भर्खरै :

मध्यपूर्वमा युद्धको नगरा

भेनेजुयलामा झण्डै असफल बनेपछि संरा अमेरिकाले यतिबेला आफ्नो साम्राज्यवादी नङ्ग्रा मध्यपूर्वी देश इरानमाथि गाड्न खोजिरहेको छ । ट्रम्प सरकारले सन् २०१८ मा इरानी आणविक सम्झौताबाट हात झिक्ने निर्णय ग¥यो । सन् २०१५ मा संरा अमेरिकासहित संयुक्त राष्ट्र सङ्घमा विशेषाधिकार प्राप्त देशहरू, युरोपेली सङ्घ र इरानले हस्ताक्षर गरेको इरानी आणविक सम्झौताबाट आफ्नो प्रतिबद्धता फिर्ता लिएर ट्रम्प सरकारले मध्यपूर्वमा अस्थिरताको विजारोपण गरेको छ । गएको वैशाख १९ देखि संरा अमेरिकी सरकारले इरानी तेल किन्ने सबै देशलाई तेल नकिन्न भनिसकेको छ । कदाचित् तेल खरिद गरिए किन्ने देशमाथि नाकाबन्दी थोपर्ने उसले धम्की दिएको छ । त्यही सेरोफेरोमा संरा अमेरिकी अब्राहम लिङ्कन युद्धकविमान बोक्ने युद्धपोत भूमध्यसागरको इरानी सिमानानजिक तैनाथ गरेको छ । युद्धपोतसँगै बमबारीको लागि विशेष टोली त्यत्तै परिचालन गरेको छ ।
बुधबार ‘इराकमा रहेको संरा अमेरिकी सेनामाथि हमला गर्ने’ भरपर्दो गुप्त समाचार आएको भन्दै संरा अमेरिकी केन्द्रीय सैनिक कमान्डले आफ्ना सबै सैनिक शाखालाई सतर्क र तयारी अवस्थामा रहन निर्देशन गरेको छ । इराकस्थित राजदूतावास र वाणिज्य दूतावासमा अत्यावश्यकबाहेकका सबै कर्मचारीलाई इराक छोड्न अमेरिकी विदेश मन्त्रालयले निर्देशन जारी गरेको छ । संरा अमेरिकाले इरानलक्षित गरी एक लाख बीस हजार सिपाहीं तैनाथ गर्ने तयारी गरेको भन्दै न्यु योर्क टाइम्सले समाचार प्रकाशित गरेको थियो । सो कुरा अस्वीकार गरे पनि ट्रम्पले त्यस्तो कदम चाल्न सक्ने बताएका छन् ।
हावा नआई पात हलिन्न । अप्रिल–मेमा लगातार भइरहेका इरानलक्षित निर्णयले मध्यपूर्वमा फेरि पनि युद्धको नगरा बज्ने सङ्केत गरेको छ । इराक युद्धपछि मध्यपूर्वमा वाशिङ्टनलाई चुनौती दिनसक्ने एउटा चौकी भत्किएको थियो । अर्को चौकी सिरियालाई ध्वस्त बनाउने संरा अमेरिकी प्रयास असफल भयो । तथापि सिरिया आज कमजोर बनेको छ । संरा अमेरिकाले सन् १९७० दसकको इरानी क्रान्तिदेखि नै निसाना बनाएको इरानलाई ध्वस्त बनाउन उसले लगातार प्रयास गरिरहेको छ । तर, इरानी जनताको साम्राज्यवादविरोधी भावनाका कारण आजसम्म इरानी चौकी हल्लिएको छैन । अन्तर्राष्ट्रिय राजनीतिका पछिल्ला घटनाक्रमको विश्लेषण गर्दा संरा अमेरिका इरानको जरा काट्न फेरि एकपल्ट तम्तयार बनेको देखिन्छ ।
ठूलो प्राकृतिक विपत्ति (बाढी) ले कमजोर बनेको इरानी अर्थतन्त्रलाई अझ कमजोर बनाउन वाशिङ्टनले एकपछि अर्को नाकाबन्दी थोपरिरहेको छ । वित्तीय नाकाबन्दीका कारण बाढी पीडितलाई सहयोग गर्न चाहेका अन्तर्राष्ट्रिय समुदाय त्यसबाट वञ्चित भएका थिए ।
संरा अमेरिकी साम्राज्यवादले मध्यपूर्वमा युद्धको विजारोपण गरिरहेको आज होइन । संरा अमेरिकाले मध्यपूर्वका देशमाथि आफ्नो एकछत्र प्रभुत्व जमाउन लगातार लागेकै छ । आफूसामु झुक्न नमान्ने देशलाई निर्ममतापूर्वक कुल्चिने अमेरिकी साम्राज्यवादले यतिबेला फेरि इरानमाथि हमलाको तानाबाना बुनिरहेको छ । मध्यपूर्वमा साम्राज्यवादी छायाँले छोपिरहन यहुदीवादी राज्य इजरायलको स्थापना गरेको थियो । इजरायल र प्यालेस्टाइनबीचको सङ्घर्ष अझै पनि चालू छ । हरेक दिन मध्यपूर्वका जनता आकाशमा भयभित आँखाले हेर्न बाध्य छन् ।
इरान वा संसारका कुनै पनि देशमाथि संरा अमेरिकी हस्तक्षेप स्वाभिमानी मानिसको लागि स्वीकार्य हुनसक्दैन । मध्यपूर्वमा लागेको चोटले संसारभर पीडा विस्तार गर्छ । इरान र सिङ्गो मध्यपूर्वमा साम्राज्यवादी हमला कुनै पनि हालतमा मानवीय युद्ध हुनसक्दैन । मानवता र प्रजातन्त्रको नाममा साम्राज्यवादले फैलाइरहेको अस्थिरता र विध्वंसको नयाँ सृङ्खला यतिबेला इरानी आकाशमा फैलिने सम्भावना बढ्दै छ । संसारका न्यायप्रेमी जनता साम्राज्यवादी हमलाको विपक्षमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *