भर्खरै :

निर्वाचन सबै दलका लागि ऐतिहासिक अवसर–गृहमन्त्री

पोखरा, ६ वैशाख । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले आसन्न स्थानीय तहको निर्वाचन सबै दलका लागि ऐतिहासिक अवसर भएको बताउनुभएको छ ।
एक दिने पश्चिमाञ्चलस्तरीय क्षेत्रीय सुरक्षा गोष्ठीको समापनका अवसरमा आज यहाँ उहाँले निर्वाचनमा सबै दल, मतदाता र कर्मचारीहरुको सुरक्षाको प्रत्याभूति दिन सरकार तयार रहेकाले यो महत्वपूर्ण अवसर गुम्न नदिन सवैसँग आग्रह गर्नुभयो ।
वैशाख ३१ गतेका दिन एकैचरणमा निर्वाचन सम्पन्न गर्न सरकार तम्तयार रहेको उल्लेख गर्दै उहाँले तर मधेसी मोर्चा पनि सहमतिमा आए दुई चरणमा पनि निर्वाचन गर्न सकिने धारणा राख्नुभयो ।
मन्त्री निधिले निर्वाचनको मिति कुनै हालतमा सर्दैन भन्दै असन्तुष्ट दलहरुलाई पनि वार्ता गरेर सहमतिमा ल्याउने प्रयास भइरहेको जानकारी गराउनुभयो ।
उहाँले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकाय अहोरात्र खटिरहेको बताउनु भयो ।
गोष्ठीमा पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गतका १६ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *