भर्खरै :

सामाजिक परिवर्तनकी उदाहरण सरिना

नीरज
बैशाख ३१ को स्थानीय तहको निर्वाचनले सरिना द्योलाको जीवनमा ‘ट्वीस्ट’ ल्यायो । एमबीएसको परीक्षा सकेर सरकारी जागिरको निशाना ताक्दै गरेकी सरिनालाई चुनावमा उम्मेदवार बन्ने प्रस्ताव आयो । राजनीति सरिनाको जानकारीसम्मको विषय थियो, लक्ष्य र चाहनाको विषय थिएन । त्यसैले चुनावी मैदानमा उत्र्ने प्रस्ताव उनका लागि त्यत्ति स्वाभाविक थिएन ।
सरिनालाई सबै कुरामा सल्लाह दिने गरेकी दिदी शिवलक्ष्मीले उनलाई उम्मेदवारी दिन हौस्याइन् । दिदी विद्यार्थी छँदा वडाका विद्यार्थी गतिविधिमा लाग्ने गर्थिन् । दिदीलाई हेरी सरिना राजनीतिक कार्यक्रममा निकै कममात्र सहभागी बनेकी छिन् । जान्ने बुझ्ने दिदीले नै हौस्याए पछि सरिनाले आँट गरिन् । सरिना बनिन्– नेपाल मजदुर किसान पार्टीको तर्फबाट भक्तपुर नगरपालिका वडा नं ५ की दलित महिला उम्मेदवार । चुनाव चिन्ह–५ नंको मादल ।
उनीलगायत उनकै समुदायबाट केही महिलाले दलित कोटाबाट स्थानीय तहको चुनावमा उम्मेदवारी दिए पछि समुदायमा एक प्रकारको बहस शुरु भयो–के दलित कोटाबाट उठ्नु ठीक हो वा होइन ? सरिना प्रष्ट छिन्–सरकारी जागिर खाँदा दलित कोटाबाट खान हुने अनि चुनाव लड्दा त्यो भारी हुने कुरा ठीक होइन । कथित ‘दलित’को नाम दिइएको समाजको उपेक्षित समुदायको निम्ति यो एक प्रकारको अवसर हो । यसलाई उपयोग गर्नुपर्ने उनको धारणा छ । उपेक्षितलाई उठ्न दिइएको अवसरलाई कुनै जातसँग जोड्नु गलत हो ।
सरिनाको अग्रसरता धेरैका लागि टाउको दुखाईको विषय नबनेको पनि होइन । तर सरिना आफ्नो मिसनमा पक्का छिन् । चुनावमा प्राप्त विजयसँगै उनको बाटो अझै प्रष्ट हुँदै गएको छ ।

  के दलित कोटाबाट उठ्नु ठीक हो वा होइन ? सरिना प्रष्ट छिन्–सरकारी जागिर खाँदा दलित कोटाबाट खान हुने अनि चुनाव लड्दा त्यो भारी हुने कुरा ठीक होइन । कथित ‘दलित’को नाम दिइएको समाजको उपेक्षित समुदायको निम्ति यो एक प्रकारको अवसर हो । यसलाई उपयोग गर्नुपर्ने उनको धारणा छ । उपेक्षितलाई उठ्न दिइएको अवसरलाई कुनै जातसँग जोड्नु गलत हो ।

उम्मेदवार बनेसँगै उनलाई नेमकिपाका स्थानीय युवा कार्यकर्ताहरुले केही पार्टी प्रकाशनहरु पढ्न दिइन् । हरिबहादुर श्रेष्ठद्वारा लिखित ‘राजनीतिक कार्यकर्ता बन्ने भाइबहिनीलाई चिठ्ठी’ पुस्तक उनका लागि खुराक सावित भयो । राजनीतिक गाह«ो बाटो हो तर अब सरिना यो बाटोमै अघि बढ्नमा तम्सेकी छिन् । ‘यो बाटोलाई निरन्तरता दिने सोचेकी छु । परिवारले पनि यसैमा हौसला दिनुभएको छ ।’
स्थानीय तहको चुनावकै प्रचारको क्रममा एक साँझ हामी पुगेका थियौं–सरिनाको घरमा । उनको परिवारसँग झण्डै आधा घण्टाको बसाईका क्रममा थाहा भएको कुरा साँच्चै भनौं, द्योला समुदायप्रति सामन्ती पुरानो मानसिकताको बुझाईमा चर्को प्रहार सावित भयो । सरिनाका बुवा–आमा सामान्य शिक्षित हुनुहुन्छ ।
उहाँहरुको मुख्य काम इतिहासमा उपेक्षाभावले हेर्ने गरिएको तर आज सम्मानित काम सरसफाई नै हो । तथापि त्यो परिवारका चार सन्तानको पढाईको कुरा सुन्दा चकित पर्ने र खुशी हुने धेरै छन् । कुनै बेला अशिक्षाको पर्याय बन्ने गरेको द्योला समुदायको त्यो परिवारकी ठूली छोरी शिवलक्ष्मीले मेजर इंग्लिसमा एमए गरेकी छिन् । सरिनाले एमबीएसको अन्तिम परीक्षा पार गरिसकिन् । ठूलो भाई अर्जुन ख्वप इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियर बनेका छन् । सानो अरुण सीए पढ्दैछन् ।
सरिनाले आफ्नो प्राथमिक कक्षाहरु स्थानीय द्योला प्राविबाट उत्र्तीण गरिन् । एसएलसी शारदा माविबाट दिइन् । प्लस टु बागीश्वरी उमाविबाट सकिन् । स्नातक ख्वप कलेजबाट पूरा गरिन् । अनि शंकरदेव क्याम्पसबाट स्नातकोत्तर गर्दैछिन् ।
सरिना द्योला प्राविमा पढ्दा कक्षामा ७–८ जना छात्राहरु थिए । तीमध्ये स्नातकोत्तर तहसम्मको यात्रा पार गर्न सरिना र अर्को उनका एक जना संगी मात्र सफल भइन् । कोही पनि छात्र साथीले एसएलसीसम्मको यात्रा पनि पार लगाउन सकेनन् ।
चुनावी प्रचारको क्रममा नेमकिपाका प्रमुख उम्मेदवार सुनिल प्रजापतिले भक्तपुरमा नेमकिपाले प्राप्त गरेका उपलब्धिको चर्चा गर्ने क्रममा धेरै स्थानमा सरिनाको परिवारको उदाहरण दिनुभयो । नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेंले घोषणा गर्नुभएको ‘एक घर एक स्नातक’ अभियान सफल भएको सबभन्दा राम्रो मानक सरिनाको परिवार हो । समाजले उपेक्षित भनेको समुदायको परिवारका नयाँ पुस्ताको यो शैक्षिक उपलब्धि भक्तपुरको समाजमा आएको सामाजिक परिवर्तनको मानक पनि हो । समयले सरिनालाई अब यो अभियानलाई अझै अघि पु¥याउने स्थानमा पु¥याएको छ ।
सरिनाका केही योजनाहरु छन्–आफ्नै वरपर र समुदायको लागि । पानीको समस्या समाधान, सरसफाई र युवा पुस्तामा फैलिएको लागुऔषध दुव्र्यसनी नियन्त्रण र विद्यालय नजाने समस्या समाधानको लागि काम गर्नमा उनी प्रतिबद्ध छिन्– एक जना जनप्रतिनिधिको रुपमा ।
द्योला समुदायलाई कुनै बेला पानी नचल्ने भनी भेदभाव गरिन्थ्यो । विद्यालय पढ्दै खेरी एक जना मिजार साथीको घरमा गएर खाजा खाँदा उनका ‘अदलित’ साथीले गरेको गुनासो सुन्दा सरिना चकित परेकी थिइन् । विचारा त्यो साथीलाई सरिना पनि उसले भन्ने गरेको दलित समुदायकी छोरी भएको थाहा पनि थिएन । थरमा मात्र देखिने त्यस्ता कथित दलितप्रतिको भेदभावका अरु पनि नमीठा अनुभव छन् सरिनासँग । उनको घरनजिकैको धारामा पानी आउँदा आफूलाई अदलित भन्नेहरु पानी लिने आउने तर आफ्नो गाग्रीले द्योलाको गाग्रीले छुन्छ कि भनी पीर मानेको देख्दा सरिनालाई आश्चर्य लाग्थ्यो । तर समाजमा परिवर्तन पनि सँगसँगै आइरहेको अनुभव पनि सरिनाको छ । आज त्यस्तो जब्बर भेदभाव उनले महसुस गरेकी छैनन् ।

  पानीको समस्या समाधान, सरसफाई र युवा पुस्तामा फैलिएको लागुऔषध दुव्र्यसनी नियन्त्रण र विद्यालय नजाने समस्या समाधानको लागि काम गर्नमा उनी प्रतिबद्ध छिन्– एक जना जनप्रतिनिधिको रुपमा ।

चुनावमा प्राप्त सफलताले उनी खुशी छिन् । ‘रमाइलो लागेको छ ।’ हाँस्दै सरिनाले भनिन् । चुनाव जित्नेमा उनी ढुक्क थिइन् । मतगणनामा केही बेर बस्दा उनको आत्मविश्वास अझै बलियो बनेको थियो । ‘मतगणना हलभित्र दोहोरी जस्तै चलेको थियो–एकतिरबाट सबै मादल भनेको सुनिन्थ्यो भने अर्कोतिरबाट सातै छाप मादल भनेको सुनिन्थ्यो । सुन्दा मनै रमाएको थियो ।’
फेसन डिजाइनमा उनको चासो थियो । तर दिदीले नपढी हुन्न भनी हौसाइरहने हुँदा पढाइतिर दिलोज्यान दिइन् । पढाइले दिएको चेतनाले आज नेतृत्वमा पनि पुगेकी छिन् । सिक्न बाँकी धेरै कुरा छन् । तर सिक्ने जाँगर र गर्ने इच्छाशक्ति ज्यँुदो भए सरिनाको युवा मनलाई रोक्ने कसले ? उनले विजयको माला लगाएकोमा टाउको दुखाउनेहरु दुखाउँदै गरुन् । सरिना जनताको प्रतिनिधिको रुपमा लम्किरहनेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *