भर्खरै :

अश्वघोष भन्तेको सम्झना !

नारायणमान बिजुक्छें
सन् १९५६–५८ मा अश्वघोष भन्तेसँग मेरो भेट छिमेकी देश चीनको राजधानी पेइचिङ्गको एसियाली–अफ्रिकी विद्यार्थी र युवा स्वास्थ्य निवासमा भएको थियो । उहाँसँग एक जना श्रीलङ्काली साथीले मेरो परिचय गराउनु भएको थियो । उहाँले मलाई ‘बुद्ध धर्म र माक्र्सवाद’ (बुद्धिजम् एण्ड माक्र्सिजम्) भन्ने धारावाहिक निस्किएका स–साना सरल पुस्तिकाहरू दिनुभयो । ती पुस्तिकाहरू अध्ययनबाट मैले बुद्ध धर्म र माक्र्सवादबीचको समता र भेदबारे साधारण जानकारी पाएँ ।
अश्वघोष भन्ते पाटनका एक नेवार हुनुहुन्थ्यो । उहाँले सानैमा श्रीलङ्कामा पाली भाषा र बौद्ध दर्शनको दीक्षा प्राप्त गर्नुभयो । उहाँले बनारस विश्वविद्यालयमा पनि अध्ययन गर्नुभयो । उहाँ पाली, सिँहाली, अङ्ग्रेजी, हिन्दी र नेवारी भाषाका ज्ञाता हुनुुहुन्थ्यो । तर उहाँलाई नेपाली भाषा त्यति आउँदैनथ्यो । हिन्दी भाषा जानेको कारण चीनमै साथीहरूको सङ्गतले उहाँले छिट्टै नेपाली भाषा बोल्न र लेख्न जान्नुभयो ।
त्यसैताका दक्षिण कोरियामा ठूलो विद्रोह भयो । हामी नेपाली विद्यार्थीहरूले कोरियाली विद्यार्थीहरूकहाँ गएर विद्रोहको निम्ति बधाई दियौँ र सफलताको कामना ग¥यौँ । संरा अमेरिकी साम्राज्यवादविरोधी सङ्घर्षमा हामीले ऐक्यबद्धता जनायौँ ।
त्यसै बेला अश्वघोष भन्तेले पनि युद्धको विरोध र शान्तिको समर्थन गर्नुभयो । उहाँले संरा अमेरिकी साम्राज्यवादको हस्तक्षेपको विरोध गर्नुभयो र नेपालमा पनि शोषण, विदेशी हस्तक्षेप र साम्राज्यवादको विरोधमा सङ्घर्ष भइरहेको बताउनुभयो । उहाँको अङ्ग्रेजी सरल र राम्रो थियो । सबै नेपाली विद्यार्थीहरूले उहाँको अभिव्यक्तिलाई प्रशंसा गरे । एक बौद्ध भिक्षुको अभिव्यक्तिबाट सबै चकित भएका थिए ।
नेपाल फर्केपछि पनि अश्वघोष भन्तेसँग मेरो मित्रता गाढा बन्दै गयो । बौद्ध दर्शन, साहित्य र अन्तर्राष्ट्रिय राजनीतिमा पनि हाम्रो विचारको आदान–प्रदान हुन्थ्यो । उहाँ श्रीलङ्का, बर्मा, थाइल्याण्ड आदि देशमा बौद्ध धर्मको विषयमा आफ्नो अनुभव बताउनुहुन्थ्यो भने म चीन, कोरिया, भियतनाम, लाओस र कम्बोडियाको बौद्ध धर्म र राजनीतिबारे छलफल गर्थँे । श्रीलङ्का, बर्मा, थाइल्याण्ड आदि देशको स्वतन्त्रता आन्दोलनमा भिक्षुहरूको योगदान र समाजले बौद्ध भिक्षुहरूप्रति दर्शाएको श्रद्धा र अनेक सहुलियतबारे चर्चा गर्नुहुन्थ्यो । उहाँले भेटघाट र प्रवचनमा समेत पाली गणतन्त्र र चीनको तत्कालीन गणतन्त्रको तुलना गर्नुहुन्थ्यो ।
स्वयम्भूको आनन्दकुटी विद्याश्रममा अश्वघोष भन्ते सुपरिटेन्डेट हुनुहुन्थ्यो, उहाँकै आश्रममा हाम्रो भेटघाट हुन्थ्यो । बुद्ध धर्ममा धार्मिक गतिविधिमात्र गर्ने र समाज र उत्पादनको कार्यमा भिक्षुहरू सहभागी हुने दुई विचार विद्यमान
छन् । विद्यालय सञ्चालन गरी विद्या दान गर्ने र सामाजिक कार्यमा समेत सहभागी हुने उद्देश्यअनुसार नै आनन्दकुटी विद्याश्रम बनेको थियो ।
उहाँ एक स्पष्ट वक्ता र धर्म वा दर्शनलाई अन्धविश्वास र पाखण्डबाट मुक्त गर्ने पक्षमा हुनुहुन्थ्यो । यसकारण उहाँले नेपालभाषा र नेपाली भाषामा सरलरूपले बुद्धका सन्देश, बौद्ध कथा र साहित्य लेख्नुभएको मैले अध्ययन गरेँ । हामीबीच साहित्यको आदान–प्रदान हुन्थ्यो । उहाँ नेपाल–चीन मैत्री सङ्घका सदस्य पनि हुनुहुन्थ्यो । उहाँ त्यस संस्थामा वार्षिक शुल्क पनि प्रदान गर्नुहुन्थ्यो । स्वास्थ्यको कारण २–३ वर्ष अगाडि उहाँले त्यस समितिबाट राजीनामा दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *