भर्खरै :

विश्वको वातावरणीय उतार – चढावबारे बताउने पुस्तक ‘वातावरण ः सङ्कट र समाधान’

जमिला
विगत ४० वर्षदेखि नै हरितगृह प्रभाव अर्थात् विश्वव्यापी तापक्रम वृद्धि सम्पूर्ण मानव जातिको टाउकोमाथि डेमोकल्सको तरबारको रूपमा झुण्डिरहेको सत्य हो । पृथ्वीको तापक्रम वृद्धिका कारण मानव सभ्यता, सम्पूर्ण जीवजन्तुको अस्तित्वमै प्रश्न उठिरहेकोमा संवेदनशील समुदाय चिन्तित छ । त्यसकारण आज पनि वातावरण विषय विश्वभर एउटा चिन्ता र चिन्तनको विषय बनिरहेको छ । वातावरणमा देखापरेका सङ्कट, प्रदूषणका कारण, सम्भावित समाधानका उपायहरूबारे गहन विश्लेषण गरिएको पुस्तक ‘वातावरण ः सङ्कट र समाधान’ बारे चर्चा गर्नु सामयिक हुनेछ । विश्वजगत् नै प्राकृतिक प्रकोपहरूबाट आक्रान्त भइरहेको बेला पुस्तकले एउटा उपाय दिने विश्वास लिन सकिन्छ ।
वातावरणीय सङ्कटको राजनैतिक, आर्थिक व्यवस्थासँग अन्योन्याश्रित सम्बन्ध हुने गर्दछ । ठूलठूला साम्राज्यवादी देशहरू, विशेषतः संरा अमेरिकालाई विश्वव्यापी तापक्रम वृद्धि र त्यसले जन्माएको सङ्कटको मुख्य दोषीको रूपमा पुस्तकले औँल्याएको छ । जैविक ऊर्जाको उत्सर्जनको कारण निस्किने सबभन्दा बढी कार्वनडाइअक्साड ग्यासलगायत हानिकारक ग्यासको प्रदूषण फैलाउने देश संरा अमेरिका नै हो भनी पुस्तकले दाबी गरेको छ । पुँजीवादी अर्थतन्त्र र विश्व वातावरण दुबै गम्भीर र गतिशील प्रणाली हुन् । वातावरणीय परिवर्तन र यसको आर्थिक असरबारेको अनिश्चितता यी दुई प्रणालीको अन्तरक्रियासँग सम्बन्धित हुने जानकारी पुस्तकबाट मिल्छ ।
‘वातावरण सङ्कट कसरी समाधान गर्ने ?’ भन्ने भिक्कि कापाल्बोको लेखले पुँजीवादी व्यवस्था नाफा र बजारकेन्द्रित हुने, पुँजीवादी आर्थिक प्रणालीले असमानता र गरिबी बढाउने हुँदा यो व्यवस्थामा मानवीय जीवन सुरक्षाको सवाल गौण हुन्छ, प्राकृतिक संरक्षण यो प्रणालीमा सम्भव हुँदैन भन्ने सन्देश प्रवाह गर्छ ।
पुस्तकले अत्यन्त मननीय सन्देश दिएको छ, “विश्वव्यापी तहमा असमानता र गरिबीलाई समाधान नगरी वातावरणीय समस्या सुल्झाउन खोज्नु घातक हुन्छ । हामीमाथि बजार, नक्कली अभाव, त्रास र युद्धको शासन हुनुहुँदैन । पृथ्वीको जीवनदायी प्राकृतिक प्रणालीलाई नष्ट नगरी सम्पूर्ण जनता आरामपूर्वक बस्नसक्ने विश्व निर्माण गर्नसक्दछौँ । यदि हामीले बजार र नाफाका ‘भगवानहरू’ को फलामे शासनलाई फ्याक्यौँ र यसको आधारभूत प्रस्तावनालाई परिवर्तन ग¥यौँ भने ।”
मरुभूमीकरण र खडेरीविरुद्ध छैटौँ राष्ट्र सङ्घीय सम्मेलनमा क्युवाली राष्ट्रपति डा. फिडेल क्याष्ट्रो रुजले दिनुभएको सम्बोधन अत्यन्त पठनीय एवम् मननीय छ ।
असङ्ख्य आणविक हतियारमात्रै मानव जातिको विनाशको कारक सोच्नु गलत हुनेछ । प्राकृतिक सम्पदाको विनाशप्रतिको अनभिज्ञता र यसले निम्त्याउने प्रत्येक वातावरणीय विनाश नयाँ पुस्ताको निम्ति ‘टाइमबम’ साबित हुनसक्दछ भन्ने प्रमाण क्याष्ट्रोको सम्बोधनमा छ ।
वातावरणीय सङ्कट, निरक्षरता, बेरोजगारी, गरिबी, भोक, पिउने पानीको अभाव, आवासको अभाव, मरुभूमीकरण, बाढी, खडेरी, भू–क्षय, जैविक विनाशविरुद्ध लड्न क्युवा किन सफल छ ? सबैभन्दा महत्वपूर्ण कुरा त पाँच दशकभन्दा लामो समयदेखि संरा अमेरिकाले थोपरेको नाकाबन्दीबीच पनि यी सबै पक्षसँग क्युवा कसरी निरन्तर जुझिरह्यो ? भन्ने मार्मिक चित्र पुस्तकमा छ ।
‘मौसम परिवर्तनको बढ्दो ज्वार’ शीर्षकको लेखमा रेनी साम्सले जैविक इन्धनबाट हुने प्रदूषण रोक्न गरिएको क्योटो सम्झौताबारे चर्चा गरेका छन् ।
हरितगृह प्रभाव वा विश्वव्यापी तापक्रम वृद्धिबाट निम्तिने भयानक समस्याहरूबारे लेखमा चर्चा छ । समुद्री, आँधीवेहरीको तीव्रता, समुद्री सतह वृद्धि, भू–खण्डहरू सुख्खा हुनु, हिमाल पग्लिन सुरु हुनु आदि समस्याहरू विकराल बन्दै जान्छ । लेखमा अलस्काको उदाहरण दिइएको
छ । लाखौँ वर्षदेखि जमिरहेको अलस्काको त्रासदीपूर्ण शब्दचित्रले हरितगृह प्रभावको एउटा सजीव प्रमाण पस्केको अनुभूति पाठकलाई हुन्छ ।
अन्तर्राष्ट्रिय समुदायलाई वातावरणीय प्रणालीमा खतरनाक मानवीय हस्तक्षेप रोक्न र वायुमण्डलमा हरितगृह ग्यास प्रदूषणलाई स्थिर गर्न क्योटो सम्झौतामार्फत सम्पूर्ण देशहरूलाई एउटै ठाउँमा ल्याउन खोजिएको थियो तर विश्वको सबभन्दा ठूलो प्रदूषणकर्ता देश संरा अमेरिका सम्झौता मान्न तयार भएन । विश्वमा प्रतिव्यक्ति सबैभन्दा बढी प्रदूषण फैलाउने देश अस्ट्रेलिया पनि संरा अमेरिकाको पिछलग्गू देश साबित भयो ।
लेखक अल्बर्टो डि पेरेज प्रश्न गर्छन्, “यो प्रदूषणको ठूलो आर्थिक र मानवीय मूल्य वास्तवमा कसले चुकाइरहेछ ?” यसको प्रमुख शिकार जनता हुन् । वर्तमान वातावरण परिवर्तन खडेरी, बाढी, जनावर र वनस्पतिका प्रजातिहरूको व्यापक उन्मूलन तथा ध्रुवीय हिम पर्वतहरू पग्लेर बढेको समुद्री सतहले मानव जातिको अस्तित्वमै ठूलो चुनौती थपेको छ । अरबौँ जनतामा गरिबी र असमानता बढाएको छ । नेपालजस्तो देशमा तापक्रम वृद्धि एक गम्भीर चुनौतीको रूपमा खडा छ । पुस्तकले भनेजस्तै यो व्यवस्थामा यसको समाधान असम्भव नै छ । नेपालको परिवेशसँग तुलनात्मक अध्ययनको लागि पुस्तक सहयोगी हुनेछ ।
क्याट्रिना आँधीले संरा अमेरिकाको जातिवादी र वर्गीय चरित्र उदाङ्गो पारेको सन्दर्भ पुस्तकमा प्रस्तुत छ । क्याट्रिना आँधीबाट भएको सम्पूर्ण मानवीय तथा भौतिक क्षति र विनाश बुश प्रशासनको अपराधको प्रमाण बनेको विगत र न्यू ओलियन्सको हृदयविदारक दृश्य पुस्तकले पस्केको छ । क्युवाद्वारा संरा अमेरिकालाई ११ सय चिकित्सकहरू पठाएर सहयोग गरेको र आफ्नो अन्तर्राष्ट्रिय धर्म निर्वाह गरेको प्रसङ्गले जरुर क्युवा र संरा अमेरिकाबीचको भिन्नताबारे छर्लङ्ग पार्नेछ ।
तेल सकिँदा के हुन्छ ? भन्ने अल्फ्रेड ब्राउनको लेख जानकारीमूलक छ । अबको विश्व कतातिर जान्छ ? तेल राजनीतिका लागि साम्राज्यवादी देशहरूले चाल्न सक्ने गलत कदमबारे संवेदनशील समुदायको धारणा समेटिएको छ । ‘विश्वका तीन अरबभन्दा बढी जनता भोक र त्यसको कारण वयष्कपूर्व नै हुने मृत्युको निन्दा गर्दैछन्’ नामक फिडेल क्यास्ट्रोको लेखले बौद्धिक खुराक प्रदान गर्दछ ।
‘मानव जातिको सम्भावित दुखान्त’ शीर्षकमा फिडेल क्याष्ट्रोको लेखले राजनीतिक दृष्टिकोणबाट अर्थतन्त्र र विज्ञानको विश्लेषण गरेको छ । १५८५ कालीन ल्याटिन अमेरिकाको वास्तविक अवस्था नाजुक थियो । ठूलो वैदेशिक ऋणभारमा डुबेको ल्याटिन अमेरिकामा धनी र गरिबबीचको भिन्नता विश्वकै अधिकत्तम थियो । ठूलठूला औद्योगिक र साम्राज्यवादी देशहरूले खडा गरेको असमान बजार अर्थतन्त्रको विरुद्धमा उठेको ल्याटिन अमेरिकाको आवाज पुस्तकमा छ । निजी उत्पादन प्रणालीले बढाएको पर्यावरणीय प्रदूषणका कारण तेस्रो र दोस्रो मुलुकहरू आक्रान्त छन् । प्रमुख साम्राज्यवादी देश अमेरिका करिब ६० वटा देशहरूमा आक्रमणको तयारी गरिरहेको छ । लाखाँै जनताको प्राकृतिक स्रोत र मेहनतको फल खोस्न अमेरिका सधैँ उद्यत छ भन्ने वास्तविकता पुस्तकले प्रस्तुत गरेको छ ।
वातावरण विषयका शिक्षक, विद्यार्थी र वातावरणबारे जानकारी राख्न चाहने सर्वसाधारण र बुद्धिजीवीहरूको निम्ति पुस्तक एक सन्दर्भसामग्री बन्ने विश्वास गर्न सकिन्छ ।
पुस्तकको गाता पुस्तकको नामसँग मेल खान्छ । मूल्य पाठकमैत्री हुनुका साथै मुद्रणमा खोट लगाउने ठाउँ भेटिन्न । विश्वजगत्को वातावरणीय अवस्था अवगत गराउने यस जानकारीमूलक र पठनीय पुस्तकको प्रकाशक (इसान) संस्थागत विद्यालय सङ्घ नेपालप्रति साधुवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *