भर्खरै :

पोलपोट ः साम्राज्यवादी सञ्चारमाध्यमको शिकार

अङ्ग्रेजीमा एउटा बहुप्रचलित भनाइ छ– ‘रोयटर’ समाचार संस्था बेलायती नौसेनाभन्दा शक्तिशाली छ । हुन त जुनबेला यो कथन प्रचलनमा आयो, त्यतिखेर बेलायतको सेना र त्यसमा पनि त्यहाँको नौसेना विश्वको प्रमुख शक्तिशाली फौजको रूपमा स्थापित थियो, तैपनि जुन आशयलाई सो भनाइले मुखरित गर्दथ्यो, त्यसमा हालसम्म कुनै खास परिवर्तन आएको छैन । बेलायतको नौसेना उपनिवेशवाद र साम्राज्यवादको धारिलो हतियार हो, तर त्यो भने अत्यधिक खतरनाक ‘रोयटर’ हो । यो मान्यतालाई सोभियत सङ्घ र पूर्वी युरोपमा यस दशकमा आएको परिवर्तनले झनै दरिलो बनाइदिएको छ । साम्राज्यवाद बेलगाम भएको छ र त्यस्तोमा उसका सञ्चारमाध्यमहरू पनि पहिलेभन्दा आक्रामक हुँदै आइरहेका छन् ।
आफ्नो तालमा नाच्न नमानेको कारण त्यसरी नमान्ने देश र त्यसका नेताहरूलाई काबुमा ल्याउन साम्राज्यवादी देशहरूले सैनिक कारबाहीलाई अघि बढाएका उदाहरणहरू इतिहासमा धेरै छन् । तर, आधुनिक संसारमा त्यस्ता पनि थुपै्र घटनाहरू मौजुद छन् जहाँ साम्राज्यवादी सेनाले हासिल गर्न नसकेका उपलब्धिहरू उसका सञ्चारमाध्यमहरूमार्फत हात पारिएका छन् । नायकलाई खलनायक बनाइदियो र खलनायकलाई नायकको रूपमा चित्रण गरिदियो अनि आफ्नो दुनो सोझ्यायो । साम्राज्यवादी सञ्चार साधनको शिकार भएका त्यस्ता असङ्ख्य देशहरूमध्ये एउटा कम्बोडिया पनि हो । साम्राज्यवादीहरूले आफ्नो तुच्छ स्वार्थको लागि विकृत ढङ्गले चित्रण गरिएका कैयौँ नेताहरूमध्ये कम्बोडियाका नेता पोलपोट पनि एक हुन् । को हुन् पोलपोट ? अनि कसरी बिकृतरूपमा चित्रण गरियो त उनको तस्वीर ?
वास्तविक नाम सालोठ सार भएका पोलपोटको जन्म सन् १९२८ मा कम्बोडियाको प्रेक स्बाउभ गाउँमा भएको बताइन्छ । त्यतिखेर कम्बोडिया फ्रान्सेली उपनिवेश थियो, यसकारण त्यसका छिमेकी भियतनाम र लाओसमा पनि उपनिवेशवाद–विरोधी सङ्घर्ष सल्किंदै थियो । सन् १९३० मा हङ्गकङ्गमा हिन्द चीन कम्युनिष्ट पार्टीको स्थापना भयो । त्यससँगै तीनै देशको स्वाधीनता सङ्ग्रामले तीव्रता लिँदै गयो । दोस्रो विश्वयुद्धपछि फ्रान्सको औपनिवेशिक शक्तिमा ग्रहण त लाग्यो, तैपनि हिन्द–चिनी जनताले आफै पूर्ण स्वतन्त्रताको सास फेर्न पाएनन् । किनभने कमजोर हुँदै गइरहेका फ्रान्स र बेलायतको ठाउँ लिन छिट्टै नै अमेरिकी साम्राज्यवाद अगाडि उभिन आइपुग्यो । तैपनि त्यहाँका जनताको अथक सङ्घर्षको परिणामस्वरुप भियतनामको आधा हिस्सा मुक्त भयो, लाओस स्वतन्त्र भयो । कम्बोडियामा पनि नरोदम सिंहानुकको राजवंश वास्तविकरूपमै पुनस्र्थापित हुन पुग्यो । कम्बोडियाले फ्रान्सेली अधीनताबाट आंशिकरूपले मुक्ति पाएकै साल (सन् १९५३) पेरिसमा अध्ययनरत पोलपोट आफ्नो देश फर्के । त्यो देशले पूर्ण स्वतन्त्रता हासिल गरेको साल (सन् १९५४) पोल पोटले नोम पेन्हमा पुगेर गुप्तरूपले सो सालको चुनावमा उम्मेदवार भएका कम्युनिस्ट तथा वामपन्थीहरूलाई सघाउन सुरु गरे ।
हुन त पोलपोटले सन् १९५४ मा नोम पेन्हको एउटा निजी कलेजमा प्राध्यापन पनि सुरु गरेका थिए । तर, हिन्द–चीन कम्युनिष्ट आन्दोलनभित्रको उनको सक्रियता पनि सँगसँगै गइरहेकै थियो । सन् १९६० मा कम्बोडियाली श्रमिक पार्टीको केन्द्रीय सदस्य र सन् १९६२ मा पार्टीको कार्यवाहक सचिव बनेका पोलपोटका गुप्त गतिविधिहरू अघि बढ्दै गइरहेका थिए । तर, सन् १९६३ मा सिंहानुकको सरकारले प्रकाशित गरेको सम्भावित ‘कम्युनिष्टहरूको सूची’ मा उनको नाम पनि समावेश भएको देखेपछि उनको निम्ति नोम पेन्हमा बसेर काम गरिरहनु सम्भव भएन । फलस्वरुप पोलपोट इयाङ सारी र सोन सेनसँगै ग्रामीण क्षेत्रमा गए । त्यहाँबाट तिनीहरूले राजधानीलगायत देशका अन्य भागहरूमा सञ्चालित सङ्घर्षलाई दिशा निर्देशित गर्न थाले ।
सन् १९६३ मा हिन्द–चीन सङ्घर्षले नाटकीय मोड लियो । एकातिर अमेरिकी साम्राज्यवादले दक्षिण भियतनाममा निकै बदनामी कमाइसकेको आफ्ना कठपुतली राष्ट्रपति न्गो डिन्ह डियमलाई षड्यन्त्रपूर्वक मार्न लगाएर आफ्ना अर्का कठोर कठपुतलीलाई राष्ट्रपति बनाउन लगाए भने अर्कोतिर सो षड्यन्त्रका सूत्रधार अमेरिकी राष्ट्रपति जोन एफ, केनेडी स्वयं पनि त्यसको तीन हप्तापछि एकजना अज्ञात बन्दुकधारीको शिकार बन्न पुगे । अमेरिकाको विश्वसनीयता समाप्त हुँदै गइरहेको थियो । यसकारण राजा सिंहानुकले त्यही साल अमेरिकी सैनिक सहयोगलाई समाप्त पारेर भियतनामका कम्युनिष्टहरूसित मित्रताको हात बढाए । अमेरिकालाई चिढाउन अरु के चाहियो र ? प्रतिगामी षड्यन्त्रको सिलसिलाले तीव्रता लिँदै गयो र आखिर अमेरिकी साम्राज्यवाद तीन वर्षपछि कम्बोडियामा अमेरिका भक्त भनी चिनिएका लोन नोललाई प्रधानमन्त्रीको कुर्सीमा विराजमान गराउन सफल भयो । त्यससँगै सिंहानुक र अमेरिकाबीचको दूरी झन् बढ्यो । फलस्वरुप सन् १९७० मा सिंहानुक सोभियत सङ्घ र चीनको राजकीय भ्रमणमा गइरहेको मौका पारी कम्बोडियामा रक्तपातविहीन सैनिक विद्रोह भयो र अमेरिकी कठपुतली लोन नोलले आफैलाई राज्य प्रमुख भएको घोषणा ग¥यो ।
आफ्नो राजकीय भ्रमणको क्रममा सोभियत सङ्घ पुग्दा सिंहानुकलाई तत्कालीन सोभियत राष्ट्रपति निकोलाई पोदगोनीले स्वागत गरेका थिए । तर, त्यहाँ बस्दाबस्दै सिंहानुक सत्ताच्युत भएको के घोषणा भयो, उनलाई बिदाइ गर्न विमानस्थलमा सोभियत विदेशमन्त्री आन्दे्रई ग्रोमिमात्र उपस्थित भए । सोभियत सङ्घबाट यसरी अपमानित भएका सिंहानुक पेचिङ्ग पुग्दा त्यहाँ भने उनलाई चिनियाँ सरकारले राज्य प्रमुखकै दर्जा दिई स्वागत ग¥यो । त्यही उनले अमेरिकी साम्राज्यवादको विरोधमा लड्ने आफ्नो अठोट सार्वजनिक गरे । त्यसको लगत्तै भियतनामी प्रधानमन्त्री फाम भान डोङ सिंहानुकप्रतिको ऐक्यबद्धता दर्शाउन पेचिङ्ग पुगे । त्यतिखेर भियतनामी नेतासँग पोलपोट पनि थिए ।
सिंहानुकको राजावादी सेना र पोलपोटको कम्युनिष्ट फौज मिलेर संयुक्त मोर्चा बनेपछि कम्बोडियाली सङ्घर्षले एउटा नौलो मोड लियो । भियतनाममा चलिरहेको सशस्त्र सङ्घर्षले फाटफुटै भए पनि कम्बोडिया र लाओसलाई समेत पहिल्यै समाहित त गरिसकेको थियो । तर, सिंहानुक र पोलपोटहरूको संयुक्त सरकार सार्वजनिक भएपछि कम्बोडियामा पनि अविरल बम वर्षा सुरु भयो र सन् १९७५ सम्मको पाँचवर्षे लोन नोलको शासनावधिमा पाँच लाखभन्दा बढी कम्बोडियालीले अकालमा ज्यान गुमाउनुप¥यो । आँकडा बोल्छ, हिन्द–चीन सङ्घर्षको दौरानमा भियतनाम, लाओस र कम्बोडियामा जति बम खसालियो, त्यति त दोस्रो विश्वयुद्ध अवधिभर पनि खसालिएको थिएन । स्पष्टै छ, जुन अनुपातमा बमबारी भयो, त्यही अनुपातमा धन–जनको पनि क्षति भयो । यसप्रकार त्यो सङ्घर्षको अवधिमा साम्राज्यवादीहरू जति हिंस्रक भएर अगाडि आए, त्यति तिनीहरू त्योभन्दा पहिला कहिल्यै भएका थिएनन् । त्यस्तै हिन्द–चीनमा साम्राज्यवादी शक्तिहरूले जुन पराजय भोग्नुपरे, त्यस्तो लज्जास्पद हार तिनीहरूले त्योभन्दा अगाडि कहिल्यै भोग्नु परेका थिएनन् ।
अन्ततः सन् १९७५ अप्रिल १७ का दिन कम्बोडिया लोन नोलको अत्याचारबाट मुक्त भयो । भियतनामको पुनर्एकीकरण भयो भने लाओसले पनि स्वतन्त्रताको स्वाद चाख्न पायो । अमेरिका र उसका पिँठ्यूहरूको पराजय कम लज्जाजनक थिएन, तैपनि तिनीहरूले विश्राम लिने त कुरै थिएनन् । त्यसैबीच सन् १९७६ अप्रिलमा ‘प्रजातान्त्रिक कम्पुचिया’ (कम्बोडिया) को संविधान जनसमक्ष आयो र त्यससँगै पोलपोट प्रधानमन्त्री पदमा चुनिएको घोषणा पनि भयो । को हुन् पोलपोट ? त्यतिञ्जेल पनि भूमिगतरूपमा क्रियाशील पोलपोटको नामबाट कम्बोडियाका धेरै जनता परिचित थिएनन् । तर, पछि पत्ता लाग्यो–पोलपोट उनै सालोठ सार हुन् जसले कुनै बेला नोम पेन्हमा प्राध्यापकको रुपमा काम गरिसकेका थिए ।
एकातिर साम्राज्यवादीहरू चुप लागिसकेका थिएनन् । त्यसैबीच अर्कोतिर कम्बोडिया र भियतनामबीच पनि कटुता बढ्दै जान थाल्यो । दुई देशबीचको सिमानामा दिनदिनै गोली हानाहान सुनिन थाल्यो र त्यससँगै शक्तिशाली भियतनामबाट हुनसक्ने आक्रमणबाट जोगिन पोलपोटको सरकारले आफ्नो सैन्यशक्ति, रसदपानी र जनशक्तिलाई नोम पेन्हमा मात्र केन्द्रित नराखी ग्रामीण क्षेत्रहरूतिर ओसार्न सुरु ग¥यो । बस, त्यहींदेखि प्रारम्भ भयो कुप्रचारको बाढी पनि । साम्राज्यवादी रागमा विस्तारवादको पनि स्वर थपिएपछि त्यो भजन (कोरस) मा परिणत हुन पुग्यो । यसप्रकार पोल र उनका सहयोगीहरूले एकपटक फेरि गुरिल्ला युद्धको सहारा लिनुप¥यो जो अहिले पनि चलिरहेकै छ । १९ वर्षअघिको सो सत्ता परिवर्तनले जहाँ भियतनाम समर्थक कम्बोडियाली पार्टी र नेताहरूलाई पोलपोट खमेर रुज नेताहरूको बदनाम गर्ने नयाँ हतियार प्रदान ग¥यो, त्यहीं खमेर रुज नेताहरू बीरान जङ्गलमा धकेलिन पुगी कुप्रचार युद्धमा समेत प्रतिरक्षाविहीन हुन पुगे । यस्तोमा बोल्नेको पीठो पनि बिक्यो र बोल्न नसकेकाहरूको चामल पनि बिक्न छोड्यो ।
अमेरिकी साम्राज्यवादको विरोधमा शिरमा कात्रो बेरेर रणक्षेत्रमा हातेमालो गरेर उत्रेका भियतनाम र कम्बोडियाबीचको बढ्दो कटुताले कम्बोडियामा समाजवादी सत्ताको समाप्तिसँगै दुवै देशको अर्थतन्त्रलाई अझ जर्जर त बनायो नै, त्यसको अतिरिक्त ती दुवै देशले नराम्रो राजनैतिक क्षतिसमेत व्यहोर्नुप¥यो । साम्राज्यवादविरोधी अन्तर्राष्ट्रिय आन्दोलनको प्रेरणा स्रोत बनेका भियतनाम र कम्बोडियाको अन्तर्राष्ट्रिय साखमात्र गिरेन, बरु फ्रान्स र अमेरिकाले हिन्द–चीन भूमिमा गरेका असङ्ख्य अक्षम्य अपराधहरू पनि पखालिन पुगे ।
त्यसैको फलस्वरुप सन् १९५४ सम्म फान्सेली उपनिवेशवादले गरेका जघन्य अपराधहरू, सन् १९७० सम्मको दसकमा अमेरिकी सेनालाई गरेको अतिक्रमण र सन् १९७० देखि १९७५ सम्म लोन नोलको शासन र अमेरिकी बमवर्षबाट पाँच लाखभन्दा बढी कम्बोडियालीहरूको आमहत्या इत्यादि सब त्रासदीहरूको भार पोलपोट र उनको खमेर रुज समूहहरूलाई बोकाइयो भने ती कर्तुतका वास्तविक अपराधी फ्रान्स र अमेरिका, अनि तिनका कम्बोडियाली टट्टुहरू साम्राज्यवादी प्रचारमाध्यमहरूको कारणले ‘निरपराध’ सावित हुन पुगे । त्यसैको परिणामस्वरुप साम्राज्यवादी स्वार्थको लागि खोल्न थालिएको ढोका झन् झन् चौडा हुँदै छ । खासगरी अमेरिकी साम्राज्यवाद एकपटक फेरि हिन्द–चीनका प्राकृतिक स्रोतहरूमाथि आधिपत्य जमाउन अगाडि बढ्दै छ । यसप्रकार इतिहासले एकपटक फेरि सावित गरिदिने भयो– जुन उपलब्धि हासिल गर्न विश्वको सर्वाधिक शक्तिशाली अमेरिकी सेना २१ वर्षसम्म असफल रह्यो, त्यसलाई आफ्नो प्रचार यन्त्रको माध्यमबाट साम्राज्यवादले केही वर्षमै हात पार्नसक्ने भयो ।
नौलो आयाम, वर्ष २ पूर्णाङ्क ६ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *