भर्खरै :

राम विनयका नखुइलिएका कविताहरुको संग्रह ‘म आएको छु’

— रुपकेशरी उलक
२०४७ सालमा प्रथम संस्करणका रुपमा प्रकाशित कवि राम विनयको ‘म आएको छु ’कविता संग्रह पढ्ने अवसर पाएँ । दोस्रो तेस्रो संस्करण बजारमा आयो आएन म अनभिज्ञ छु तर ४७ सालमा सँगालिएका कविताहरुले वर्तमान सम्मनलाई भेट्टाएको पाउँदा कविभित्रको चिन्तनप्रति सम्मान गर्दै कविताहरुभित्र पसेँ । प्रजातान्त्रिक आन्दोलनको ऐतिहासिक दस्तावेज बनेका जम्मा २२ वटा कविताहरुको भाव समस्तिका आधारमा कवि राम विनय प्रगतिवादी, क्रान्तिकारी कवि हुन भनि ठम्याएँ ।
“बाँच्ने उत्साह र उमंगलाई सेलाएर
सडेको नालीको घेराभित्रको कोठामा बन्द भएर
पिँजडाको सुगाको पखेटा कंजिए झै कुंजिएर
सम्पूर्ण भावना सोचाए र विचारहरुलाई
उही थोत्रो न्यास्रो नैराश्यतामा सडाएर
केही खोजे झैँ,केही भेट्टाए झैँ
सक्दै नसकी बाँच्न तैपनि
गर्दै छाम—छाम छुम—छुम अन्धकारमा
बाँच्ने संघर्ष गरेको उसलाई देखेर
परबाट मूल बाटो खन्दै आइरहेका
एउटा बुढोले एकाएक घोषण ग¥यो—
हामीलाई थिच्ने र किच्ने यो पहाडलाई खनेर
किन होचो नपार्ने ?”(घोषण,पृ.१९)
संग्रहका समग्र कविताहरुको वैचारिक प्रतिनिधित्व उल्लेखित कविताशंको कविताले गर्छ । लेखकको वैचारिकता, अठोट र लक्ष्यको आधार ‘घोषणा ’कविताले गरेको छ । पञ्चायती शासन व्यवस्थामा स्वतन्त्रता र वैचारिकताको बन्दी हुन बाध्य चिन्तनशील विचारहरु प्रस्तुत संग्रहमा पाइन्छन् । लाक्षणिक अर्थ बोकेको ‘तातो बाफ’ शीर्षकमा कविले यस्तै लेखे—
“यो सुनसान दिनमा
यो सुनसान ठाउँमा

मेरै कोठाको थर्मसमा बन्दी छु
यसैलाई एउटा संसार मानेर
पर पर धेरै पर,एउटा रुखमा
एउटा काग कराउँदै छ— म प्रष् सुन्दैछु
र गुन्दैछु— बनको चरी रमाउँछन् वनभरी
टाढैबाट म सुनिरहेछु……………..
…………………………………….
हरेक क्रोधित समयको पातामा निडर भै उड्नेलाई
अनन्त चाह छ
तर उड्न नपाई बन्दी छु ।”(तातो बाफ पृ.१)

कवि राम विनय
भियतनामको यद्ध र त्यसका वीर लडाकुहरुको वीरतालाई लिएर लेखिएको “संघर्षमा व्यस्त बूढो भियतनामीको व्यथा एक अभिव्यक्ति” कविताले युद्धकालीन समयको झझल्को दिन्छ भने त्यसैबाट कविभित्रको अन्तराष्ट्रिय चिन्तन पनि परिचित हुन्छ । कविताले इतिहास बोकेको छ । लामो कविताको भाव गाम्भिर्यतालाई बुझ्न गहन विश्लेषणको माग गर्छ ।
“मलाई कविता लेख्ने फुर्सद नै कहाँ र?
म नक्शा कोरिरहेछु
विजयको नक्सा
एक हातमा कोदाले
अर्को हातमा बन्दुक लिएर
पुकार्दै भियतनामी आमालाई”(संघर्षमा व्यस्त बूढो भियतनामीको व्यथा एक अभिव्यक्ति पृ.८)
‘एउटा कथा—एउटा दीक्षा’ आफ्नो थातथलोबाट खेदिएका र सामन्तहरुबाट पिल्सिएका सुकुम्बासीहरुको कथा बोकेको कविता हो ,जहाँ एउटा किसान आफ्नो छोरोको प्रश्नको जवाफममा बोलिरहेका छन् । पहाडका फटाहा शासकहरुबाट ठगिएर तराई झरेका गरिब जनताको व्यथा यसमा छ । सुकुम्बासी जीवनको पीडा र आफ्नो गाउँ घर छोडेर भाग्दा भोगेका पीडा वर्णनले पाठक मन रुवाउँछ । समस्यादेखि भाग्दैमा समाधान नपाइने बरु उल्टै नाना समस्यामा अल्झिने सन्देश यसमा छ । आमूल परिवर्तन विना गरिब जनताले सुखको सास कतै फेर्न पाउँदैनन् भन्ने बुझेका कविको भागेर होइन बरु लडेर आफ्नो आधार बसाल्ने अठोट छ । कथात्मक स्वरुप बोकेको प्रस्तुत कवितामा कविले पहाडबाट ठूलै आशा बोकेर तराई झरेका गरिबहरुको सत्य कथामा कोरेका छन् ।
एउटा पत्र पितालाई कविभित्रको जीवन बोध हो । आफ्नो पिताका छटपटाहट र हैरानीहरुलाई आफूले पनि भोग्नु पर्दाका अभिव्यक्तिहरु यसमा छन् । सायद गरिबीको मारमा पिल्सिएर सामान्य जीवन भोगिरहेका हरेक नेपालीहरुको साझा भोगाइ यसले बोकेको छ ।
पूज्य पिताज्यू—
म पनि अहिले बिस्तारै चाल पाउँदैछु
म पनि अब बुझ्दैछु बिस्तारै कि तपाईँ किन, किन छट्पटाउनुहुन्थ्यो !
किन रिसाएर झोक्किनुहुन्थ्यो
किन आक्रोसित भएर अपमानको विरुद्धमा उठ्नुहुन्थ्यो
…………………………………………………………
मलाई थाहा छ — तपाईँ निरन्तर बगिरहने नदी हो ।
मेरा बा, मलाई लाग्छ, म पनि तपाईँ जस्तै भइरहन्छु ।
गरिब जनताको शासन विना जनताका कुनै पनि पुस्ताले सुख र शान्ति पाउन सक्दैनन् बरु क्रमशः गरिबी र असमानताका पीडाहरु पुस्तान्तरित भइरहेका हुन्छन् र प्रत्येक पुस्ताले त्यसको विरुद्ध लडिरहनु पर्ने हुन्छ । कवितामा कवि यस्तै बोल्छन् ः
“……र म तपाईँलाई, गाउँलाई, देशलाई बिस्तारै बुझ्दैछु
बिस्तारै चाल पाउँदैछु—बिस्तारै बौरिएको विश्वास लिएर ।”
‘म आएको छु’भित्रका प्रत्येक कविताले ऐतिहासिक धरातल र मोड्हरु बोकेका छन् । विभिन्न समयमा रुपरेखा,दृष्टि, अभिनव जस्ता राष्ट्रिय तथा स्थानीय प्रकाशनहरुमा प्रकाशित भइसकेका कविताहरु यसमा रहेका छन् । तात्कालीन समयको विद«ोह, स्वतन्त्रता र मुक्तिको चाहना संग्रहका प्रत्येक कविताहरुको साझा धारणा हो । २०४७ साल नेपाली राजनीतिमा ऐतिहासिक मोड बोकेको साल हो । त्यसैबेला ‘उज्यालो भविष्यका लागि संघर्षशील मुक्तिकामी अग्रदूतहरु प्रति सादर समर्पण ’भनि प्रकाशित गरिएको यस संग्रहले बहुदलीय व्यवस्थाको स्थापनाका निम्ति पु¥याएको योगदानको अनुमान गर्न सकिन्छ ।
इतिहासले साहित्य नबोक्न सक्छ तर साहित्यले इतिहासलाई बोक्छ भने झैँ यसले इतिहाससँगै वर्तमानलाई पनि ब्युँताउने विषयहरु बोकेको छ कारण कविले चाहेको स्वतन्त्रता र समानताको समाज निर्माणले पुर्णता अझै पनि पाइसकेको छैन । हालको अन्योलपूर्ण राजनैतिक परिवेशमा मुक्ति खोजिरहेका गरिब जनताका दिनहरु यसमा ताजै छन् त्यसैले पनि प्रस्तुत कृतिको नयाँ संस्करणको अपेक्षा पाठक मनले गरेको छ ।
लयबद्ध गद्यकविताभित्र सहज, सरल र मार्मिक भावहरु जोडेर परिवर्तित समाजको पक्षमा आवाज उठाउने क्रान्तिकारी कवि राम विनयप्रति हृदयदेखिको सम्मान ।

रुपकेशरी उलक

Leave a Reply

Your email address will not be published. Required fields are marked *