भर्खरै :

मुस्ताङी राजाका सल्लाहकार विष्ट गाउँपालिका प्रमुखमा उठ्ने

मुस्ताङ, ५ वैशाख । पूर्व मुस्ताङी राजा स्व जिग्मेपरवल विष्टका सल्लाहकारका रुपमा काम गरेका इन्द्रधारा विष्टले लोमान्थाङ गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
जिग्मेपरवल विष्टको दुई महिनाअघि काठमाडौँमा उपचारको क्रममा निधन भएको थियो । २०६२÷०६३ पछि वैधानिक रुपमा उपल्लो मुस्ताङमा राजसंस्था हटे पनि स्थानीयले सांस्कृतिक राजाका रुपमा स्व विष्टलाई सम्मान दिँदै आएका थिए ।
यसअघि लोमान्थाङ गाविसको उपाध्यक्ष चुनिनुभएका २५ वर्षसम्म पूर्व राजा विष्टको सल्लाहकार रहनुभएका इन्द्रधारा विष्ट स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लड्न लाग्नुभएको हो । मुस्ताङी राजाको सांस्कृतिक विरासतलाई जीवित राख्न, कोरला नाकाको दीर्घकालीन सञ्चालन, उपल्लो मुस्ताङमा पर्यटन र शिक्षाको विकासका लागि उम्मेदवारी दिन लागेको उहाँको भनाइ छ । “उपल्लो मुस्ताङका जनताको राजसंस्थाप्रति ठूलो आस्था छ, त्यसलाई सांस्कृतिक रुपमा बचाउन जरुरी छ”, उहाँले भन्नुभयो, “जिग्मेको निधनपछि अर्को वर्ष युवराज जिग्मेसिग्मे परवल विष्टलाई सांस्कृतिक राजा घोषणा गर्ने योजना छ ।”
उपल्लो मुस्ताङमा राजसंस्था र पर्यटन एकापसमा जोडिएकाले त्यसलाई जोगाइराख्नुपर्ने उहाँको तर्क छ । लोमान्थाङ क्षेत्रमा गाउँपालिका प्रमुखमा उम्मेदवारी दिने घोषणा गर्ने उहाँ पहिलो व्यक्ति हुनुहुन्छ ।
स्थानीय तहको पुनःसंरचनाअनुसार लोमन्थाङ, छोसेर र छोन्हुप गाविस मिलेर लोमन्थाङ गाउँपालिका बनेको छ । यो गाउँपालिकामा एक हजार ३०० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *