भर्खरै :

सुनाकोठीको सकस

चिन्मय
ठूलो माछाले सानो माछालाई खान्छ भन्छन् । यो खुवाइ कति निर्मम र कहालीलाग्दो हुन्छ भन्ने कुरा मैले ती आमाका आँखामा देखेँ । असहायपन उहाँको अनुहारमा रुनु न हाँस्नुको दोबाटोमा पुगेर अडिएको थियो । म स्तब्ध भएर उहाँका कुरा सुनिरहेको थिएँ र सुनिरहेको थिएँ भजन गाउन भेला भएका सुनाकोठीका स्थानीयहरूको वेदना ।
ललितपुर जिल्लाको मुटु लगनखेलबाट केही किलोमिटर दक्षिण लागेपछि सानो सुनाकोठी गाउँ आउँछ । गाउँको गहना हो भृङ्गारेश्वर महादेवको मन्दिर । लिच्छवीकालदेखि नै मन्दिरलाई एकोहोरो हेरिबसेको छ यहाँको नन्दीले । मल्लकालमा पशुपतिनाथको मन्दिर बनेपछि यो नन्दीलाई त्यहाँ सार्नुपर्ने उर्दी आयो । यहाँका किसानहरूले बल्लतल्ल नन्दीलाई चिबहालको ओराले झारे । तर, त्यहाँभन्दा अगाडि तान्न नसकिने छाँट देखियो । नन्दी देवता यहाँभन्दा एक डेगअघि बढ्न चाहनुभएन भनेर पक्कै पनि कुनै बाठो व्यक्तिले भनिदिएको हुनुपर्छ । त्यसपछि किसानहरूलाई पनि सजिलो भयो । उनीहरूले नन्दीलाई पुनः मन्दिर फर्काए ।
सुनाकोठीका पुराना तस्वीरहरूको सङ्ग्रह गरिएको भिडियो रहेछ यूट्युबमा । त्यसमा तपार्इँले नख्खु खोलाछेउ फैलिएको हराभरा फाँट भेट्नुहुनेछ । मूल गाउँको जीवनशैली समेटने दृश्यहरू देख्नुहुनेछ । तपार्इँलाई पक्कै पनि यस्तो ठाउँ घुम्न आउने चाहना हुनेछ । तर, यो गाउँ आज धुलाम्मे बनिसकेको छ । भूकम्पले सुनाकोठीलाई झन् मैलो र फुस्रो बनाइदिएको छ । बाटो किनारका कतिपय घरहरू खण्डहर बनिसकेका छन् । बाटो उध्रेको र खाल्टाखुल्टीले भरिएको छ । गाउँभन्दा केही पर बनेका हाउजिङ कोलोनीहरूमा बस्ने देशका सम्पन्न र शक्तिशालीहरूको असुविधाले बाटो चौडा बनाउनुपर्ने भयो । यसमा ¥याल काढ्दै ठेकेदारहरू सामेल हुन आए । ठेकेदारहरू आएपछि कमिसनको चक्करमा स्थानीय नेता कार्यकर्ताहरूको गिद्धे दृष्टि पर्ने भयो । बाटोले जग्गाको मोल बढाउने भयो । यो खेलमा मुख मिठ्याउँदै सल्बलाए भूमाफियाहरू । ठेकेदार, स्थानीय तहका भ्रष्ट नेता र सरकारी कर्मचारी एवं भूमाफियाहरूको यो चक्रलाई जसरी घुमाउँदा पनि हुन्छ । देश आज यिनीहरूकै इसारामा नाच्न खोज्दै छ ।
आजभोलि भृङ्गारेश्वर महादेवको मन्दिरमात्र होइन, सुनाकोठीको प्राचीन गाउँ नै ठेकेदार, स्थानीय नेता र घरजग्गा दलालहरूको चङ्गुलमा परेको छ । हिजो राजाको उर्दीले पनि डेग चल्न नमानेको नन्दी ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ का ‘विकासप्रेमी राजाहरू’ को पासोमा परेर उखेलिनुपर्ने हो कि भन्ने त्रासमा परेको छ र यहाँको जनता ती आमाजस्तै रुनु न हाँस्नुको दोबाटोमा असहाय उभिएका छन् ।
भृङ्गारेश्वर महादेवको मन्दिरमा साँझ बिहान भजन हुन्छ । एक साँझ केही भक्तजनहरूसँग भेट भयो । मन्दिरको कुरा उठ्यो । गाउँको खस्कँदो स्थितिको बारेमा चर्चा भयो । बाटो फराकिलो बनाउँदा मन्दिरको अघिल्लो भाग पनि भत्काउनुपर्ने भयो भन्ने गुनासो थियो । कुरै कुरामा धेरै विषय आए । ठेकेदार र गाउँका हुनेखाने टाठाबाठाहरूले गरिब र सोझा गाउँलेलाई ललाइफकाइ गरेर अथवा करकापमा पारेर भित्रभित्र अनावश्यक बाटोघाटो बनाउन जमिन हत्याइरहेका छन् । गाउँलेहरू एकजुट नभएकाले गलेर जमिन दिन बाध्य भइरहेका छन् ।
अलिअलि गर्दै भए पनि नेपाली बोल्ने एक आमाले दुखेसो पोख्नुभयो । आफू जन्मे हुर्केको, खाएको, खेलेको र यौवनको उमङ्गमय समय बिताएको गाउँ यति जर्जर र उराठलाग्दो होला भन्ने उहाँले कहिल्यै चिताउनुभएको थिएन । आफूले मुटुमाथि ढुङ्गा राखेर दिएको जग्गा भोलि महँगो हुने र आफ्नै सन्तानले किन्न नसक्ने अवस्था कल्पिँदा आमाको मन भक्कानिएर आउँछ । यहाँका जनता सोझासाझा भएकोमा उहाँ खिन्न मन बनाएर आँखा झुकाउनुहुन्छ । गाउँलेहरूसँग गुनासो पनि छ उहाँको । एउटाले जग्गा बेचेर पाएको पैसाले फूर्तिफार्ति गरेपछि अर्को छिमेकीले जग्गा बेच्न अन्कनाउने गर्दैनन् । नेवारी संस्कारै अलि बढी रङ्गरस र भोजभतेर गर्ने खालको छ । त्यसरी आएको पैसा सकिएपछि फेरि पुरानै चाल दोहोरिन्छ । गाउँका धनीमानीहरूसँगको रिस आमाले लुकाउन सक्नुभएन । मलाई उहाँको कुरामा समग्र सुनाकोठी गाउँको वर्तमान अवस्था झल्किएझैँ लाग्यो ।
केही गाउँलेले विकास हुन्छ भने बाटो बन्न दिनुपर्छ कि भन्ने आसय व्यक्त गर्नुभयो । नयाँ नेपालमा विकासको अर्थ ठेकेदार, दलाल र स्थानीय नेताहरूको ढुकुटी भर्नु हो भन्ने कुरा अझै पनि साधारण जनताले बुझेका छैनन् । त्यसो त विकास भनेको जनताकै भलाइको लागि हुनुपर्छ । पुर्खाले छोडेर गएका मूर्त अमूर्त सम्पदाको संरक्षण गर्दै मानवीय जीवन सहज बनाउन विकास हुनुपर्छ । त्यसमा भृङ्गारेश्वर महादेवको मन्दिरमात्र नभएर यहाँका पाटीपौवा, पोखरी र स्थानीय जात्रा, पर्व, भेषभूषा आदि पर्छन् । जनतालाई शिक्षा, स्वास्थ्य, आवास र रोजगारीका अवसर सिर्जना गर्ने गरी विकास हुनुपर्छ । लिच्छवीकालअघिको गाउँ भएर पनि, प्रजातन्त्र आएको आधा शताब्दी नाघ्दा पनि जनताको जीवनस्तर उकास्ने गरी कुनै काम भएको छैन । यहाँ एउटा गतिलो क्याम्पस खुलेको छ्रैन, न त राम्रो अस्पताल नै खुल्न सकेको छ । रोजगारीको लागि धेरै युवायुवती विदेश वा सहरतिरै धाउँछन् । देशका अन्य भागमा जस्तै यहाँ पनि कतिपय युवाहरूको ऊर्जा खेर गएको देख्न सकिन्छ ।
“पहिले गाउँमा ६।७ सय घरधुरी थिए रे । हाल आएर यो सङ्ख्या बढेको छ । तर, यसमा पहिलेका रैथानेहरू भने घटेका छन् । उनीहरू अलिअलि गर्दै बाहिर बिस्थापित हुँदै छन् । स्थानीय नेताहरूको यतातिर ध्यानै छैन । चुनाव आउँदा यो गर्दिन्छु, त्यो गर्दिन्छु भन्छन्, चुनावपछि कता हराउँछन्, हराउँछन्,” एकजना पाको उमेरको बुबाले भन्नुभयो । नेताहरू आफ्नो चुनावी गणितमा यति अन्धा भएका छन् कि पहिले पूरै गाउँ एउटा वडामा समेटिएकोमा आज यसलाई दुइटा वडामा टुक्राइएको छ । यसैले देखाउँछ, यहाँका जनताको इतिहास र संस्कृतिमा, जनताका पीरव्यथामा स्थानीय राजनीतिक दलका नेता कार्यकर्ताको चासो छैन ।
सरकारका मन्त्रीजस्तै स्थानीय जनप्रतिनिधिहरू पनि कमाउधन्दामा लागेका छन् । पुँजीवादी राजनीतिमा चुनाव भनेको जनता लुट्ने प्रोजेक्टको टेण्डरजस्तै हो । टेण्डर आफ्नो हात पार्न यो लुटपाटमा पछि संलग्न हुनुपर्ने सबैजना एउटा एउटा दल वा कम्पनी बनाएर चुनाव जित्न खोज्छन् । जितेपछि भने उनीहरूलाई लुटपाट गर्नमै फुर्सद हुन्न । जनतालाई टेण्डर हात पार्नेबेला नै ठगिसकेका हुन्छन् ।
साँझ छिप्पिँदै थियो । भक्तजनहरू उदास मन लिएर भजन गाउने तयारीमा लागे । सोच्छु, पुँजीवादी लुटतन्त्रविरुद्ध सचेत र एकजुट भई सङ्घर्ष नगरेसम्म महादेवले मात्र सुनाकोठीवासीलाई जोगाउन सक्नेछैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *