भर्खरै :

गाईजात्रामा व्यङ्ग्यात्मकता हराउँदै

– प्रकाश
हरेक वर्षझैं यस वर्षको गाईजात्रा मङ्गलबार मनाइयो । गाईजात्रा परिक्रमा गर्ने क्रममा एक अधवैसे दाजु भन्दै थिए– गाईजात्रा हाम्रो तन्नेरी अवस्थामा जस्तो माइलो हुन छाड्यो । किन र ? मैले कोट्याएँ । गाईजात्रा भनेकै हँसाउने ख्याल । नाटकको प्रस्तुति हो, व्यङ्ग हो । अहिले त्यस्तो प्रस्तुतिको खडेरी नै परेको छ । न हिजोको सांस्कृतिक बोलमा घिंताङघिसी नाच नाचिन्छ न त कुनै ख्याल नै आएको देखिन्छ ।’
ती अधवैसे दाजुको भनाइमा सत्यता देखिन्छ । हिजो आज गाईजात्राको परिक्रमामा कुनै ख्याल, प्रहसन वा व्यङ्ग्यात्मक प्रस्तुति आएको पाउँदैनौं । आए पनि निकै कम एउटा दुइटा । जनसाधारणलाई व्यङ्ग्यात्मक प्रहसन हेर्न पैसा तिरेर काठमाडौंका कुनै थिएटरमा जानुपर्छ । होइन भने टेलिभिजनका पर्दामा आउने आलोकाँचो हास्य टेलिसृङ्खला हेरेरै चित्त बुझाउनुपर्छ । हुन त कतिपयले देश नै वर्षेभरिजसो गाईजात्रामय भइरहेको बेला किन गाईजात्रा प्रहसन चाहियो ? भनी तर्क पनि गर्छन् । देशका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रका मै हुँ भनाउँदाहरूले प्रदर्शन गर्ने गाईजात्रामा उनीहरूले भनेझैं नै सबथोक उस्तै हो भनी देखाउने गर्छन् । गहिरिएर अध्ययन गर्नेहरूले मात्र उनीहरूको झूट र गाईजात्रा देख्न सक्छन् । तिनीहरूका ती असङ्गत व्यवहारलाई नै जनसाधारणलाई बुझाउनकै निम्ति गाईजात्रे ख्याल, प्रहसन आदिको आवश्यकता छ । त्यसमाथि गाईजात्रा हाम्रो व्यङ्ग्य संस्कृति हो । परापूर्वकालदेखि चल्दै आएको हाम्रो अभिव्यक्ति स्वतन्त्रताको दिन हो । न जहाँनियाँ राणा तानाशाहीले त्यसलाई रोक्न सक्यो न त तीसवर्षे निरङ्कुश पञ्चायती शासनले नै बन्द गराउन सक्यो । उल्टो राणा र पञ्चायती शासकहरू नै गाईजात्रे ख्यालको तारो बने । गाईजात्रे प्रहसन भएर जनतामाझ नाङ्गिए । तसर्थ गाईजात्रालाई व्यङ्ग्यमय बनाउने सम्बन्धमा सरोकारवाला सबैले मेहनत गरौं । हाम्रो संस्कृतिको प्रगतिशील विशेषता जोगाऔं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *