भर्खरै :

एकमात्र महिला प्रमुखको घोषणा, ‘नमुना नगरपालिका बनाउँछु’

डोटी, २० असार । असार १४ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट दीपायल सिलगढी नगरपालिकामा प्रमुखमा निर्वाचित हुनुभएका मञ्जु मलासीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो ।
७ नम्बर प्रदेशमै एकमात्र स्थानीय तहको प्रमुखमा निर्वाचित हुनुभएकी प्रमुख मलासीले दीपायल सिलगढी नगरपालिकालाई नमुना नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । मञ्जुले भन्नुभयो “यो नगर नमुना नगरपालिका बन्नेछ ।” दीपायल सिलगढी नगरपालिकामा सबै दल, नागरिक र समुदायलाई मिलाएर लैजाने प्रमुख मलासीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आफूले महिला, दलित, पिछडिएका समुदायका पक्षमा काम गर्ने मलासीले बताउनुभयो । मलासीले भन्नुभयो “म, कुराभन्दा पनि काममा विश्वास गर्ने व्यक्ति हुँ, समग्र नगरकोे विकास हुन्छ ।”
दीपायल सिलगढी नगरपालिकाका प्रमुख मात्र होइन शिखर नगरपालिका प्रमुख सीताराम जोशीले पनि नमुना नगरपालिका बनाउने घोषणा गर्नुभएको छ । सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै जोशीले पनि उक्त प्रतिबद्धता ब्यक्त गर्नुभएको हो ।
दुवै प्रमुखले नमुना नगरको योजनाबारे कुनै जानकारी नदिए पनि डोटीका दुवै नगरपालिकाबाट निर्वाचित उहाँहरुले शपथ ग्रहणकै दिनमा नमुना नगरपालिका बनाउने प्रतिबद्धता नागरिक समक्ष व्यक्त गर्नुभएको छ ।
स्थानीय तहको निर्वाचनबाट निर्वाचित दीपायल सिलगढी नगरपालिका प्रमुख तथा उपप्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । डोटीको सबैभन्दा पुरानो नगरपालिकामा निर्वाचित प्रमुख मञ्जु मलासी र उपप्रमुख शिवराज खड्कालाई मुख्य निर्वाचित अधिकृत नरनारायण पौड्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।
दीपायल सिलगढी नगरपालिकाको हलमा आयोजना गरिएको कार्यक्रममा नगरपालिकाका नौवटा वडाबाट निर्वाचित वडा अध्यक्षलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो ।
दीपायल सिलगढी नगरपालिकाका विभिन्न वडाबाट निर्वाचित सदस्यलाई नवनिर्वाचित मञ्जु मलासीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो । निर्वाचित सबै पदाधिकारीले ईश्वर, देश र जनताका नाममा शपथ ग्रहण गरेका छन् ।
डोटी शिखर नगरपालिकामा पनि सोमबारै पद तथा गोपनीयताको शपथ ग्रहण गरिएको छ । नवनिर्वाचित प्रमुख सीताराम जोशी र उपप्रमुख धौलीदेवी रावलले पद तथा गोपनीयताको शपद ग्रहण गर्नुभएको हो ।
शिखर नगरपालिकाका निर्वाचन अधिकृत दमननाथ विष्टले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । नगरपालिकाका सबै वडाबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *