भर्खरै :

नवौंँ राष्ट्रिय ललितकला प्रदर्शनी जेठ २ देखि

काठमाडौँ, ३० वैशाख (रासस) ः नियमित रुपमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान(नाफा)ले आयोजना गर्दै आएको ललितकला प्रदर्शनी आगामी जेठ २ गतेदेखि सञ्चालन हुने भएको छ । परिषद्ले हरेक वर्ष वैशाख २ गतेदेखि सञ्चालन गर्दै आएको प्रदर्शनी गोरखा भूकम्पले नाफाको भवन क्षतिग्रस्त बनाइदिएपछि ढिला हुन लागेको प्रतिष्ठानका कुलपति केके कर्माचार्यले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । “हामी यस वर्ष व्यवस्थित तवरले प्रदर्शनी आयोजना गर्नेछौँ”, उहाँले भन्नुभयो । नाफा स्थापना दिवसका उपलक्ष्यमा वर्षेनी नेपालभरिका कलाकृति सङ्कलन गरी एकै थलामा प्रदर्शन गर्ने, नेपाली ललितकलाको विकास गर्ने र ललितकलाको क्षेत्रमा अतुलनीय योगदान पु¥याउने वरिष्ठ कलाकारको सम्मान गरी नवोदित कलाकारको हौसला बढाउने प्रदर्शनीको उद्देश्य रहेको नाफाले जनाएको छ ।
सो प्रदर्शनीमा प्रदेश नम्बर १ का ५६, प्रदेश नम्बर २ का ७३, प्रदेश नम्बर ३ का ३४८, प्रदेश नम्बर ४ का २८, प्रदेश नम्बर ५ का ४६, प्रदेश नम्बर ६ का १२ र प्रदेश नम्बर ७ का २७ जना कलाकारले प्रदर्शनीको प्रतियोगितामा भाग लिनेछन् । प्रदर्शनीमा परिषद्ले छ विधामा पुरस्कारको व्यवस्थासमेत गरेको छ । सोअनुसार अरनिको राष्ट्रिय प्रज्ञा सम्मान (जनही रु एक लाख दुई जनालाई), राष्ट्रिय ललितकला पुरस्कार (जनही रु २५ हजार सात जनालाई), विशेष पुरस्कार (जनही रु २५ हजार दुईदेखि चार जनालाई), प्रदेशविशेष पुरस्कार (जनही र २५ हजार सातै प्रदेशका), ललितकला लेखन पुरस्कार (जनही रु २५ हजार एक जनालाई) र ललितकला पत्रकारिता पुरस्कार (जनही रु २५ हजार एक जनालाई) प्रदान गर्न लागिएको छ ।
यस वर्षको ललितकला लेखन पुरस्कार राष्ट्रिय समाचार समितिका प्रधानसम्पादक श्याम रिमाल र लेखक मदन चित्रकारलाई दिइने भएको छ । रिमाल र चित्रकारलाई रु २५ हजारसहित प्रतिष्ठानले सम्मान गर्न लागेको हो । त्यस्तै यस वर्षको अरनिको राष्ट्रिय प्रज्ञा सम्मान वरिष्ठ चित्र एवं मूर्तिकार चिनीकाजी श्रेष्ठ र वरिष्ठ चित्रकार रतनकुमार राईलाई प्रदान गर्न गरिनेछ । त्यस्तै पुरस्कृत कलाकृतिका लागि अरनिको राष्ट्रिय प्रज्ञा सम्मानबाट रु एक लाखसहित दुई जनालाई, राष्ट्रिय ललितकला पुरस्कार रु ६० हजार एक जनालाई, विशेष पुरस्कार रु २५ हजार दुई देखि चार जनालाई, प्रदेश विशेष पुरस्कार रु २५ हजार (प्रत्येक जिल्लाका एक–एक जनालाई), ललितकला लेखन पुरस्कार रु २५ हजार एक जनालाई र ललितकला पत्रकारिता पुरस्कार रु २५ हजार एक जनालाई प्रदान गरिनेछ । प्रदर्शनीका लागि मूल आयोजक समिति, बाधा अड्काउ फुकाउ उपसमिति, व्यवस्थापन उपसमिति, प्रकाशन उपसमिति, डिस्प्ले उपसमिति र सहयोग उपसमितिसमेत गठन गरिएको छ । प्रदर्शनीमा अप्रतियोगीले समेत भाग लिनेछन् । प्रदर्शनीमा ४६७ कलाकारका चित्रकला, मूर्तिकला, लोककला, हस्तकला तथा अन्य सिर्जनात्मक कलालगायत विभिन्न विधाका ५२९ कलाकृतिका साथै वरिष्ठ कलाकारका अप्रतियोगी कलाकृतिसमेत प्रदर्शनीमा रहनेछन् । प्रदर्शनी बबरमहलस्थित नेपाल कला परिषद्मा तीन हप्तासम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *