भर्खरै :

सांसद सुवाल ठूली ब्रह्मायणी अनुगमनमा

भक्तपुर, ४ जेठ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवाल र नेमकिपा भक्तपुरका अध्यक्ष न्हुछेभक्त फोंजूले शनिबार स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत चानपा ८, सुडालस्थित ठूली ब्रह्मायणीमा निर्माण भइरहेको सिँढी तथा रेलिङ्गको अनुगमन गर्नुभयो ।
उक्त योजनाअन्तर्गत स्थानीय जनताको सक्रिय सहभागितामा माथिल्लो बाटोदेखि मन्दिरसम्म ३२५ सिँढी, सिँढीको छेउछेउमा रेलिङ्ग र ठाउँ – ठाउँमा विश्रामस्थल निर्माण भएका छन् ।
स्थानीय नारायणप्रसाद दुलाल, गणेशप्रसाद दुलाल, अमृत नेपाल, लोकनाथ दुलाल र विनोद खड्काहरूका अनुसार सांसद प्रेम सुवालको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत विनियोजित बजेट रु. १० लाखको योजनाबाट ऐतिहासिक ठूली ब्रह्मायणीको महत्व बढ्दै अन्य विकासको ढोका पनि खोलेको छ । उक्त योजनाबाट मन्दिरदेखि माथिल्लो बेल्टका खावा, नेपाल गाउँ, पुरी गाउँ, तिमल्सेना गाउँ, दुलाल गाउँ र तल्लो बेल्टका जनतालाई मन्दिरमा आवतजावत गर्न सहज हुने देखिन्छ ।
यस क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न सिँढी बाटोको दायाँबायाँ धुपीलगायतका बिरुवाहरू रोप्नुका साथै रातमा ओहोरदोहोर गर्न सजिलो हुने गरी सडकबत्तीको बन्दोबस्त गर्न आवश्यक पहलको लागि सांसद प्रेम सुवालसँग स्थानीयले अनुरोध गरे । उक्त मन्दिर वरिपरि अतिक्रमित पर्ती जग्गा परेको हुनाले संरक्षण गर्ने कार्यमा पनि सहयोग गर्न स्थानीयले आग्रह गरे ।
सांसद सुवालले जनताको आवश्यकताअनुसार विकास निर्माणमा सक्दो सहयोग गर्ने बताउनुभयो ।
मन्दिरको माथिल्लो भागमा ६४ वटा शिवलिङ्ग स्थापना गरेर मान्छेको मृत्युपछि पशुपतिमा सत्बीज छर्न जाने कार्यलाई यहीँ सम्पन्न गराउने उद्देश्य रहेको स्थानीयले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *