भिक्षु अश्वघोष

यसपालि हामी २५४९ औं बुद्ध पूर्णिमा महोत्सव मनाउने तर्खरमा लागिरहेका छौँ । बुद्धप्रति यसरी श्रद्धा र भक्तिभाव पोख्ने त राम्रै कार्य हो तर वर्षैपिच्छे यसरी महोत्सव मनाइएजस्तै यस दिनको महत्व र अर्थसमेत बुझेर वैशाख पूर्णिमा मनाउन पाए अझ यसको महत्व बढ्ने देखिन्छ । त्यसैले मैले यहाँ वैशाख पूर्णिमाको महत्व र बुद्धवचन विषयमा मेरा केही विचारहरू प्रस्तुत गर्न लागिरहेको छु ।
विशेष गरेर बुद्धकालीन विभिन्न ३ वटा महत्वपूर्ण घटनाहरू वैशाख पूर्णिमाको दिन घटेको कारणले गर्दा वैशाख पूर्णिमाको महत्व बढेको देखिन्छ । ती यसरी छन् –
िलुम्बिनी उद्यानमा एक वृक्षमुनि सिद्धार्थ कुमारको जन्म ।
िबुद्धगयाको पीपल वृक्षमुनि सिद्धार्थ कुमारले बुद्धत्व प्राप्त गरी बुद्ध हुनुभएको ।
ि८० वर्षको उमेर पुगेपछि दुईवटा शालवृक्षमुनि बुद्धको महापरिनिर्वाण (देहावसान) ।
एउटा कुरा स्मरणीय छ, बुद्धकालीन घटनाहरूमध्ये थुप्रै महत्वपूर्ण घटनाहरू दरबार र घरभित्र होइन, खुला आकाशको रुखमुनि घटेका देखिन्छ । वैशाख पूर्णिमाको दिन घटेको यी माथिका ३ वटा महत्वपूर्ण घटनाहरूको साथसाथै बुद्धत्व प्राप्तपछि असार पूर्णिमाको दिन सारनाथको मृगदावनमा खुला आकासको रुखमुनि पञ्चभद्रवर्गीयहरूलाई बुद्धले धर्मचक्र प्रवर्तन गर्नुभई आर्यसत्यको व्याख्या गर्नुभएको थियो ।
यसरी बुद्धकालीन प्रमुख घटनाहरूमध्ये धेरैजसो घटना खुला आकाशको रुखमुनि सम्पन्न हुनुको प्रमुख कारण दरबार र घरको वातावरण प्रदूषित भएकोले हुनुपर्दछ । त्यसैले यो एक अध्ययन गर्न योग्य कुरो हो ।
वैशाख पूर्णिमाको दिन घटेको घटनाहरूको अलावा यस दिनलाई महत्वपूर्ण बनाउनका लागि बुद्धका अमूल्य वचनहरूले अझ बढी प्रभाव पारेको देखिन्छ । यदि बुद्धले बुद्धत्व प्राप्त गर्नुभएपछि उपदेश दिनु नभएको भए वैशाख पूर्णिमाको त्यति महत्व हुने थिएन होला ।
भगवान् बुद्धले बुद्धत्व प्राप्त गर्नुभएपछि सर्वप्रथम सारनाथको मृगदावनमा पञ्चभद्रवर्गीयहरूलाई सम्बोधन गर्नुहुँदै उपदेश दिनुभएको सार सङ्क्षेप यसरी थियो ।
अति विलासिता र मोजमज्जामा भुल्ने (पञ्चकाम सुखरूपी भौतिक सुखमा बेहोशपूर्वक लिप्त रहने) र आफ्नो शरीरलाई अन्यायपूर्वक दुःख कष्ट दिई धर्म गर्ने आदि यी दुई अति मार्गमा लाग्नु मूर्खतापूर्ण कार्य हो । यी दुई अति मार्गलाई त्यागी मध्यम मार्गमा लाग्न सकेमा मात्र हाम्रो जीवन सुखमय हुनेछ ।
चतुआर्य सत्य (दुःखको कारण तृष्णा र तृष्णा नाश गर्न सके दुःख नाश गर्न सकिने र दुःख नाश गर्नको लागि आठ वटा आर्यमार्गहरू (अपनाउनुपर्ने) बारे व्याख्या गर्नुभयो । यही सिलसिलामा उहाँले आर्यअष्टाङ्गिक मार्ग (मध्यम मार्ग) को व्याख्या गर्दै भन्नुभयो – मानिसले आफूलाई सुखी बनाउनको लागि आठ वटा आर्य अष्टाङ्गिक मार्गहरूलाई अपनाउनुपर्छ । ती मार्ग वा बाटाहरू यस प्रकार छन् –
– सम्मादिट्ठि (एक आपसमा ठीक तरिकाले समझदारी हुनुपर्छ ।)
– सम्मासङ्कप्प (एक आपसमा राम्रो नियत र सङ्कल्प राखी काम गर्नुपर्छ ।)
– सम्मावाचा (जुन व्यक्तिसँग कुराकानी गर्दा पनि होसियारीपूर्वक मनमा राम्रो भावना लिएर ठीक तरिकाको बोलीवचन प्रयोग गर्नुपर्छ ।)
– सम्माकम्मन्त (आफ्ना शरीरबाट गरिने कार्यहरू सही र पवित्र मन लगाई ठीक तरिकाले गर्नुपर्छ ।)
– सम्मावायाम (आफ्नो शरीर, वचन र मनलाई खराब कार्यबाट हटाउने र हरेक क्षण न्यायपूर्वक धार्मिक कार्यमा अभ्यासरत राख्ने ।)
– सम्मासति (आफ्नो चित्तलाई हरेक क्षण राम्रो क्षेत्रमा होसियार राख्ने अर्थात् ठीक तरिकाले स्मृतिवान् रहने ।)
– सम्मासमाधि (चञ्चल चित्तलाई हरेक क्षण राम्रो कार्यमा एकाग्र गर्न अभ्यास गर्ने ।)
यसरी यी आठ वटा आर्य मार्गहरूलाई होसियारीपूर्वक अपनाउन सकेमा मात्र हामीले आफ्नो मनलाई सन्तुलनमा राख्न सक्नेछौँ । फलस्वरूप हामीले सङ्कुचित र पूर्वाग्रही बनिरहेको मनलाई मिथ्यादृष्टिबाट मुक्त पारी ठीक बाटोमा ल्याउन सक्नेछौँ । सही समझदारी र राम्रो नियत भएको व्यक्तिले मात्र आफ्नो गल्तीलाई आफैले महसुस गरी आफूले आफैलाई चिन्न सक्नेछ । यस्तो व्यक्तिको मनमा सेवाभावले ठाउँ लिई उसको चित्त शुद्ध बन्नेछ ।
हामीलाई थाहा भएकै कुरा हो, धम्मपदमा उल्लेख भएको बुद्धवचनले भनिरहेको छ– नियत खराब गरी कसैले कुरा ग¥यो वा काम ग¥यो भने गाडा तान्ने गोरुको पछाडि गाडाको पाङ्ग्राले पछ्याउँदै आएजस्तै त्यस व्यक्तिको पछाडि पनि दुःख पछ्याउँदै आउनेछ ।
उदाहरणको लागि एक घटना प्रस्तुत गर्दैछु । एकजना नवयुवक वैद्य रोगीहरूको उपचारार्थ गाउँ गाउँमा घुम्न जाँदा आँखा दुखेकी एउटी महिला भेटेछ । उपचारको कुरा हुँदा यस महिलाले आफ्नो गरिबी र विवशता प्रस्तुत गर्दै भनिछन्, पैसा कति लाग्छ होला ? मैले त औषधिमूलोको लागि प्रशस्त खर्च गर्न सक्दिनँ । यदि तपाईँले मेरो रोग निको पारिदिनुभयो भने मेरो परिवार र मसमेत तपाईँको घरमा दासी बन्नेछु । यसरी आँखाको रोग निको हुने आशा मारिसकेकी त्यस महिलाले सोच्दै नसोची वाचा त गरिन् तर त्यस कुशल वैद्यको अमूल्य औषधिले महिलाको आँखा निको भएछ । आफ्नो रोग निको भएकोमा अचम्म परी खुसी भएकी त्यस महिलाले सोचिन्, “यदि वैद्यले यो कुरो थाहा पायो भने त मसहित मेरा परिवारले उसको दास र दासीको रूपमा जीवन बिताउनुपर्नेछ ।” अब प¥यो फसाद । सोच्दै नसोचिकन वाचा गरेको कुराले पिरोल्यो उनीलाई । अनि यस समस्याबाट उम्कने उपाय सोच्दै नियत बिगार्न थाली र यसरी सोचिन्, “यदि वैद्यले सोध्यो भने मेरो आँखा ठीक भएको छैन भनी दिउँला नि । अनि त त्यसै समस्या हटिहाल्छ नि । किन बेकारको पीर लिई राखेको होला मैले पनि ।”
वैद्य आयो । महिलाले आफ्नो पूर्वयोजनाअनुसार झूठो कुरो गरी दासी बन्ने समस्याबाट उम्कन खोजी । तर, वैद्य चानचुने होइन रहेछ । आँखा जाँच्ने बित्तिकै थाहा पायो उसले त्यस महिलाको आँखा ठीक भइसकेको छ भनेर । महिलाले झूठो कुरो गरेकी कारणले वैद्य रिसायो । तर, वैद्यले आफ्नो सक्कली रूप देखाएन । उसले पनि आफ्नो नियत बिगार्न थाल्यो र त्यस महिलाले आफूलाई छकाएको कारणले उनलाई बदला लिने योजना बनाउँदै उसले भन्यो “बहिनी, यदि तिम्रो आँखा ठीक भएन भने मैले यो असल खालको औषधि ल्याइदिएको छु । यो औषधि राख्नेबित्तिकै तिम्रो आँखा एकदम तेजिलो भई राम्ररी प्रस्ट देख्नसक्नेछौं ।
वैद्यको बहुरूपीय चाललाई बिचरी महिलाले चिन्न सकिनन् । किनभने त्यस वैद्यले राम्रै मुखले राम्रै मिजासले कुरा गरेको थियो । त्यसैले त्यस महिला लोभिइन् र सोच्न थालिन् – ‘त्यस्तो अमूल्य औषधि त राख्नैपर्ला । अनि मेरो आँखा पहिलाभन्दा अझ राम्ररी देख्न सक्नेछ ।’
यति सोची उनीले जब त्यस औषधि आँखामा हालिन्, तब उनको आँखाले देख्न छोड्यो । बिचरी महिला अन्धी बनिन् । यसरी महिलाले नियत बिगारी झूठो कुरा गरेको कारणले उनी अन्धी बन्नुप¥यो ।
महिलाले आफूलाई छकाउन खोजेको झोकमा नियत बिगारी औषधिको रूपमा विष दिने वैद्यले पनि एक दिन अन्धो नै बनी दुःख झेल्नुप¥यो ।
यसरी राग र द्वेषको वसमा परी अज्ञानतावस जसले आफ्नो नियत बिगार्छ, उसले त्यसको फल नराम्ररी भोग्नै पर्ने रहेछ । २५०० वर्ष अगाडिको बुद्धको यो शिक्षा आजसम्म पनि सान्दर्भिक नै रहेको देखिन्छ ।
बुद्धले भन्नुभएको छ, मलाई गाली ग¥यो, मलाई कुट्यो, मलाई हराइदियो र मेरो लग्यो भनी जसले आफ्नो मनमा बारम्बार चिन्तना गर्दैन, त्यस व्यक्तिको मनमा वैरभाव शान्त हुनेछ ।
बुद्धको यस उपदेश ध्रुव सत्य हो । तर, साधारण व्यक्तिको त के कुरा सांसारिक भयदेखि विरक्तिएर आएका धैरैजसो भिक्षुहरूले पनि यस शिक्षालाई पालन गर्न सकिरहेको देखिँदैन । किनभने धेरै गा¥हो छ आफूलाई गाली र आलोचना गरेकोलाई चुपचाप सहने कुरो । अरुले गाली गरेको सहन सकेपछि आफ्नो सम्पतिलाई बाढी, पहिरो, आगो, चोर र सरकारले हरण गर्ने बेलामा सहन नसकी मानिस पागलसमेत बन्न सक्छ । तर, जुन मानिसले यस्तो अवस्थामा पनि आफ्नो चित्त विचलित नपारी सहन सक्छ, ऊ महापुरुष बन्न सक्छ ।
उदाहरणको लागि एकपटक बर्मी सरकारले जनताको सम्पति राष्ट्रियकरण गर्दा थुप्रै साहुमहाजन रोगी बने भने कतिपयले आफ्नो ज्यानसमेत गुमाए पनि । तीमध्ये एक मुसलमान व्यापारीले आफ्नो सम्पति त्याग्न नसकी रुँदा रुँदा आँखा गुमाउन पुग्यो ।
तर, सत्यनारायण गोयन्काले बुद्धको यस उपदेशलाई व्यवहारमा प्रयोग गरी त्याग चित्त बढाउन सकेको कारणले उनी आज विश्व विपश्यनाचार्यको रूपमा महापुरुष बन्न सफल भए । आफ्नो सम्पति राष्ट्रियकरण हुँदा उहाँले कति मन विचलित नपारी भन्नुभयो, ‘घ्यू केमा पोख्यो दालमा पोख्यो । जुन देशबाट कमाएँ, त्यही देशको लागि दिन पाइयो । आफू मर्दा लिएर जाने के छ र ?
यसरी नै म ध्यान गर्न जाँदा एकपटक आगलागी भएको थियो । आगोले ध्यान केन्द्रसम्म नै आक्रमण गर्न लागेको थियो । तर, सरकारी प्रयासले गर्दा समयमा नै आगो नियन्त्रणमा ल्याइयो । थुप्रै घरहरू आगलागी भएका थिए त्यसबेला । तीमध्ये ध्यानकेन्द्रमा सेवा गर्ने एक स्वयंसेवकको घर पनि आगलागीमा परी सखाप भएको थियो । तर, त्यस व्यक्तिले रत्तिमात्र पनि शोक गरेको देखिएन । अनि मानिसहरू अचम्म मान्दै यसको कारण सोध्दा यसरी जवाफ दिए, “संसार अनित्य छ । सबै प्राणी र चीजवस्तु एक दिन नाश हुनका लागि नै उत्पति भएका हुन् । त्यसैले नाश भयो रुनुमा के फाइदा ?’
उनको यस्तो अचम्मको कुरो सुनी प्रभावित भएका ध्यान गर्न आउने व्यक्तिहरूले उसलाई थुप्रै लुगाफाटा र आर्थिक सहायतासमेत दिई मद्दत गरे ।
म पनि बुद्धको यही उपदेशलाई मनन गर्दै बहुजन हिताय बहुजन सुखायको लागि उपदेश दिंदै गर्छु । एकपटक मैले लेखेको बुद्धवाद भन्ने पुस्तकलाई आलोचना गर्दै यो बुद्धवाद होइन, अश्वघोषवाद हो भनी एक वरिष्ठ भिक्षुले आलोचना गरी लेख लेखे । तर, मलाई दुःखी पार्न सकेन । बरु हाँसो उठ्यो यस घटनाले ।
तर, जब आफ्नै चेलाहरूले बेफ्वाँकमा आलोचना गरी मलाई कटु शब्द प्रयोग गरे, त्यसबेला भने मलाई सा¥है दुःख लाग्यो । तैपनि बुद्धको सही वचनलाई स्मरण गर्दै त्यसलाई बिर्सेर शान्ति लिने गर्छु पूर्णरूपमा त होइन ।
बुद्धले भन्नुभएको छ, “अरुले के ग¥यो, के गरेन भनेर अर्काको दोष खोजेर हिंड्नु भन्दा पहिला आफूले के गरेँ के गरिनँ भनी आफ्नो दोष खोज्नु वेश छ अर्थात् अर्काको गल्ती खोज्नुभन्दा अगाडि आफूमा त्यस गल्ती छ वा छैन भनी विचार गर्नु ठीक हुनेछ ।”
तर, आजकल धेरैजसो मानिसहरू अर्काको दोष खोजी चर्चा गर्दै दिन बिताउन पाए ज्यादै रमाइलो मान्ने गर्छन् । म पनि होश गुम्ने बेला यसरी नै अर्काको निन्दा चर्चा गर्न पछि हट्दिनँ । त्यसैले हरेक समय आफूलाई होशियारी नै राख्नुपर्दाेरहेछ, यदि शान्ति र सुख मनपर्छ भने ।
फेरि बुद्धले यसरी भन्नुभएको छ, “अर्काको गाई चराउने गोठालाले दूध पिउन नपाएजस्तै धर्मको कुरामात्र गर्ने तर आचरण गर्न नजान्ने व्यक्तिले धर्मको मीठो रस चाख्न पाउँदैन । तर, अलिकतिमात्र धर्मको कुरा गरेपनि आफ्ना चित्तबाट राग द्वेषरूपी क्लेश हटाई यस लोक र परलोकको चिन्ता हटाउन सक्ने व्यक्तिले धर्मको मीठो र शान्ति फल चाख्न पाउँछ ।”
यसरी बढीभन्दा बढी मानिसहरूको चित्त शुद्ध बनाउनको लागि बुद्धले ४५ वर्षसम्म विभिन्न स्थानहरूमा उपदेश दिनुभई धर्म प्रचार गर्नुभयो । यी अमूल्य शिक्षारूपी उपदेशलाई मानव समुदायले मनन गरी आआिफ्नो आचरणमा प्रयोग गर्नसक्यौँ भने हामीले आ–आफ्नो चित्त परिशुद्ध गर्नसक्नेछौं ।
अझ आफू वरिपरिका मानिसहरू असल र शुद्ध छ भने आफ्नो चित्त परिशुद्ध पार्न बढी सहयोग मिल्नेरहेछ । बुद्धले भन्नुभएको छ, जन्मदा हरेक मानिसले पवित्र मन लिएर जन्मेको हुन्छ । तर, प्रदूषित वातावरणले खराब मनोवृत्तिका व्यक्तिहरूले गर्दा उसको मन बिस्तारै अपवित्र हुनथाल्छ । तर, यसो भए पनि धर्मको सत्सङ्गत र अभ्यास राम्ररी गर्न सकेमा चित्तलाई पवित्र पार्न सकिन्छ । यही सिलसिलामा बुद्धकालीन घटना प्रस्तुत गर्न लागेको छु ।
एकदिन पौष महिनाको कठ्याङ्ग्रिएको जाडोमा एकजना बाहुन बाजे मिरमिरे बिहानीमा नदीको चिसो पानीमा थरथर काँप्दै स्यू …स्यू …… कराउँदै नुहाइरहेको थियो । त्यही समयमा अनाथपिण्डिक महाजनकी दासी पूर्णिका पनि नदीमा पानी भर्न आएकी थिइन् । ‘त्यस्तो मुटु काँप्ने जाडोमा नुहाइराख्ने बाजेलाई देखी अचम्म मान्दै उनीले सोधिन्, “बाजे, म त आफ्ना मालिकहरूले पानी ल्याउन अ¥हाएकोले जाडो सहँदै पानी भर्न आएकी । तर, तपाईँ यस्तो जाडोमा कसले भनेर नुहाउँदै हुनुहुन्छ ? श्रीमतीले फोहोरी भनी गाली गर्लिन् भन्ने पीरले नुहाइरहनुभएको हो कि क्या हो ?”
पूर्णिकाको यस्तो कुरा सुनी बाहुन बाजेले भन्यो, “होइन श्रीमतीको डरले नुहाएको कहाँ हो र ? म त यस नदीको पानीले मेरा पापकर्महरू बगाएर लैजावस् भनेर एकाबिहानै नुहाउँदै छु । तिमीलाई थाहा छैन र ? नदीमा नुहाएपछि पाप बगेर जान्छ भन्ने कुरा ?”
बाहुन बाजेको यस्तो अचम्मको कुरा सुनी पूर्णिका दासी भन्छिन्, “हैन ए बाजे, नदीले पाप बगाएर लान्छ भने त यसले हाम्रो धर्म पनि त बगाएर लान्छ नि । हैन र ? पानीको स्वभाव नै बग्नु र बगाउनु हो भने यसले त सबै बगाएर लान्छ नि । पानीले यो धर्म हो यो पाप हो भनेर कसरी छुट्याउन सक्छ र ? अझ पानीमा बस्ने कतिपय माछा, भ्यागुतो, सर्प र गोहीहरू त मानिसहरूभन्दा पनि धर्मात्मा हुने भए नि । होइन र ? त्यसैले मानिसहरूलाई भन्दा यिनीहरूलाई मान्यता दिनुप¥यो नि त्यसो भए । बाजे, मैले सुनेअनुसार त पानीमा डुब्दैमा धर्मात्मा बन्ने होइन । मुख्य कुरो त आफ्नो चित्तलाई शुद्ध पार्नुपर्छ । बेइमान नबनी इमानदारिताका साथ आफ्नो कर्तव्य पालना गर्नुपर्छ । आफूलाई पनि भलो हुने अरुलाई पनि भलो हुने काम गर्नसक्यो भनेमात्र धर्मात्मा बन्न सकिने रहेछ ।”
पूर्णिकाको यस्तो ज्ञानगुणले भरेको कुरो सुनी बाहुन बाजे त निन्द्राबाट बिउँझिएको मानिसजस्तो टोलाइरहे । अनि बिस्तारै बोल्न थाल्यो, “होइन ए नानी ! तिमीले त ज्यादै गहकिलो र अनौठा कुराहरू गर्दैछौं । कसरी र कहाँबाट सिक्यौ तिमीले यस्ता कुरा ।”
पूर्णिकाले भनिन्, “यी कुराहरू त मैले आफ्नै मालिकको घरमा बसी बसी सिकेकी । हाम्री मालिक (अनाथपिण्डिक महाजन) ले बराबर भगवान् बुद्धलाई भोजन निमन्त्रणा गर्नुहुन्थ्यो । त्यहीबेला बुद्धले ज्ञानगुणका विभिन्न उपदेशहरू दिनुहुन्छ । अनि म पनि मौका पारी फुर्सद निकाली उपदेश सुन्ने गर्छु । त्यही भएर मैले यस्तो शिक्षा जानेकी नि ।”
बाहुन बाजेले सोच्यो, “खै मेरा बाजे बराजुको पालादेखि बुद्धको उपदेश सुन्नु हुन्न भन्ने कुरामात्र सुनिराखेकोले होला, मैले कहिले पनि बुद्धको ज्ञान जान्न पाइएन । तर, आज बल्ल यी पूर्णिका नानीको मुखबाट बुद्धको अमूल्य ज्ञान सुन्ने मौका पाएँ । ज्यादै मनासिव कुरो भन्नु हुँदोरहेछ । बुद्धले त मेरो आँखाको पर्दा नै उघारिदियो यो ज्ञानले त ।”
यति सोची बाहुन बाजे बुद्धको उपदेश सुन्न विहारमा पुगे । बुद्धसमक्ष भएभरको कुरा पोखी ज्ञानगुणका कुरा सुन्ने जिज्ञासा राखे । उनले भगवान् बुद्धबाट अझ बढी ज्ञानगुणका कुराहरू सिक्न सफल भए । मानिसहरू किन पशु बन्छन्, किन राक्षसी व्यवहार गर्छन् । उनीहरू किन प्रेतजस्ता हुन्छन् ? यी सबैको एउटै कारण छ, त्यो हो अशुद्ध र प्रदूषित चित्त । त्यसैले ज्ञानको तहबाट माथि उक्लन र शान्त सुखमय जीवन जिउनका लागि पहिला आफ्ना चित्त पवित्र पार्नुपर्दाेरहेछ । बाहुन बाजेले राम्ररी थाहा पाए, पानीमा नुहाउँदा त शरीरमात्र शुद्ध हुनेरहेछ र मन शुद्धिको लागि बुद्ध शिक्षालाई अर्थात् धर्मलाई व्यवहारमा उतार्नुपर्दाेरहेछ ।
त्यसैले हामीले पनि बुद्ध शिक्षालाई व्यवहारमा उतार्दै आ–आफ्नो चित्त शुद्ध गरी आचरण सुधार्न सिकौँ । अनिमात्र ठीक तरिकाले बुद्ध पूर्णिमा मनाएको ठहरिनेछ ।
(भिक्षु अश्वघोषज्यूको यो रचना आज पनि सान्दर्भिक भएकोले मानिसलाई असल बनाउने बुद्ध शिक्षा पुस्तकबाट साभार गरिएको हो – सं)