भर्खरै :

भागबण्डाले चल्दैन कुनै ‘कम्युनिष्ट’ पार्टी

एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाले अझै पनि सैद्धान्तिक आधार तयार गर्न सकेको छैन । बुधबार सम्पन्न एक कार्यक्रममा नेकपाका नेताहरूबीच नै पार्टीको वैचारिक आधारबारे मतान्तर भयो । बिहीबार नै बसेको नेकपाको सचिवमण्डलको बैठकले जनवर्गीय सङ्गठनलाई पहिलेका दुई पार्टीबीच भागवण्डाको आधारमा नेतृत्व निक्र्योल गरियो । यसअघि नै जिल्लास्तरीय नेतृत्व पनि भागबण्डाको आधारमा तय गरिएको थियो ।
राजनीतिक दलको स्थापना, एकता र विग्रहको आधार भनेको सिद्धान्त हो । तर, नेकपाले आजसम्म आफ्नो वैचारिक आधार टुङ्गो लगाउन सकेको छैन । वैचारिक आधारबारे बहस, छलफल र निक्र्योल गर्नुभन्दा पनि नेकपाले कसले, कहाँ, कुन पद पाउने भन्ने विषयमा बढी ध्यान केन्द्रित गरेको देखिएको छ । कम्युनिष्ट पार्टी सधैँ नीति र विचारप्रधान हुने गर्छ । वैचारिक गल्तीले सिङ्गो पार्टीलाई नै सखाप पार्ने भएकोले कम्युनिष्ट पार्टीभित्र वैचारिक छलफल र अध्ययन बढी हुने गर्छ । विचारले नै सबै विषयको निर्णय हुने भएकोले सिद्धान्तलाई कम्युनिष्ट पार्टीले प्राथमिकतामा राख्ने गर्छ । तर, नाममा ‘कम्युनिष्ट’ शब्द बोकेको र आफूलाई नेपाल कम्युनिष्ट पार्टीको मूलधार दाबी गर्ने नेकपाले नेकपाको गठन यता पार्टीको सिद्धान्त निक्र्योलबारे कहिल्यै बहस र छलफल भएन । नेकपाकै नेताहरूले आफ्नो पार्टीमा दलालहरू हावी भएको भनी सार्वजनिक रूपमा बोलिरहे ।
सिद्धान्तभन्दा अघि नेतृत्वको छनौट गर्नुले ‘बग्गी अघि–घोडा पछि’ भएको छ । सिद्धान्तको आधारमा नेतृत्व छान्नुपर्नेमा पहिले सबैतिर भागवण्डाको आधारमा नेतृत्व छान्नुबाट नेकपा सिद्धान्तनिष्ठ दल होइन भनी पुष्टि हुन्छ । कम्युनिष्ट पार्टीको सन्दर्भमा पद सधैं विचारभन्दा गौण विषय हुन्छ । विचार मिलेपछि नेतृत्वको प्रश्न गौण बन्ने गर्छ अथवा नेतृत्वको चयन पनि विचारको आधारमा हुन्छ । तर, कुनै पनि असल कम्युनिष्ट पार्टीमा पदको भागवण्डा हुने गर्दैन । पदको भागवण्डाले कुनै पनि कम्युनिष्ट पार्टी आफ्नो लक्ष्यमा पुगेको हुँदैन ।
पदको लागि मरिमेट्ने प्रवृत्ति पुँजीवादी प्रवृत्ति हो । पद र अलड्ढारको आधारमा सुविधा पाउने व्यवस्था पुँजीवादी र सामन्तवादी व्यवस्था हो । पुँजीवादी र सामन्तवादी व्यवस्थामा पद प्राप्त गर्ने आधार भनेको पारिवारिक पृष्ठभूमि र सम्पत्ति हुने गर्छ । जसको धेरै सम्पत्ति हुन्छ र जसको परिवार शासक वर्गसँग जति नजिक हुन्छ उसैले नै पद र सुविधा पाउने बन्दोबस्त हुन्थ्यो । कम्युनिष्ट पार्टीमा पद अनुभव, समर्पण र अध्ययनको आधारमा छनौट हुने गर्छ । जनताको बीचमा गएर कसले कतिको काम गरेको छ र कति योगदान गरेको छ भन्ने आधारमा नेतृत्वको चयन हुने गर्छ । भनसुन, भागवण्डा, दबाब र शक्तिशालीसँग सम्पर्कको आधारमा नेतृत्वमा पुग्नु कम्युनिष्ट पार्टीको आधारभूत मान्यताविपरीत हो ।
सिङ्गो देश भागबण्डाको कारण आजको लथालिङ्ग अवस्थामा पुगेको छ । शासक दलहरूबीच जुनसुकै पदको लागि भएको तल्लो स्तरको भागबण्डाको कारण सबै क्षेत्र पङ्गु बनेको हो । शासक दल नेकपाभित्रको भागवण्डाले पनि अन्ततः त्यसलाई पदलोलुपहरूको जत्थामा परिणत गरिदिनेछ । विचारको कुरा गौण भएपछि पार्टी कार्यकर्ताले प्रतिस्पर्धा गर्ने पदको लागि हुन्छ । वैचारिक आधारमा नेतृत्व छान्ने परिपाटी कमजोर बन्दा पैसा, पहुँच, भनसुन, दबाबको आधारमा नेतृत्वको लागि प्रतिस्पर्धा हुने गर्छ । आज नेकपाभित्र यही दृश्य देखिएको छ । यसले नेकपा भागबण्डामा टिकेको पुँजीवादी दलमा पतन भइसकेको पुष्टि हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *