भर्खरै :

महत्वपूर्ण कागज सुरक्षा गर्ने कर्मचारी चालकलाई स्थायी गर्नुपर्ने

काठमाडौँ, ३ जेठ । निजामती कर्मचारीलाई देश र जनताप्रति बफादार बनाउन निश्चित भाषाको बर्चश्व र पक्षपात अन्त्य गर्नु आवश्यक छ ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा शुक्रबार सङ्घीय निजामती विधेयक, २०७५ को दफावार छलफलमा उक्त भनाइ राख्नुभएको हो ।
कार्यालय सहयोगी र चालकहरूलाई स्थायी नियुक्ति नदिने र करारमा नियुक्ति गर्ने तथा खरिदारदेखि मुख्य सचिवसम्मका कर्मचारी नियुक्ति गर्ने विधेयकको प्रावधान तलो वर्गको हितमा नभएको उल्लेख गर्दै सांसद सुवालले करारमा खरिदारदेखि मुख्य सचिवसम्म बहालवालाभन्दा राम्रा आउन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
“महत्वपूर्ण कागजपत्रहरू रातिसमेत सुरक्षितसाथ कुर्ने कार्यालय सहयोगी र करोडौँ रूपैयाँ मूल्य पर्ने गाडी चलाउने चालकहरूलाई पनि स्थायी गर्नु आवश्यक छ”, सांसद सुवालले जोड दिनुभयो ।
सांसद सुवालले खुला प्रतियोगिताद्वारा खरिदार ७० प्रतिशत, नासु ७० प्रतिशत, अधिकृत ७० प्रतिशत, उपसचिव ५० प्रतिशत, सहसचिव ५० प्रतिशत इमानदार र योग्य कर्मचारी नियुक्ति गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सहसचिव पद खुला प्रतियोगिताबाट पूर्ति गर्न नमिल्ने विधेयकको प्रावधान उपयुक्त नभएको उल्लेख गर्दै सांसद सुवालले सचिव वा सो सरहका पद पनि खुला प्रतियोगिताबाट पूर्ति गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“सरकारमा गएका पार्टीका कार्यकर्तालाई पक्षपातपूर्ण ढङ्गले कर्मचारी नियुक्ति गरिएसम्म भ्रष्टाचार रोकिने छैन”, सांसद सुवालले जोड दिनुभयो ।
छलफलमा बहालवाला कर्मचारीले खुला प्रतिस्पर्धामा सामेल हुन नपाउने प्रावधान विधेयकमा राख्नुपर्ने प्रस्ताव पनि पेश भयो । बहालवाला कर्मचारी खुला प्रतिस्पर्धाको तयारीमा लाग्ने बेला कार्यालयले देश र जनतालाई दिनुपर्ने सेवा ठप्प हुने गरेको भुक्तभोगीहरूको मत थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *