भर्खरै :

नेक्राविसङ्घको केन्द्रीय परिषद् सुरु

भक्तपुर, ३ जेठ । “राजनीतिक पार्टी र तिनका कार्यकर्ताहरूले देश र जनताको हितमा इमानदारीपूर्वक सेवा गर्नु आवश्यक छ ।”
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको केन्द्रीय परिषद्को शुक्रबार उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले उक्त भनाइ राख्नुभएको हो ।
“शासक पार्टीहरूले बितेका ३० वर्ष राजनीतिलाई कमाइ खाने भाँडो बनाए । त्यसैको परिणाम देश र जनताले दुःख पाएको हो”, उहाँले भन्नुभयो ।
नेमकिपाले विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क हुनुपर्ने माग राख्दै आएको चर्चा गर्दै सचिव सुवालले शासक पार्टीहरू देश र जनताको निम्ति गठन नभएको हुँदा तिनका सरकारहरूले शिक्षालाई निजीकरण गरिरहेको छ भन्नुभयो ।
“नेक्राविसङ्घका कार्यकर्ता र समर्थहरू सबैले निजीकरण अर्थात् पुँजीवादको विरोध गर्नु आवश्यक छ । उत्पादनका मुख्य–मुख्य साधनहरू केही व्यक्तिको हातमा हुने पुँजीवादी व्यवस्थाले व्यापक जनताको हित हुँदैन”, सचिव सुवालले भन्नुभयो ।
निर्वाचनमा सरकारको दुरूपयोग गर्ने, गुण्डा प्रयोग गर्ने, निर्वाचनमा पैसा र सामान बाँड्ने शासक पार्टीहरूले देश र जनताको हितमा काम गर्नेछैनन्, उहाँले स्पष्ट पार्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले विषम परिस्थितिहरूलाई चिर्दै विद्यार्थी कार्यकर्ताहरूले सङ्गठनको गतिविधिहरूलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले विविध रचानात्मक, सिर्जनात्मक गतिविधिहरूमार्फत नयाँ विद्यार्थीहरूको सम्पर्कमा पुगी देशको समसामयिक र राजनीतिक विषयहरूबारे सचेत पार्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेक्रायुसङ्घका पूर्व केन्द्रीय अध्यक्ष प्रकाश श्रेष्ठले भेनेजुयलामा अमेरिकी साम्राज्यवादले गरिरहेको हस्तक्षेप र ल्याटिन अमेरिकामा उठ्दै गरेको साम्राज्यवादविरोधी समाजवादी आन्दोलनको विषयमा पार्षद् सदस्यहरूलाई प्रशिक्षण दिनुभएको थियो । उहाँले प्रजातन्त्रको हवाला दिँदै अमेरिका आफै प्रजातन्त्रको घाँटी निमोठ्न अघि रहेको बताउनुभयो ।
नेक्राविसङ्घका पूर्व केन्द्रीय सचिव नरेश खत्रीले माक्र्स र एँगेल्सले लेख्नुभएको कम्युनिष्ट घोषणापत्रको विषयमा विद्यार्थी कार्यकर्ताहरूलाई प्रशिक्षण दिनुभएको थियो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सबिन ख्याजूको सभापतित्वमा जारी परिषद्मा विभिन्न जिल्ला समितिका प्रतिवेदनहरूमाथि छलफल भएको थियो । कार्यक्रममा नेक्राविसङ्घका उपाध्यक्ष प्रकाश गुरूङले स्वागत गर्नुभएको थियो । परिषद् शनिबार पनि जारी रहने आयोजक समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *