भर्खरै :

निर्वाचनको तयारी तीव्र

म्याग्दी, १९ चैत । जिल्ला निर्वाचन कार्यालयले आगामी वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचनको तयारीलाई तीव्र बनाएको छ ।
बहत्तर मतदान केन्द्र निर्धारण गरेको कार्यालयले जनशक्ति व्यवस्थापन, सुरक्षा रणनीतिसम्बन्धी अन्तक्र्रिया र मतदाता शिक्षालाई तीव्र बनाउन थालेको हो । एक नगरपालिका र पाँच गाउँपालिकामा करिब ७२ हजार मतदाताले निर्वाचनमा भाग लिन पाउनेछन् । सोहीअनुसार आन्तरिक तयारीलाई तीव्र पारिएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन प्रक्रियामार्फत छ स्थानीय तहमा दुई सय ३७ प्रतिनिधि चुनिनेछन् ।
हरेक नगर तथा गाउँपालिकामा कायम भएका वडामा वडाअध्यक्षसहित पाँच प्रतिनिधि चुनिने छन् । नगरपालिका तथा गाउँपालिकाका प्रमुख तथा उपप्रमुख पनि सँगै चुनिएर आउनेछन् ।
सुरक्षाको सम्पूर्ण तयारी भने जिल्ला सुरक्षा समितिले गर्ने जनाएको छ । मतदानस्थल भने एक सयको हाराहारीमा पुग्नेछ । एक हजारभन्दा बढी मतदाता भएका ठाउँमा मतदानस्थल बनाउन सकिने प्रावधानअनुसार स्थल थपिँदै जाँदा उक्त सङ्ख्या पुग्ने कार्यालयले अनुमान गरेको छ । एक मतदानस्थलमा सुरक्षाकर्मीबाहेक मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित सात कर्मचारी खटिनेछन् ।
यसैबीच निर्वाचनमा सुरक्षा प्रयोजनका लागि आह्वान गरिएको म्यादी प्रहरीमा भने युवाको विशेष आकर्षण देखिएको छ । जिल्ला प्रहरी कार्यालयबाट नौ सय ९४जनाले दरखास्त दिएका छन् । लिखित, मौखिक र शारीरिक परीक्षणका आधारमा तिनको छनोट गरिने जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख दिवाकर घिमिरेले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *