–हर्कबहादुर केसी

आमूल परिवर्तन नभएसम्म ‘सुखी नेपाली र समृद्ध नेपाल’ भन्ने सरकारको नाराले पूर्णता पाउनेछैन । सत्तारुढ दलका नेता र मन्त्रीहरू गर्जेर, सत्तासीन दलका नेता, सांसद र कार्यकर्ताहरूले सरकारको प्रशंसा गरेर नेपाल समृद्ध हुनेछैन । सरकारले विश्वमै देखाउन लायकको जस्तो विकास गर्छु भने पनि आफ्नो कार्यकालमा न नेपाली सुखी हुन्छन् न त नेपाल समृद्ध नै हुन्छ । कल्पनाको धुनमा नाचेर रमाउने, गर्व गर्ने र विश्वमा परिचय गराउने सरकारको प्रतिबद्धता कर्कलोको पानीबाहेक अर्काे हुनेछैन । सत्तासीन दलका नेता र मन्त्रीहरू सरकारको आयु लम्ब्याउन, फेरि सरकारको नेतृत्व गरेर रजाइँ गरिरहन अनेक जाल बुन्छन्, कहिले लोभलालच देखाउँछन् त कहिले प्राप्त अधिकार र स्वतन्त्रतामा पनि बन्देज लगाउँछन् । सरकारले यस्ता गोटी चलाइरहेकै हुन्छ । ‘सुखी नेपालीः समृद्ध नेपाल’ को नारा यसरी नै जनतामाझ बाँडेको एउटा मीठो सपना हो ।
सरकार कहिले विकासको युग, कहिले पानीजहाजको युग त कहिले विज्ञानको युग सुरु भएको फुक्छ । काम सुरु हुन नपाउँदै युगको सुरुआत देख्ने सरकार खाली सतहमा दगुरेको देखिन्छ । सरकार न यथार्थ बुझ्छ न यथार्थ बुझ्न गहिराइसम्म पुग्छ । जनताको घर आँगनमा सिंहदरबार पु¥याउने सरकारको वाचा पनि त्यसकै सिलसिला हो । देश र जनताप्रति समर्पित कुनै सरकारले झूटको खेती गर्दैन । जीवनस्तर नउठेसम्म या उनीहरूको जीवन सुनिश्चित नभएसम्म नेपाली जनता कसरी सुखी हुन्छ ?
देशमा जो परिश्रमी छन्, पसिना बगाउँछन् आज तिनीहरू नै पीडित छन्, गरिब छन् । तिनीहरूकै जीवन कष्टकर छ, जसोतसो चलिरहेको छ । किसानहरूको जिउने आधार खेतीपाती हो तर त्यो पर्याप्त छैन । खेतीको भरमा खान, लाउन, पढ्न र बस्न पुग्दैन । खेतीपातीको लागि समयमा वर्षा हुँदैन, सिंचाइको व्यवस्था सर्वत्र भएको छैन, समयमा मल आउँदैन । कहिलेकाही बाली नाली भित्याउने बेला असिना पर्छ, बाढी पहिरो आउँछ, बगाउँछ र श्रम, पसिना र लगानी डुब्छ । मजदुर र अन्य सर्वसाधारण जनताको हालत पनि त्यस्तै छ । यसरी श्रमजीवी वर्गको जीवनस्तर नउठेसम्म, देशलाई आत्मनिर्भर बनाउन नसकेसम्म देश समृद्ध सम्भव छैन । मीठो सपना बाँडेर जनतालाई आश्वास्त पार्ने सरकारले सुखी नेपाली र समृद्ध नेपाल बनाउन सक्दैन । बनेको संविधान पनि लागू गर्न अघि नबढ्ने सरकारले समाजवादको आशा बाँड्नु ‘आकासको फल आँखा तरी मर’ भनेझँै हुनेछ ।