भर्खरै :

तराईमा किसान आन्दोलन नहुँदा शोषकलाई फाइदा

भक्तपुर, जेठ ४ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको १२ औँ राष्ट्रिय सम्मेलनपछिको प्रथम केन्द्रीय परिषद् शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेपालका कम्युनिष्ट पार्टीहरूले तराईमा किसान आन्दोलन चर्काउन नसक्दा सामन्त र जमिनदारहरूले त्यसको फाइदा उठाइरहेको बताउनुभएको छ । अध्यक्ष बिजुक्छेँले हरेक विद्यार्थी कार्यकर्ताहरूले भाषा, भूगोल र इतिहासबारे राम्रो जानकारी राख्नुपर्ने बताउनुभयो ।
उहाँले परीक्षा उत्तीर्ण गर्नेभन्दा ज्ञान हासिल गर्ने उद्देश्य राखेर पाठ्यपुस्तकसँगसँगै अन्य पुस्तकहरू अध्ययन गर्नुपर्ने बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश सांसद सुरेन्द्रराज गोसाईले एसिया र ल्याटिन अमेरिकी देशहरूमा उठिरहेको समाजवादी लहरले अमेरिकी साम्राज्यवाद आफ्नो अस्तित्व समाप्त हुने त्रासमा रहेको बताउनुभयो । सांसद गोसाईले प्रदेश सरकारको एकचौथाइ बजेट पनि खर्च नहुनु लज्जाजनक विषय भएको बताउनुभयो ।
नेमकिपाका अर्का वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले हरेक नयाँ पुस्ताले पुराना पुस्ताबाट सिक्नुपर्ने बताउनुभयो ।
उहाँले साहित्यसँगसँगै सैद्धान्तिक विषयका पुस्तकहरूको अध्ययनबाटै कार्यकर्ताहरूले ऊर्जा प्राप्त गर्ने बताउनुभयो ।
परिषद्मा कानुन अध्ययन समाजका अनिता जधारीले नेपालमा नागरिकतासम्बन्धी व्यवस्था र समस्या विषयमा प्रशिक्षण दिनुभएको थियो ।
परिषद्ले सङ्गठनका आगामी कार्यक्रम र योजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रस्ताव र केन्द्रीय समितिको प्रतिवेदन पारित गरेको छ । आयोजक समितिका अध्यक्ष सबिन ख्याजूको सभापतित्वमा सम्पन्न परिषद्मा उपाध्यक्ष प्रकाश गुरुङ, सचिव रमेश प्रजापतिलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *