भर्खरै :

तराईमा बाढीः दैवी प्रकोप कि भारतीय दोष

सत्याग्रही डा.गोविन्द केसीले तराईमा ‘दैवी प्रकोप’का कारण आफ्नो अनसन स्थगित गरे । तर के साँच्चै तराई जलमग्न हुनु वास्तवमै दैवी प्रकोप थियो ? तराईका जनताले आज जे जति समस्या भोगिरहेका छन्, के त्यो कुनै देवदेवी क्रोधित हुनाको परिणाम हो ? चिकित्साशास्त्र विज्ञान हो । कोही व्यक्ति रोगी बन्नु वा स्वस्थ हुनु अथवा कसैको रोग निदान हुनुको कारण हुने गर्दछ । कुनै अलौकिक शक्तिको कृपा वा आक्रोश रोगको कारण बन्न सक्दैन । चिकित्साशास्त्रले यही भन्छ । तर एक जना चिन्तनशील चिकित्सकले तराईको विपत्तिलाई दैवी प्रकोप भन्नु पछाडिको कारण के हुन सक्छ ? त्यसको भौतिक कारणतिर नलागेर हुँदै नभएको भगवानलाई दोषारोपण गर्नु पछाडिको ‘लजिक’ के हुन सक्छ ?
कुरा प्रष्ट छ, भारतले नेपालको सीमावर्ती क्षेत्रमा बनाएका बाँध र तटबन्धहरू नै आज तराई डुवानमा पर्नुको मुल कारण हो । अन्तर्राष्ट्रिय मान्यता विपरीत बनाइएका ती बाँध र तटबन्धले नदीको प्राकृतिक वहावलाई अवरोध गर्दा स्वाभाविक रूपमा डुवान भएको हो र त्यसको दुःख नेपाली जनताले भोग्नु परेको हो ।
नदीको भेललाई भारतले बनाएका बाँध र तटबन्धले छेक्यो र त्यही कारण पानी जमेर नेपाली भूमि जलमग्न बन्यो । बाढीले जनताको घर खेत बगायो । समस्या बाँध र तटबन्ध हुन् र समाधान तिनलाई भत्काउनु हो । कुरा सिधा छ । तर यो सिधा कुरालाई गोलमटोल गरेर कुनै भगवानलाई दोष लगाएर समस्याको जडमा पुग्न नखोज्नु पछाडिको ‘लजिक’ के हो ? यो कसैको विश्वाससँग मात्र सीमित कुरा होइन, बरू नियतसँग पनि जोडिएको कुरा हो । दैवलाई दोष लगाएर भारतले बनाएका तटबन्ध र बाँधलाई वैध बनाउनु धुर्तता हो । प्रष्ट कुरालाई लुकाएर विषयान्तर गर्नु नियतको गडबडी हो ।
विपद्मा परेका तराईका जनतालाई सहयोग गर्न राजधानीलगायत विभिन्न ठाउँमा विभिन्न संस्थाले राहत संकलन कार्य भइरहेको खबर आइरहेका छन् । निसन्देश तराईका जनताको आहतमा राहतको मल्हम लगाउनु मानवता हो, देशबासीप्रतिको सद्भाव हो । तर तराईमा आज हामी जे देखिरहेका छौं, त्यो भूकम्प जस्तो विपत्ति होइन । तराईमा बाढी र डुबानको समस्या भूकम्प जस्तै अचानक आउने र अहिलेसम्म विज्ञानले रोक्न नसकेको विपद् होइन । हरेक वर्ष तराईमा बाढी आउँछ र डुबान हुने गरेको छ । यसको कारण कुनै प्राकृतिक होइन । बरू मानवीय नै हो । भारतले बनाएका बाँध र तटबन्ध नै यो समस्याका कारक हुन् । त्यस कारण राहत संकलनमा हिंडेका जो कोहीले मनभित्र मानवता मात्र होइन, यसको स्थायी समाधानको लागि भारतीय बाँध र तटबन्ध भत्काउने अठोट पनि बोकेर हिंड्न जरुरी छ ।
भारतकै कारण हाम्रो भूमि डुब्ने अनि जनताले दुःख पाउने र हामी हरेक वर्ष राहतको पोका बाँडेर आफ्नो कर्तव्य पूरा भएको भ्रममा बस्ने ?
भारतले बनाएका बाँध र तटबन्ध भत्काउन आवाजलाई नेगेटिभ पोलिटिक्स देख्ने अनि तराईमा राहतको पोका बोकेर जानुको मानवता काँचो धागो जस्तै कमजोर मानवता हो । राहतको लागि अघि बढाउने हात भारतले बनाएका बाँध र तटबन्ध भत्काउन मुठ्ठिमा बद्लिए मात्र खास समाधान आउन सक्ला । तर यसलाई दैवी प्रकोप भन्ने झुट बोल्ने अनैतिकता भने कसै गरी क्षम्य हुनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *