भर्खरै :

सत्यमोहनलाई शुभकामना

संस्कृतिविद् एवं लेखक सत्यमोहन जोशी सोमबार एक सय वर्ष पुग्नुभयो । उहाँ एक शताब्दी ज्येष्ठ हुनुभएको अवसरमा गृहनगर ललितपुरमा भव्य समारोहको आयोजना गरियो । एक सय वर्षको उमेरमा पनि सत्यमोहन जोशीको ऊर्जाशील र सक्रिय जीवन धेरैका लागि प्रेरणा बनेको छ । उहाँले नेपालको संस्कृति र साहित्यिक क्षेत्रमा पु¥याउनुभएको योगदान दीर्घकालसम्म स्मरणीय रहनेछ । जब कर्णाली काठमाडौँको लागि झण्डै अपरिचित थियो, सत्यमोहन जोशी जुम्ला जिल्लाको सिंजा उपत्यका पुगेर सिंजाको संस्कृतिबारे अनुसन्धानमूलक परिचयात्मक पुस्तक लेखेर कर्णालीलाई नेपालमा चिनाउनुभयो । नेपाल र छिमेकी देश चीनबीचको मैत्री सम्बन्धको सेतु बलबाहु अर्थात् अरनिकोबारे अध्ययन गरी नेपाल र चीनबीच मैत्री सम्बन्ध प्रगाढ बनाउन जोशीले ऐतिहासिक भूमिका पूरा गर्नुभयो । अरनिकोलाई नेपालमा परिचित बनाउन जोशीले अहम् भूमिका निभाउनुभयो ।
न्युजिल्यान्ड पुग्ने पहिलो नेपाली सत्यमोहन जोशीले नेपालको कूटनीतिक क्षेत्र विस्तारमा पनि महत्वपूर्ण भूमिका खेल्नुभयो । नेपालभाषा र काठमाडाँै उपत्यकाको बागमती सभ्यताका विज्ञ उहाँले भक्तपुरमा राष्ट्रिय चित्रसङ्ग्रहालय स्थापना गरी नेपालको इतिहास संरक्षणमा अतुलनीय भूमिका निभाउनुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानमा लामो समय योगदान पु¥याउनुभएका जोशीले थुप्रै नाटक लेखी नेपाली साहित्यलाई समृद्ध बनाउनुभयो ।
सय वर्ष उमेरमा पनि आफूलाई आमन्त्रण गरेका अधिकांश कार्यक्रममा पुग्ने सत्यमोहनको सरल स्वभावका कारण सबैका आदरणीय र प्रिय बन्नुभएको छ । सोमबार जोशीको नागरिक अभिनन्दनमा सहभागी ठूलो सङ्ख्यामा जनसमुदाय र सञ्चारमाध्यमहरूमा उहाँसम्बन्धी सामग्रीको कभरेजले जोशीप्रतिको सद्भाव उजागर भएको छ । सकारात्मक परिवर्तनको लागि सक्रिय जीवन नै मानिसको सफलता हो । सत्यमोहनले एक शताब्दी बाँच्नुभन्दा पनि महत्वपूर्ण कुरा एक शताब्दीसम्म उहाँ समाजमा सकारात्मक परिवर्तनको लागि लगातार सक्रिय हुनुभयो । आफ्ना सबै ज्ञान र क्षमता समाजको हितका लागि उपयोग गर्नुभयो । धेरैका लागि उहाँ प्रेरणा बन्नुभयो ।
अविश्रान्त समाजको हितको लागि क्रियाशीलता नै नयाँ पुस्ताले उहाँबाट सिक्नुपर्ने महत्वपूर्ण पाठ हो । जीवनको आरोहअवरोहमा धेरै उकाली र धेरै ओराली आउनु स्वाभाविक हो । तर, त्यस्तो हरेक प्रतिकूलताको सामना गर्दै अघिको मार्ग तय गर्नु नै सफल जीवनको दिशा हो । सत्यमोहन जोशीले जीवनलाई चिन्ता गरेर खेर फाल्नुभएन । बरू जति गर्नुभयो, निर्विघन लगातार गर्नुभयो ।
सत्यमोहन जोशी एक सय वर्ष प्रवेशको अवसर पारेर उहाँप्रति सम्मानभाव व्यक्त गर्न आयोजित भव्य समारोह समाजको लागि योगदान गर्ने ज्येष्ठ नागरिकलाई सम्मान गर्ने संस्कारको उदाहरण हो । उहाँका कृतिहरूको पुनःप्रकाशन र विविध भाषामा पनि अनुवाद गरी प्रचार गर्नु उहाँप्रतिको दीर्घसम्मान हुनेछ । उहाँले देखाउनु भएको अनुसन्धान हुन बाँकी क्षेत्रको अध्ययन अनुसन्धानको लागि सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।
सत्यमोहन जोशी नेपाल र नेपाली जनताका त्यसै पनि सम्मानित व्यक्तित्व हुनुहुन्छ । सय वर्षसम्म बाँच्नुले पनि उहाँ सबैका अझ सम्मानित बन्नुभएको छ । उहाँको सुस्वास्थ्य र दीर्घजीवनको धेरै धेरै शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *