भर्खरै :

‘सेवा गर्दाको आनन्द छुट्टै छ’

(हाम्रो समाजको अग्रगमनमा विभिन्न ठाउँका महिलाहरूले विभिन्न रुपमा उल्लेखनीय योगदान गरेको पाउँछौं । मजदुर दैनिकले ठाउँठाउँका महिलासँग संवाद गर्दैछ । यसै सिलसिलामा भक्तपुरका एक अगुवा महिला कार्यकर्ता कृष्णप्यारी भुजू (जधारी) सँग गरिएको कुराकानीको सार प्रस्तुत गरेका छौं – सम्पादक)
आवश्यकता पर्दा आफ्नो पारिवारिक कामधन्दा छोडेर सामाजिक एवम् राजनीतिक काममा लाग्दा मानिसले सन्तोषको निद्रा सुत्न सक्छन् । सामाजिक सेवा गर्दा प्राप्त हुने आनन्दको अनुभव कसैले सुन्न चाहेको खण्डमा कृष्णप्यारी भुजू (जधारी) लाई भेट्नु उपयुक्त हुनसक्छ । उनी भक्तपुर नगरपालिका हाल वडा नं ५ (साविक वडा नं ११) मा बस्ने कृष्णप्यारी दिदीको रुपमा महिला अगुवाहरूबीच परिचित छिन् ।
जन्म भनपा १ (साविक भनपा १७), भार्वाचो टोल । जन्म साल २०३० असोज ५ गते । कृष्णभक्त र सुनमाया भुजूकी छोरी । रामसुन्दर जधारीसँग विवाह भएपछि कृष्णप्यारी जधारी भाउजू ।
बिहीबार साँझ अन्तर्वार्ताको निम्ति एक अगुवा महिला कार्यकर्ता कमलमैयाँ सुवालको कपडा सिलाउने वर्कसपमा बोलाएको केही समयमै आएकी रहिछिन्, कृष्णप्यारी दिदी । आधा घण्टाको कुराइमा पनि कुनै अधैर्य देखिएन । अभिवादनको आदानप्रदान भयो । अन्तर्वार्ताको पूर्व जानकारी थियो । उनी चनाखो देखिनु स्वाभाविकै थियो ।
कुराकानीको क्रममा दिदीको मनको भावना विस्तारै पोखिन थाल्यो । कुरा थालियो, दिनचर्याबाट । ‘विगत पाँच वर्षदेखि महिला स्वास्थ्य स्वयम्सेविका छु, वडाका सर्वसाधारणको स्वास्थ्यको सामान्य हेरविचारमा सक्दो सहयोग गर्छु ।’ स्थानीय दाजुभाइ दिदीबहिनी उनको घरमा सिटामोल, जीवनजलजस्ता सामान्य उपचारका औषधि लिन आउँछन् । दिदी कहिले खोपका कार्यक्रममा लाग्छिन् । कहिले परिवार नियोजनका अस्थायी साधन वितरण गर्ने काम हुन्छ । विभिन्न रोगको खोप लगाउनको निम्ति स्थानीयलाई घच्घच्याउने जिम्मा पनि महिला स्वास्थ्य स्वयम्सेविकाकै बनेको छ । स्वास्थ्य सेवाको काम गर्न पाएकोमा कृष्णप्यारी दिदी खुसी छिन् । दिदी भन्छिन्, सेवा गर्न पाउँदा चैनको अनुभव हुन्छ ।

सेवा गर्न पाउँदा चैनको अनुभव हुन्छ ।

विवाह अगाडि राजनीतिक रुपमा सक्रिय कति महिला विवाहपछि निस्क्रिय हुन्छन् तर दिदी विवाह पछिमात्र सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय भएकी हुन् । उनले कक्षा १० पास गर्न सकिनन्, गणित एउटामा अनुत्तीर्ण भइन् । घरमा विवाहको कुरा चल्यो र सानो उमेरमै विवाह भयो । ‘पढाइ निरन्तर गर्नुपर्नेरहेछ’, उनलाई अहिले पढ्न नपाएकोमा पछुतो महसुस हुन्छ । उनको राजनीतिक चेतनावृद्धिमा देवर मुक्तिसुन्दरको पनि हात छ । ‘घरमै कति गुम्सिएर बस्नु जस्तो लाग्थ्यो, टोल र छिमेकको खुला हावा खाँदा अलग आनन्द आउँछ,’ उनी थप्छिन् ।
कृष्णप्यारी दिदी २०५४ सालको स्थानीय निकायको निर्वाचनमा भनपा वडा नं ११ बाट प्रत्यक्ष महिला उम्मेदवार थिइन् । निर्वाचनमा हार भयो तर उनको सक्रिय सहभागिता आवश्यक भएको महसुस गरी उनी मनोनीत नगर सभा सदस्य भइन् । दिदीले नगरपालिकाको प्रतिनिधिको नाताले आइपर्ने सबै काम इमानदारीसाथ निर्वाह गरिन् । टोलको विकास तथा निर्माण कार्यमा सक्दो योगदान पु¥याइन् ।
उनी नेमकिपाको जनवर्गीय सङ्गठन नेक्रामसङ्घका गतिविधिमा उत्साहसाथ लाग्न थालिन् । यसै क्रममा २०५६ सालदेखि आफ्नो वडाको महिला इञ्चार्ज भई काम गर्दै आएकी छिन् । निरन्तर र धैर्य नगुमाएर काम गर्नुपर्ने उनको मान्यता यसरी आफ्नै व्यवहारबाट पुष्टि गर्छन् ।
भक्तपुरका कोही अगुवा महिलासँग कुराकानी गर्दा पनि महिला सङ्गठनकै पहलमा महिलाहरूको निम्ति राखिएका स्वास्थ्य शिविरबारे भन्न छुटाउन्नन् । स्वास्थ्य शिक्षा नपाएका महिलाले आफ्नो रोग लुकाउने वा आफ्नो स्वास्थ्य समस्याबारे आफ्नै श्रीमान्लाई पनि भन्न लजाउने गरेको तथ्य हो । आङ खस्ने रोग त्यति विकराल भन्ने कुरा यहाँका अगुवा राजनीतिक कार्यकर्तालाई समेत थाहा थिएन । बेवास्ता गरिएका त्यस्ता महिला रोग एक खालको सामाजिक रोग भएको भन्दै समस्याबारे गम्भीर हुन विशेषज्ञहरूको सुझाव आयो र समय समयमा निःशुल्क शिविर सञ्चालन गरियो । ती शिविरका एक अभियन्ता थिए, कृष्णप्यारी दिदी ।

आङ खस्ने रोग त्यति विकराल भन्ने कुरा यहाँका अगुवा राजनीतिक कार्यकर्तालाई समेत थाहा थिएन । बेवास्ता गरिएका त्यस्ता महिला रोग एक खालको सामाजिक रोग भएको भन्दै समस्याबारे गम्भीर हुन विशेषज्ञहरूको सुझाव आयो र समय समयमा निःशुल्क शिविर सञ्चालन गरियो । ती शिविरका एक अभियन्ता थिए, कृष्णप्यारी दिदी ।

स्थानीय एक महिलाको स्वास्थ्यसँग सम्बन्धित एक घटना उनलाई बरोबर स्मरण हुन्छ । दिदीले स्थानीय एक महिलालाई उनको स्वास्थ्य जाँच गराउन क्यान्सर अस्पताल लगेछन् । विभिन्न परीक्षण गरिसकेपछि क्यान्सर भएको पुष्टि भयो । तत्काल शल्यक्रिया गर्नुपर्ने चिकित्सकको सल्लाह थियो । शल्यक्रिया सफल भयो । ‘अहिले पनि बाटोमा भेट्दा तपाईं मेरो लागि ‘भगवान’ भन्छिन् ।’ यस्तो भन्दै गर्दा दिदीको मुहारमा गर्वको अनुभूति झल्किन्थ्यो ।
दिदीको दिमागमा एउटा अर्को घटना ताजा छ । एक पटकको शिविरमा स्वास्थ्य जँचाउन आउने एउटी अधवैंशे महिलाको पाठेघर खस्ने रोग रहेछ । ती महिलाले कपडाको टालोमा भुटेको मेठी राखेर पाठेघर खस्न रोक्ने प्रयास गरेकी रहेछिन् । यस्तो प्रयोग देख्दा शिविरमा स्वास्थ्य जाँचको क्रममा चिकित्सकसमेत चकित भए । दुर्गन्ध असह्य थियो । तत्काल उनको उपचारको निम्ति अस्पताल पठाइयो । उपचार पाएर ती महिलाले राहत पाइन् ।
दिदीलाई दुःख लाग्छ । टोलमा आजकल पनि एकदुई जना रक्सीका अम्मली छन् । रक्सीको सुरमा झगडा हुने र श्रीमती कुट्ने गरेको पनि पाइन्छ । त्यस्तो अवस्थामा सम्झाई बुझाई गर्न खोज्दा उल्टो असर पर्नेबाट सजग हुनुपर्ने तीतो यथार्थ सुनाउँछिन् दिदी । अम्मलीहरूलाई उपचारमा पठाउन पाए राम्रो हुने आशा छ उनको ।
टोलतिर अल्लारे केटाहरू पनि छन् । पढाइ नगर्ने, काममा जान पनि अल्छि मान्ने । उनी थप्छिन्, ‘त्यस्ता युवाहरूलाई पनि आवश्यक सम्झाइबुझाई अध्ययन वा सीपमूलक कामतिर लगाउन पाए हुन्थ्यो ।’
कुराकानीको सुरुमा के कुरा गर्न जान्याछु र ? को भावमा प्रस्तुत भएकी कृष्णप्यारी दिदीले कुराकानीको अधिकांश समय आफैले खर्च गरिन् । सुरुमा के सोधिने होला भन्ने भाव उनको मुखाकृतिमा झल्किन्थ्यो । तर नाम, जन्म, हुर्काइ, काम गराइका उनका अनुभवको कुरा सोध्दै जाँदा दिदीलाई सहज महसुस गरेको अनुभव हुन्थ्यो ।
सही मानिसको अन्तर्वार्ता लिएको आनन्दाभूति गर्दै कार्यकक्षा फर्किएँ ।
प्रस्तुति : सरोज

Leave a Reply

Your email address will not be published. Required fields are marked *