी खोलामा पठाउनुअघि पानीको उपचार गर्ने वैज्ञानिक प्रविधि नेपालमा दसकौँअघि नै प्रयोगमा थियो । अरू पनि धेरै फोहोर पानीको शुद्धीकरणका उपाय र प्रविधि छन् । त्यस्ता प्रविधिको उपयोग गर्न सके नदीलाई पुनर्जीवन दिन समय लाग्नेछैन ।
तर, आज नदी सरसफाइको नाममा भइरहेका अभियान प्रचारबाजी र जनचेतनाको लागि उचित छ । दीर्घकालीनरूपमा नदी सरसफाइ गर्न यो तरिका पुग्दो भने होइन । नेपालमा यस्ता सस्तो प्रचारबाजीका गतिविधि आफैँ पनि धेरै मानिसको व्यवसाय बनिरहेको अवस्थामा नदी सरसफाइलाई यसरी नै वर्षौँ वर्ष निरन्तरता दिन चाहनेहरूको कमी नहोला । केही मानिस सरसफाइको नाममा प्रचार सामग्रीजस्तै क्याप, ज्याकेटको उत्पादन गरेर नदी सरसफाइलाई व्यापारको विषय बनाइरहेका छन् । केही राजनीतिक दलका नेताहरू यसैलाई राजनीतिक मुद्दा बनाइरहेका छन् । गैरसरकारी संस्थाहरू यसलाई कमाउ धन्दा बनाइरहेका छन् । सरकारको लागि पनि यो अभियान आफ्नो गतिविधि देखाउने कार्यक्रम बनिरहेको छ । तर, परिणाम निकाल्नेमा कोही सफल छैनन् ।
नदीका दुवै किनारामा कोरिडर निर्माणको नाममा नदी र खोलाको आकार अझ साँघुरो बनाउँदा विशेषतः बाढीको समयमा नदी छेउछाउका सर्वसाधारणले अझ दुःख पाउनेछन् । ठूलो बस्तीको फोहोर एउटै ढलबाट निकास गर्न खोज्दा कहीं कतै बिग्रे भत्केको अवस्थामा पूरै बस्ती नै समस्यामा पर्ने हुँदा स–साना उपचार पोखरी ठाउँ–ठाउँमा विकास गर्न सके अझ व्यवस्थित सहर विकास गर्न सकिन्छ । सरकार व्यापक जनताको हितमा भन्दा पनि ठेकेदारीमा चल्दा आज जनतालाई कसरी दीर्घकालसम्म सुविधा दिनेतिर ध्यान दिन सकेको छैन । ठेकेदारी र सस्तो लोकप्रियतामा अल्झेको देशको यो विडम्बना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *