भर्खरै :

नपढेको वर्ष ०७३

– अश्वत्थामा
क्यालेन्डरको आयु सकिंदै जाँदा यो वर्षका राम्रा/औषत/नराम्रा किताब भनेर छुट्टाउने चलन कहिले कसले कसरी शुरू गर्यो, थाहा छैन । तर लाग्छ, यो एउटा कर्मकाण्ड हो । कर्मकाण्ड मन नपर्ने भएकैले नलेख्ने विचारमा थिएँ । तर ‘दुई हजार किताब छापिए’,  ‘राम्रा दश यी’, ‘फलाना फलाना राम्रा’, ‘फलाना नराम्रा’ आदि इत्यादि लेखेको देखेपछि केही बोलुँ लाग्यो । फेरी पनि यो लेखोट कर्मकाण्डको निरन्तरता होइन ।
नहुर्केका पाठक
पठन के हो ? कसैले सोध्यो/सोच्यो/छलफलमा ल्यायो ? थाहा छैन ।
किताबका अक्षर आँखाले पढेर दिमागमा हुल्नुलाइ मात्र पठन बुझियो भने त्यो निकै साधारण बुझाइ हुनेछ । किनभने पठन एक प्रक्रिया हो जसले समय-स्थानको सन्दर्भ माग गर्छ । किताबका अक्षरहरू पछाडि लेखक उभिएको हुन्छ । उत्तर आधुनिकतावादीहरूले ‘लेखक मर्छ’ भनेर जति हल्लाखल्ला गरेपनि किताबमा छापिएका अक्षर पछाडि उभिने त लेखक नै हो । किताबका अक्षर, शब्द, वाक्य, अनुच्छेद, पाठ लेखकले देखेर, सुनेर, पढेर, छामेर, भोगेर आदि इत्यादि क्रिया गरेर संकलन गरेको ज्ञानको प्रशोधित पुनर्उत्पादन हो । पठन लेखकको त्यही बोधलाई पाठकले बोध गर्ने प्रक्रिया हो । मार्क्सेली भाषामा भन्ने हो भने यो द्वन्द्ववादी प्रक्रिया हो । लेखकले आफ्नो समय-स्थानको फ्रेममा बसेर गरेको बोधलाइ पाठकले आफ्नो समय-स्थानको फ्रेममा बसेर अन्तर्बोध गर्ने प्रयास गर्दछ, त्यही हो पठन । तर, पठन निरपेक्ष छैन जसरी लेखन निरपेक्ष छैन । त्यसैले नै द्वन्द्ववादको सहारा लिइएको हो । लेखकको लेखनस्तरले पाठकको पठनस्तर जसरी निर्माण गर्दछ त्यसरी नै पाठकको पठनस्तरले लेखकको लेखनमा सुधार वा समृद्धिको माग गर्दछ । पठन संस्कृति कमजोर भएको भूगोलमा उत्कृष्ट लेखकको परिकल्पना बन्द शौचालय नबनेको स्थानमा रोगव्याधीमुक्तिको परिकल्पना जस्तै हो ।
विडम्बना ‘निलो चोलि’, ‘देवता’, ‘भ्रमर’, ‘सिस्टर कल्पना’ आदि पढेर हुर्केको पुस्ता बुढो हुँदा पनि नेपाली पाठक अझै हुर्केको छैन । ‘साया’देखि ‘मनसुन’सम्मको दौडमा उस्तै भिड देखेपछि यो समाजले टोल्सटोय, बाल्जाक, चेखव, गोर्की, बोर्सेस, अदिचि, मार्खेज, अमिताभ घोस, उदयप्रकाश, कमलप्रकाश होइन मिलन संग्रौला, अभिमन्यु निरवी, अश्विनी, बज्रेश, सुष्मा खड्काहरू जन्माउँदा किन अनौठो मान्नु ? किन चकित पर्नु ? अनि नगरकोटी एक्लैले ट्रेन्ड ब्रेक गर्छु भन्नुलाई किन नविनताको रूपमा ग्रहण किन नगर्नु ?
नबुझेको नगरकोटी
‘कुमार नगरकोटीजस्ता पढेर समय नष्ट गर्नुहुन्न’ यस्तै आशय पढियो । बकवास लेख्छ, गुदी केही हुन्न; एकथरी टिप्पणी । सतही छ, शब्दको जालझेलमा पाठकलाई झुलाउँछ, समाजबोध गर्नै नदिने प्रतिक्रियावादी लेखक हो; कुनै प्रगतिशिल बुज्रुकको टिप्पणी ।
सत्यको कति पाटा हुन्छन् ?  सत्यलाई कसरी चिन्ने ? नेपाली पाठकमाझ बहस भएकै छैन । न त समालोचक/चिन्तकहरूले ध्यान दिएको नै पाइएको छ । ‘निमा’को गेसपेपर पढेर एसएलसी पास हुनेबाट मास्टर डिग्रीमा उक्लेको पुस्ता गेसपेपरभन्दा माथी उक्लेको छैन अझै । त्यसैले उसलाई हरेक थोक गेसपेपरकै भाषामा भनिदिनुपर्छ । त्यसमा अलिकति भिक्स आँसु खसाउन र अलिकति कमेडी हाँसो फुटाउन भए बोनस ठानिदिन्छ । तर, जब मथिंगल कन्याएर अनुच्छेद र वाक्यका बीचबाट अर्थ खोज्नुपर्ने पाठभित्र छिर्छ उसलाई त्यो कुहिरोको घना जंगल लाग्छ । अनि नगरकोटी कसरी बुझ्छ ?
लेखनका अनेक आयाम छन् । विचारका अनेक रूप । सत्यका अनेक पाटा हुन्छन् । एउटा पाठक जब भ्यालु लोडेड भएर पठन प्रक्रियामा सहभागी हुन्छ उसले मल्टिफोल्डेड कथाहरू बुझ्न जटिल नै हून्छ । नगरकोटी र बजारबीचको समस्याको जड यही नै हो ।
नगरकोटी अस्तित्वलाई केन्द्रमा राखेर शब्द र अक्षरसँग खेल्ने लेखक हो । ‘सामाजिक यथार्थवादले नेपाली साहित्य कमजोर गरायो’,  उ आरोप लगाउँछ किनभने सामाजिक यथार्थवादले मानसिकता र मनोविज्ञान नै फेरिदिएको समाजसम्म उ पुगेकै छैन । शहरीया लेखकको सामाजिक यथार्थवादको बमिटले वाक्क परिस्थितिले जन्माएको नयाँ पात्र हो नगरकोटी । जसको सबैभन्दा ठूलो देन कथा भन्ने काइदामा नयाँ प्रयोग हो । स्ट्रीम अव् कन्ससनेसको पक्का समर्थक हो उ । फ्यान्टासी र यथार्थबीचमा कतै अड्किबस्नु उसको सीमा हो ।
‘घाटमान्डु’ ०७३को त्यो उल्लेखनिय कृति हो जसले नगरकोटी स्टाइललाई अझै बलियो बनायो । र, साथसाथ नगरकोटीको कवि अनुहारलाई चिनायो पनि । फेरीपनि क्याजुअल लेख नै उसको चर्चामा रहे आख्यानभन्दा बढी किनभने उसले आख्यानमा पोत्ने रंगहरू छिचोल्न सक्ने नेपाली पाठक अझै जन्मेको छैन । विडम्बना त को हो भने, एउटा समुदाय अहिले पनि नगरकोटी नपढ भन्ने उपदेश दिएर पुरानै बाटोमा एक्का गुडाइरहेछ मानौं उ अभिशप्त छ त्यसैमा ।
यति नविनताको दुहाइ गरिरहँदा पनि ठूलो समस्या हो, नगरकोटीले आफ्नै परम्परामा भने नयाँ मोड ल्याउन सकेको छैन । पात्रमाथी हावी हुने र कथालाई ट्रयाकमा नहिंडाउने उसको परम्परामा परिवर्तन आवश्यक छ, यदि उसले यो समयको लागि लेखिरहेको छ भने । होइन, भविष्यको लागि वर्तमानमा लेखिरहेको हो भने, उसकै भाषामा भविष्यको कुरा ‘हु नोज् ?’
जब उ आफै आफ्नै वर्तमान प्रति सचेत छैन । उसको भविष्य गन्थन किन पढ्नु ? पढिएन ।
नसमातेको समाज
फूलानी, छाउघर, कम्प, मुदिरदेखि वर्षको अन्तिममा प्रकाशित रेमिटल्यान्ड र टालाटुलीसम्म जति उपन्यास आफूलाई सामाजिक दावा गर्छन्, समाजबोधको प्रखर उदाहरण हुन सकेका छैनन् । हात्ती आतंकको सेरोफेरोमा जसरी उमा सुवेदीले पर्यावरणीय समस्यासँग मानविय जीवन जोड्ने प्रयत्न गरेकी छन्, जसरी हिन्दु-खस समाजको मिथकिय चेतसँग समकालीन सामाजिक खराबीहरू पर्गेल्ने प्रयास गरेकी छन् शारदा शर्माले, जसरी एक पिडित पात्र टिपेर खाडीमा नेपाली दुःखको कथा भन्ने प्रयत्न गरेका छन् मीनराज बसन्तले, जसरी छाउपडी परम्परामा पीडाक्रान्त कैशोर्य उजिल्याउन खोजेका छन् राज सरगमले, जसरी बजार संस्कृतिले ल्याएका अल्झनहरूको प्रभाव सम्बन्धमा देखाउन खोजेका छन् खगेन्द्र लामीछानेले, ती सबै प्रयास आफैमा तारिफयोग्य छन् ।
समस्या हो, हाम्रो सामाजिक अध्ययनकै परिपाटीमा । त्यो समस्या होइन केवल उल्लेखित लेखकहरूको मात्रै, रोग नै हो नेपाली लेखनको । विषयवस्तुलाई समातेपछि जरैबाट समात्नुको अर्थ हो अर्थ-राजनीतिक-ऐतिहासिक प्रक्रियासँग गाँसेर परिघटना र पात्रहरूको चारित्रिकरण गर्नु । कथाको माध्यमबाट बहसमा छिर्नु । बहसलाई कथाले सिंगार्नु । तर, चेर्निशेव्स्कीहरूको परम्परा नभएरै हो सायद हामीले टोल्स्टोयहरू पाएनौं । पल्पसा क्याफेकै बाटो समातेर नै हो हामीले केवल फिचर रिपोर्टको विस्तारित रूप नै आख्यान भन्ठान्यौं ।
मनोविज्ञान समाजले निर्माण गर्छ । सामाजिक मनोविज्ञानले प्रवृत्ति बनाउँछ । नितान्त वैयक्तिक स्वभावहरू पनि सामाजिक गर्भबाटै जन्मिन्छन् । र हरेक सम्बन्धमा कुनै न कुनै प्रकारको शक्ति राजनीतिको प्रभाव हुन्छ । सामान्य लाग्ने यी गुढ रहस्य जबसम्म बुझ्दैन्, कुनै पनि लेखकले सामाजिक विषय समात्नै सक्दैन । त्यसैले ती लेखिका सोह्रै आना सत्य थिइन्, जसले एक कफि गफमा भनेकी थिइन्, ‘समाजशास्त्र र मानवशास्त्रको गतिलो अध्ययन नगरेको व्यक्ति लेखक बन्नैसक्दैन ।’ त्यसमा राजनीति, भूगोल र इतिहास थपौं । दर्शनको चश्मा नबिर्सौं । झन् गज्जब हुन्छ ।
यी सबै नहुँदा नेपाली आख्यान अलिकति आँसु, अलिकति कमेडी, अलिकति सस्पेन्स, अलिकति थ्रिलरको बीचमा एक पात्रको कथा घोलिएको कक्टेल ड्रिंक्स भएको छ । जसबाट समाज नै बुझिन्न, त्यो सामाजिक कथा पढ्नु नै किन ? पढिएन ।
नमेटिएको प्यास
रहर थियो यसपाली युग पाठक, आहुति र सौरभका कृति एकैपटक पढ्ने । दुइ विपरीत ध्रुवका उत्कर्षहरूलाई किताब आकारमै पढ्ने प्यास अधुरै रह्यो । यद्यपि सौरभको पुस्तक बजारमा ओर्लिनमात्र बाँकी भनिएको छ । युग पाठकको पुस्तक छापाखानाको बाटोमै छ क्यारे ।
तृप्ति त पुरा भएन ‘भूराजनीति’ पढेर पनि । न त सन्तुष्ट नै पार्यो ‘नेपालः छिमेक र विश्व’ ले । ‘नेपाली राजनीतिको पुनर्गठन’ पुस्तक कम र घोषणापत्र बढी थियो । नयाँपन थियो ‘शिक्षा र नवउदारवाद’मा । बजारयन्त्र चलाउन नजान्नुको परिणाम ओझेलमा छ अझै । ‘कहर’ अर्को आशलाग्दो पुस्तक थियो जसले रोनाधोना नै भएपनि समाजको गहिराईमा जाने प्रयत्न गर्यो ।
पुराना कथाहरू छापेरै नयाँ बन्न खोज्ने नारायण ढकालको चर्चा के चर्चा ? चर्चा हुनसक्छ रवि थापाको ‘ठमेल’को तर सँगै लतारिएर आउँछ गेल्नर र अरू दुइको पुस्तक पनि । त्यसैले नेपाली भाषामै केन्द्रीत हुनु उपयुक्त ठानियो । जसमा थप अतृप्त पारे शरद पौडेलले जसको ‘लिखे’ले भरिपूर्ण पारेको थियो । त्यसैको सिक्वेल भनिएको ‘तपन’मा त्यो स्वाद नै रहेन । सम्पादक कमजोर परे वा लेखक सुधार्न तयार भएनन् । जब लेखनमा भ्यालु लोड हुन्छ कथा मर्छ, उदाहरण बने ती । जसरी कमजोर सम्पादनको विरूप उदाहरण बन्नपुग्यो ‘पर्फ्युम’ ।
समाज विक्षिप्त छ, विभाजित छ, खोइ सामाजिक परिघटनाको चिरफार ? मुद्धाहरू सतहमा छन् तर आफुखुशी व्याख्या गरिएका, खोइ गहिराईको यथार्थ सहितको व्याख्या ? इतिहास अरू लेख्दिन्छन्, ठेक्कै दिएको छ क्यारे बौद्धिक समुदायले ? त्यसैले त त्यो ‘वरिष्ठ’ पत्रकारको पुस्तक चर्चामा रहन्छ जसले कुत्सित स्वार्थवश कुनै प्रदर्शनको वास्तविकता भन्दा परको अर्को फोटो छाप्न मध्यरातमा सम्पादकिय अधिकार प्रयोग गरेको थियो । जबकि पुस्तकमा उसको मनोलग गन्थनभन्दा बढी पाँइदैन ।
समयले मागेको अनेक थियो र छ तर पाएको त्योभन्दा न्यून छ वा छँदैछैन । त्यसैले त नाजिम हिक्मतको शैलीमा भन्न करलाग्छः ‘सबैभन्दा गतिलो किताब त्यो हो, जुन लेखिएकै छैन । सबैभन्दा उत्कृष्ट कथा त्यो हो, जुन पढिएकै छैन ।’
यद्यपि वर्षको अन्त्यतिर प्रकाशित ‘बेकिङ नेपाल’ नेपाली इतिहास र सामाजिक परिघटनाबारे पश्चिमा संकथनको त्यो चिरफार हो जुन् आफू बाँचेको समयको कथा जान्न चाहने हरेक नेपालीको निम्ति पढ्नु जरूरी छ । त्यसैगरी अर्को सुन्दर कर्म भिमबहादुर पाँडेको पुनःप्रकाशन पनि हो जसलाई विस्मृतिको गर्भमा पुर्याइसकिएको थियो ।
नभने पनि हुने
र, बाँकी बक्यौता ती पाठकलाई नै जो आफूलाई घगडान पाठक भन्ठान्छन् । हातमा लेन्स होइन, माइक्रोस्कोप लिएर बस्छन् ताकि कुनै पनि नयाँ किताब आओस् त्यसको केही न केही कमजोरी सके फेला पारेर, नसके निर्माण गरेर भएपनि धज्जी उडाउन पाइयोस् । र, तथाकथित पाठकको नाममा लाइमलाइटमा कसैगरी पर्न पाइयोस् । निष्कर्ष कसैबारे पनि समय-स्थान र परिस्थितिको आधारमा गरिन्छ भन्ने ती बिर्सन्छन् वा चाहेर पनि सम्झन्न् । अनि प्रश्न गर्छन् – खोइ हाम्रोमा टोल्सटोय र बाल्जाक ? जबकि तिनले सम्झिनुपर्थ्यो पाठक पनि त त्यस्ता छैनन् जस्ता पाठकले राज्य प्रतिबन्धित चेर्नीशेव्स्कीको बृहदाकार राजनीतिक उपन्यासको हाते कपी नै हात-हातमा पुर्याएका थिए ।
 
 
 
 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *