आधारभूत रूपमा दर्शन नै धर्मको स्रोत हो । सबै दर्शन धर्म होइन, तर सबै धर्म दर्शन हो । अधिकांश धार्मिक दर्शनले वस्तुभन्दा पहिले चेतनाको विकास भएको विश्वास गर्छ । मानिसको चेतनाले समाजलाई रूप दिएको विश्वास गर्ने विचार प्रत्ययवादी दर्शन हो । तर, समाज र परिवेशले मानिसको चिन्तन र चेतनालाई आकार दिएको हुन्छ भन्ने विचार भौतिकवादी दर्शन हो । धर्मको आधार प्रत्ययवादी दर्शन भए पनि सबै धर्मको विकास तत्कालीन समाजको परिणति हो । धर्मको उत्पत्ति आफै भौतिकवादी प्रक्रियामा आधारित छ ।
बुद्ध दर्शनको उत्पत्ति तत्कालीन वस्तुगत परिस्थितिको परिणाम हो । दास व्यवस्था खस्कँदै सामन्तवादी समाजको जग बस्दै गर्दा बुद्ध दर्शनको विकास भएको हो । दास मालिकहरूबाट दासमाथि गर्ने हिंसाको कारण उत्पादन श्रममा भएको क्षति रोक्न बुद्धले अहिंसाको पक्ष लिएका थिए । सिद्धार्थ गौतमले गृहत्याग गर्नुलाई धेरै मानिसले धेरै प्रकारले व्याख्या गरेका छन् । वास्तवमा उनी कोलिय र शाक्य वंशबीच पानीको स्रोतका विषयमा उत्पन्न विवादका कारण आफ्नो राज्यबाट बाहिरिएका थिए । बुद्धसम्बन्धी धेरै कपोलकल्पित कुरा हामी सानै उमेरदेखि सिकाइरहेका हुन्छौँ । बुद्ध दर्शनलाई सरल भाषामा जनतालाई बुझाउन बनाइएका कथाहरूलाई नै बुद्धको व्यक्तित्व र दर्शनको सारको रूपमा बुझ्दा बुद्धको वास्तविक व्यक्तित्व र शिक्षा ओझेलमा पर्दै गएको छ ।
बुद्धलाई कुनै अलौकिक शक्ति वा भगवानको रूपमा बुझ्दा बुद्धकालीन समाजबारे बुझ्न सबभन्दा उपयोगी माध्यम सिद्धार्थ गौतमको वास्तविकता नै बङ्ग्याइएको छ । बुद्धलाई मानिसको रूपमा तत्कालीन परिवेशको सापेक्षमा बुझिनु पर्छ । मानिसलाई भगवान बनाइएपछि ऊप्रति आलोचनात्मक दृष्टिकोणका सबै ढोका बन्द हुन्छन् । आलोचनात्मक कोण बन्द गरिँदा जुनसुकै विषयमा पनि एकपक्षीय हुँदैन ।
संसारलाई हेर्ने आजसम्मकै सबभन्दा वैज्ञानिक दर्शन भनेको द्वन्द्वात्मक भौतिकवाद हो । द्वन्द्वात्मक भौतिकवादले कुनै विषयको एकपक्षीय बुझाइलाई पर्गेल्न आलोचनात्मक कोणलाई विकास गरेको हो । बुद्ध र बुद्धको दर्शन बुझ्न द्वन्द्वात्मक भौतिकवादी कोणबाट तत्कालीन समय, बुद्ध जन्मे–हुर्केको समाज, तत्कालीन आर्थिक, सामाजिक अवस्थाको सापेक्षमा बुझ्न जरूरी छ ।
बुद्ध धर्मको आधिकारिक कृति त्रिपिटक मानिन्छ । तर, बुद्धको अवसान भएको सयौं वर्षपछि मात्र त्रिपिटक लेखिएको हो । समय र परिवेशसँग मानिसको बुझाइमा पनि क्रमशः परिवर्तन हुने गर्दछ । ‘सञ्चार’ शब्दले एक दसकअघि बोक्ने अर्थ र आज त्यसले अभिव्यक्त गर्ने अर्थमा धेरै अन्तर भइसकेको छ । इतिहासमा जनप्रिय व्यक्ति र विचारलाई शासक वर्गले आफ्नो राजनीतिक अनुकूलतामा प्रयोग गरेका धेरै उदाहरण छन् । सम्राट अशोक स्वयम्ले बुद्ध धर्मलाई आफ्नो राजनीतिक अभिष्टका लागि प्रयोग गरिएको इतिहास छ । धार्मिक ग्रन्थको लेखन स्वयम् पनि तत्कालीन शासक वर्गले आफ्नो अनुकूलतामा बङ्ग्याइएका इतिहासमा धेरै दृष्टान्त छन् । त्यसकारण बुद्ध दर्शन र धर्मसम्बन्धी कृतिको तत्कालीन परिस्थिति सापेक्ष आलोचनात्मक अध्ययन र व्याख्या आवश्यक छ ।
बुद्धलाई मानिसको रूपमा बुझ्दा बुद्ध दर्शन र तत्कालीन समयबारे अझ धेरै कुरा ज्ञान हुनेछ । बुद्धलाई रङ्गमा होइन, रङ्गको अर्थ र परिभाषामा खोजिनु जरूरी छ । बुद्धप्रतिको न्याय बुद्धको मूर्ति पूजा र रङ्गको आराधनामा होइन, बुद्धलाई तत्कालीन समयसापेक्षमा बुझ्नु नै बुद्धप्रतिको सम्मान र आदर हुनेछ ।