भर्खरै :

‘चिठी–पत्रमा हरिहर खनाल’ पुस्तक पढ्दा

 सरोजराज गोसाई
“पत्रिका चलाउन कति कठिन हुन्छ, कत्रो आँट र लगन चाहिन्छ अनि कति त्याग गर्नुपर्छ, सो सबै बुझेकाले तपाईंको प्रयासको म प्रशंसक छु ।” प्रस्तुत विचार साहित्यकार हरिहर खनाललाई लेखक कमल दीक्षितले २०४९ मा लेखेको एक पत्रबाट लिइएको हो ।
सामान्यतः व्यक्तिगत पत्र गोप्य रहन्छ । व्यक्तिगत विषय वा निजी सन्दर्भका चिठी सार्वजनिक महत्वका पनि हुन्नन् । यस मानेमा व्यक्तिगत पत्रहरू प्रकाशनयोग्य हुन्नन् । तर, साहित्यकार हरिहर खनालले ‘चिठी–पत्रमा हरिहर खनाल’ पुस्तक सार्वजनिक गरेका छन् । २०७४ साउनमा बजारमा ल्याइएको प्रस्तुत पुस्तक विक्रमाब्दको तीसदेखि ६० दशकसम्म आफूलाई प्रेषित हस्तलिखित पत्रहरूको सङ्कलन हो । हस्ताक्षरको महत्व जति छ, हस्तलिखित पत्रको महत्व उत्तिकै छ भन्दा अत्योक्ति हुँदैन ।
साहित्यकार हरिहर खनालको जन्म विसं २००३ भदौ १२ गते कास्की जिल्लामा भएको थियो । विसं २०२० मा खनाल परिवार चितवन झ¥यो । मूलतः कथाकारको रूपमा चिनिने खनालले शिक्षण सेवा र साहित्यिक सिर्जनालाई आफ्नो कर्मको रूपमा लिए । उनका कविता, कथा, निबन्ध, टिप्पणी, संस्मरण, उपन्यास गरी डेढ दर्जनजति पुस्तक प्रकाशित छन् । खनालले विश्व प्रसिद्ध साहित्यकार म्याक्सिम गोर्कीको जीवनी नेपाली भाषामा अनुवाद गरेका छन् । उनी अनेक साहित्यिक पुरस्कारबाट पुरस्कृत छन् । विसं २०३६ मा साहित्यिक पत्रिका ‘जाँगर’ को सम्पादनबाट उनको सम्पादन यात्रा थालनी भयो । ‘जनसाहित्य’ साहित्यिक पत्रिकाको उनी सम्पादक पनि बने । उनी साझा प्रकाशनबाट प्रकाशित ‘गरिमा’ मासिकका प्रधानसम्पादकको जिम्मेवारी सम्हाल्दै छन् । पञ्चायती निरङ्कुश व्यवस्थाको अवधिमा साहित्यमार्फत परिवर्तनको आह्वान गर्ने काम सरल र सहज हुने कुरै थिएन तर उनी थाकेनन् । प्रगतिशील लेखक सङ्घमार्फत लेखकहरूलाई एकजुट बनाउने काममा पनि उनी सक्रिय थिए ।
एक समयमा भावना, सूचना, सन्देश वा विचारको आदानप्रदान गर्ने एउटैमात्र उपाय चिठी थियो । बदलिँदो समयअनुसार व्यक्तिगत चिठीको लेखन करिब इतिहास बनिसकेको छ । प्रेषकलाई आफ्नो चिठी सम्बन्धित ठाउँमा पुगे नपुगेको थाहा पनि हुँदैनथ्यो । जवाफ पाउन महिनौँ पर्खनुपथ्र्यो । आज समय र परिस्थिति बदलिएको छ । टेलिफोन, इमेल, मेसेज, ट्विट, फेसबुक, वेबपेजलगायत आधुनिक सञ्चारका माध्यममा सर्वसाधारण जनतासम्मको पहुँच पुगेको आजको अवस्थामा चिठीमार्फत सन्देश लेख्ने काम एकखालको ‘झर्को’ लाग्दो बनेको छ । हुलाकीको भरमा कुनै सन्देश पु¥याउने कुरा आजको पुस्ताले समयको बर्बादी ठान्नसक्छ । हुलाकी देख्दा नयाँ खबर आयो कि भनी खुसी हुने दृश्य अब सायदै देखिएला । हरिहर खनाललाई प्रेषित चिठीहरूमा लेखिएका विवरणले इतिहास सम्झाउँछ ।
‘चिठी–पत्रमा हरिहर खनाल’ पुस्तक नयाँ पुस्ताको निम्ति एक नमुना एवम् ऐतिहासिक चिठीसङ्ग्रह हुनसक्छ । पुस्तकमा खनाललाई एक सय एक जना विभिन्न मित्र एवम् पारिवारिक सम्बन्धका व्यक्तिहरूबाट पटकपटक विभिन्न मितिमा प्रेषित चिठीहरू सङ्ग्रहित छन् । खनाल साहित्यिक पत्रिकाको सम्पादक भएको नाताले पनि उनलाई श्यामप्रसाद शर्मा, पारिजात, आनन्ददेव भट्ट, चूडामणी रेग्मी, मनु ब्राजाकी, परशु प्रधान, खगेन्द्र सङ्ग्रौलाजस्ता साहित्यकारहरूले विभिन्न समयमा चिठी लेखेका छन् । प्रस्तुत पुस्तकमा ती चिठी र भावना एक ठाउँमा राख्ने काम भएको छ । पुस्तकले एक समयको साहित्यिक पत्रकारिताको स्थितिको झलक दिएको छ । चिठीहरूमा तत्कालीन अवस्थामा लेखकका दुःख वा समस्या कस्ता थिए भन्ने झल्को पनि पाइन्छ । पत्रमार्फत लेखकहरूले खनाललाई पठाएका आफ्ना वा आफू सम्बन्धित पुस्तक पुगे–नपुगेको, पढे–नपढेको, के–कस्तो लाग्यो भन्नेजस्ता प्रश्न विभिन्न पत्रहरूमा सोधिएको भेटिन्छन् । पत्रपत्रिकाको बिक्री–वितरण व्यवस्थित नहुँदा प्रकाशक तथा लेखकले भोगेका समस्या पनि चिठीहरूमा लेखिएको पाइन्छ । कुनै चिठीमा खनालबाट सम्पादित पत्रिकाको निम्ति सुझावहरू पनि भेटिन्छन् । श्यामप्रसादले विसं २०४८ मा लेखेको एक चिठीमा “लेखक–कविहरूको परिचय दिन थालिएको पनि सा¥है राम्रो बेस छ, यसलाई जारी राखौं,” भनेका छन् । खनालद्वारा सम्पादित पत्रिकामा प्रकाशित साहित्यबारे टिप्पणी गर्दै श्यामप्रसाद भन्छन्, “तपाईँको ‘ओत’ लघुकथा राम्रो लागेको कुरा त भेटमा नै भनेको थिएँ । इस्मालीको कथा ‘डायरी, ऊ र बूढा काका’ पनि निकै राम्रो लाग्यो ।”
नयाँ नयाँ लेखकलाई उत्साहित गर्न सकिए लेखन र साहित्यको विकास हुनेमा दुईमत छैन । स्थापित लेखकलाई मात्र स्थान दिने हो भने नयाँ लेखकले माझिने अवसर नै पाउँदैन । सम्पादकले सम्भावित लेखकको लेखनको जाँचपरख गरिरहनुपर्छ । लेखक आनन्ददेव भट्ट लेख्छन्, “नयाँ लेखकमा जहाँ पनि सानोभन्दा सानो प्रतिभाको झलक पाइन्छ, त्यस्ता रचनाका माध्यमबाट ती लेखकहरूलाई जनसमक्ष ल्याउनैपर्छ ।”
आजभन्दा करिब दुई दसक अगाडिको लेखन र लेखकको हालत के थियो भन्ने बुझ्न परशु प्रधानको एक चिठीमा उल्लेख भएको अंश पढ्नु उपयुक्त हुन्छ । “तपाईँको जस्तै अङ्ग्रेजीमा एक कथासङ्ग्रह प्रकाशित गर्ने मेरो पनि इच्छा छ । २०–३० हजार त लगानी भइहाल्छ । तर, बिक्री गर्ने कहाँ र कसरी ? आफ्नो परेको रकमसम्म उठाउन पाए पनि हुन्थ्यो ।” हिजोको यो यथार्थतामा आज पनि त्यति धेरै परिवर्तन भएको छैन ।
हरिहर खनालका छोरा सुनील खनालले अमेरिका बसेर अमेरिकाबारे गरेको टिप्पणीले प्रस्तुत पुस्तक पढ्न धेरैको ध्यानाकर्षण भएको हुनुपर्छ । “यहाँ अमेरिकाको बारेमा त्यहाँ बसेर पक्कै पनि केही थाहा पाइँंदैन रहेछ । त्यहाँ बसेर सोच्दा त स्वर्ग नै जस्तो लाग्छ । तर, यहाँ त्यस्तो छैन । दुःख नगरी केही पनि हुँदैन ।” विसं २०५४ मा लेखिएको चिठीमा उल्लिखित अमेरिकाको हालतमा आज पनि कुनै परिवर्तन आएको छैन । संरा अमेरिका जाने नेपालीको लस्कर त लागेकै छ, कति बाध्यतावश लाम लागे त कति देखासिकीमा । नेपालमा माहुरीजस्तो बाँचेका मानिससमेत अमेरिकामा झिङ्गा भई मरिरहेका छन् ।
हरिहर खनालका एक भाञ्जाको एउटा चिठीले नेपाली समाजको एक चित्र प्रस्तुत गरेको छ । भाञ्जा ऋषिराम पोख्रेल लेख्छन् , “हाम्रो खलकमा सबैभन्दा दुःखीमै जन्मेको रहेछु, के गर्ने, आमा रोगी हुनाको कारणले मलाई पढ्ने मौका मिलेन । पत्रमा दुःखका कुरा लेखौँ भने कपी नै सिधिएला, कुरा सिधिन्न ।”
पुस्तकमा सङ्ग्रहित चिठीहरू प्रकाशनको निम्ति लेखिएका पक्कै होइनन् । प्रकाशनको निम्ति चिठीका खास लेखक वा प्रेषक स्वयम्को अनुमति भए नभएको बारे पनि कहीँ उल्लेख छैन । कति चिठीमा उल्लिखित प्रेषकका नितान्त कति व्यक्तिगत कुरा जानकारी हुँदा पाठकमा स्वाभाविक चाख बढ्छ भने कति प्रसङ्ग पाठकको दृष्टिमा अनावश्यक लाग्छ । पाठकलाई त्यसो लाग्नु अस्वाभाविक होइन । खगेन्द्र सङ्ग्रौलाले लेखेको एक चिठीमा चितवनको घर घाँडो भएको र बेचिदिन अनुरोध गरेको प्रसङ्ग छ । पुस्तकमा स्वयम् हरिहर खनालबारेको आलोचना वा टिप्पणी समेटिएको चिठी पनि प्रकाशित छ । डा. रविलाल अधिकारीको २०४८ को चिठीमा हरिहर खनाललाई सम्बोधन गर्दै “नेता हुँदैमा कोही ठूलो साहित्यकार हुँदैन र सम्पादक हुँदैमा पनि हुँदैन । ….. उदार बनेर अध्ययनतिर बढी ठोस योगदान पु¥याउने कलमको क्षमता बढाउन खोज्नुहोला ।” भनी सल्लाह पनि दिइएको छ ।
हरिहर खनालले सङ्ग्रह गरेका चिठीहरू पत्रसाहित्य पनि होइनन् । कति चिठीका घटना र प्रसङ्गको सिलसिला नमिल्नुमा पत्र कोर्नेको कुनै दोष हुन्न । प्रेषकले भाषाको स्तरको चिन्ता नगर्नु स्वाभाविकै हो । कति व्यक्तिगत गन्थन सामान्य पाठकको निम्ति आवश्यक अनुभव नहुनु पनि स्वाभाविकै हो । सन्दर्भ बुझ्ने र उतिबेलाको समयको अनुभव गर्नेको निम्ति पुस्तकमा सङ्कलित चिठी पढ्न चाखलाग्दै हुन्छ । नेपाली चिठीको इतिहास केलाउने जोकोहीको निम्ति यो पुस्तक गज्जबको सन्दर्भ सामग्री हो भने साहित्यको स्वाद लिन चाहने पाठकलाई भने पुस्तक रसिलो र पढूँपढूँजस्तो नलाग्न सक्छ ।
राजेन्द्र सुवेदी र रामबाबु सुवेदीको भूमिका र साहित्यकार हरिहर खनाल स्वयम्को मन्तव्यले पुस्तकमा ज्यान थपेको छ । १८८ पृष्ठको ‘जनसाहित्य प्रकाशन’ को पुस्तक ५०० प्रतिमात्र प्रकाशित हुनुले बिक्री सङ्ख्याको कम आङ्कलन मान्न सकिन्छ । मूल्य रु. २५० ग्राहकमैत्री छ !
चालीस वर्षदेखि सुरक्षित राखिएका व्यक्तिगत चिठीहरू सार्वजनिक गर्ने साहित्यकार हरिहर खनाललाई धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *