भर्खरै :

त्रिविभित्रको क्यान्सर

–जगतमान मगर
त्रिभुवन विश्वविद्यालय कहिल्यै निको नहुने घाउ भएको छ । शासक दलबीचको भागबण्डाले थिलथिलो बनाएको त्रिविअन्तर्गत सेवा आयोगले हालै प्रकाशन गरेको कर्मचारी भर्नासम्बन्धी परीक्षाको नतिजाले धेरैलाई चकित बनायो । कर्मचारीको लागि छनौट भएका अधिकांश व्यक्ति शासक दलका नेताका आफन्त परेका छन् । शासक दलका नेता कार्यकर्ताका नजिकका मानिसमात्र छनोट हुनुले त्रिवि सेवा आयोग निष्पक्ष नभएको देखिएको छ । देशको प्राज्ञिक केन्द्रमा कर्मचारी भर्तीदेखि प्राध्यापक नियुक्तिसम्ममा यस्तो घिनलाग्दो खेलले देशको भविष्य कता जाँदै छ, सङ्केत गरेको छ ।
त्रिविलाई स्वायत्त संस्था भनिएको छ । तर, व्यवहारमा त्रिवि सबभन्दा बढी राजनीतिक हस्तक्षेप हुने संस्था बनेको छ । पियनदेखि क्याम्पसप्रमुखसम्म भर्ती गर्न दलीय भागवण्डा र दलका कार्यकर्ताबीच प्रतिस्पर्धा हुने गरेको छ । योग्यताभन्दा शासक दलका नेताहरूको ‘पावर’ मा काम हुने गरेको छ । त्रिविले छनौट गरेका कर्मचारीमध्ये लगभग सबै शासक दलका नेता कार्यकर्ताका नजिकका मानिस पर्नु संयोगमात्र होइन । काठमाडाँैमा बसेर आफ्नो श्रीमती वा श्रीमान्लाई जागिर गराउने र आफू राजनीति गर्ने सोच, आफ्नो भिनाजु, दाजु, दिदी, मामा, माइजू राजनीतिमा लागिरहेका छन् भने तिनको ‘शक्ति’ मा झुण्डिएर जागिर खाने मानिसहरूको भीडले त्रिवि भरिएको छ । विद्यार्थी नेताहरू पनि आफ्ना श्रीमती वा बहिनी–भाइलाई लेखापाल, लाइब्रेरियन, पियनजस्ता पदमा पनि जागिर खुवाउने रोगबाट त्रिवि अझै पनि मुक्त हुन सकेको छैन ।
त्रिविभित्रको यो रोगका कारण देशको प्राज्ञिक निकाय दिनानुदिन कुहिरहेको छ । प्राज्ञिक ख्याति ओरालो लागेको मात्र होइन, आन्तरिक व्यवस्थापन पनि भत्ताभुङ्ग भएको छ । देशको प्राज्ञिक र बौद्धिक व्यक्तित्व निर्माण गर्नुपर्ने विश्वविद्यालयभित्रका यस्ता क्यान्सरलाई निर्मूल नगरेसम्म देशले भविष्यको लागि सक्षम व्यक्ति पाउनेछैन ।
त्रिविमा पदाधिकारी, प्राध्यापक, कर्मचारी आदिको नियुक्तिको लागि शासक दलहरूबीचको भागवण्डा तत्काल रोक्नुपर्छ । शासक दलका नेता कार्यकर्ताले आफ्ना मानिसलाई जागिर खुवाउन ‘राजनीतिको पावर’ प्रयोग गर्ने अनैतिकता त्याग्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *