भर्खरै :

थ्रेसहोल्ड पारित गर्ने पार्टीहरू ‘गणतान्त्रिक पञ्चायतवादी’

काठमाडौं, १५ चैत । नेमकिपाका केन्द्रीय सदस्य एवं सांसद प्रेम सुवालले थ्रेसहोल्ड पारित गर्ने पार्टीहरू ‘गणतान्त्रिक पञ्चायतवादी’ हुन् । मङ्गलबार रेडियो मिमिरे ८९.४ मा सञ्चारकर्मी नेपाली बाबुसँगको बहसमा सांसद सुवालले उक्त विचार राख्नुभएको थियो ।
चैत ९ गते संसदबाट पारित भएको थ्रेसहोल्डको प्रावधान नेपालको संविधानको धारा २६९, २७०, २७१ र २७२ को विरुद्धमा रहेकोले खारेज गर्नुपर्ने बताउँदै उहाँले नेपालको संविधानको धारा २७० अनुसार राजनीतिक दललार्ई प्रतिबन्ध लगाउन नपाइनेमा जोड दिनुभयो ।
गणतन्त्रभित्र निर्दलवादीहरू हावी भएकोले थ्रेसहोल्ड लगाएको प्रस्ट्याउँदै उहाँले थ्रेसहोल्ड २०१७ पुस १ र २०६१ माघ १९ को पुनरावृत्ति र पञ्चायतको नयाँ संस्करण भएको स्पष्ट पार्नुभयो ।
राजनीतिक अस्थिरताको कारण साना दलहरू, नभई नेका, एमाले र माओवादी केन्द्रको पालैपालो सरकार चलाउने सहमति र भागवण्डा भएको उल्लेख गर्दै उहाँले चीन, क्युवा र उत्तर कोरियामा थ्रेसहोल्ड छैन तर सरकार स्थिर रहेको र देशले उन्नति गरिरहेको प्रस्ट्याउनुभयो ।

‘जसरी हातखुट्टा हुँदैमा रोबोट मान्छे हुँदैन, त्यसैगरी जतिसुकै मत ल्याए पनि राष्ट्रिय दृष्टिकोण नभएको राष्ट्रिय पार्टी हुनसक्दैन ।’

राष्ट्रिय पार्टी हुन राष्ट्रिय दृष्टिकोण हुनुपर्नेमा जोड दिंदै उहाँले भन्नुभयो –‘जसरी हातखुट्टा हुँदैमा रोबोट मान्छे हुँदैन, त्यसैगरी जतिसुकै मत ल्याए पनि राष्ट्रिय दृष्टिकोण नभएको राष्ट्रिय पार्टी हुनसक्दैन ।’
सरकारमा गएर निर्वाचन घोषणापत्रअनुसार काम नगर्ने पार्टीलाई अर्को चुनावमा उठ्न नपाउने थ्रसेहोल्डको आवश्यकता औंल्याउँदै उहाँले नेका, एमाले र माओवादी केन्द्रको आर्थिक एजेण्डा एउटै भएकोले ती पार्टीहरू, एउटै भए जनतालाई भ्रम नहुने चर्चा गर्नुभयो ।
शासक दलहरूले गरेका भ्रष्टाचार र भागवण्डाको विरोध गरेकै कारण थ्रेसहोल्ड ल्याएको बताउँदै उहाँले अब निर्वाचनको मतअनुसार राज्यकोष भागवण्डा गर्ने प्रावधान ल्याउन लागेकोमा सचेत गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *