भर्खरै :

नेपाल इन्जिनियरिङ कलेजको निजीकरण

भक्तपुर, १ भदौ । अन्ततः नेपाल इन्जिरियरिङ कलेज (नेइक) निजीकरण गरिएको छ । सामाजिक संस्था दर्ता ऐनअन्तर्गत सञ्चालित नेइक निजीकरण गर्न चलखेल भएको २०७१ सालमै मजदुर दैनिकले समाचार प्रकाशित गरेको थियो ।  भक्तपुरको चाँगुनारायण नगरपालिका दुवाकोटमा सञ्चालित कलेजको निम्ति तत्कालीन चाँगुनायराण गाविसले १ सय ७४ रोपनी जग्गा दिएको थियो ।  कलेजका एकजना स चालक समितिका सदस्य सलिल भट्टराईका अनुसार २०७४ वैशाख २५ गते लम्बोदर न्यौपानेको नाममा नेपाल इन्जिनियरिङ कलेज प्राइभेट लिमिटेड कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको हो ।
लम्बोदर न्यौपानेले कलेजका सञ्चालकहरू राम रत्न उपाध्याय, सूर्यबहादुर के.सी., लवराज भट्टराई, उपेन्द्र गौतमको गोप्य स्वीकृति लिई आफ्नो नाममा नेपाल इञ्जिनियरिङं कलेज प्राइभेट लिमिटेड कम्पनी रजिस्ट्रारको कार्यालयबाट दर्ता गरेका हुन् । नेपाल इञ्जिनियरिङ कलेजको सम्पत्ति व्यक्तिको लागि वितरण गर्ने विवादास्पद निर्णय भएको छ । संस्थाको कोषमा रहेको करिब १० करोड रूपैयाँ सञ्चालकहरूका नाममा बाँड्ने निर्णय भएको हो ।  यसैबीच कलेजको खातामा रहेको रकममध्ये सात जना सञ्चालकलाई एक करोड ५० लाख रूपैयाँका दरले बाँड्ने निर्णय गरेको कान्तिपुर अनलाइनले सार्वजनिक गरेको छ । केही सञ्चालकहरूले रकम भुक्तानी समेत पाइसकेका छन् । निर्णयमा सलिल भट्टराईले मात्रै असहमति जनाएका छन् ।
२०६० साल भदौ ४ गते जिल्ला प्रशासन कार्यालयले कलेजलाई ५५२ नम्बरमा सामाजिक संस्था दर्ताको प्रमाणपत्र प्रदान गरेको थियो । यसै विषयमा सामाजिक सञ्जालमा प्रश्न गरिएको छ, चाँगुनारायण नगरपालिका (तत्कालीन चाँगुनारायण गाविस), गैरसरकारी संस्थाको स्वीकृति दिने भक्तपुर जिल्ला प्रशासन, सम्बन्धन दिने पोखरा विश्वविद्यालय, नियमित अनुगमन गर्ने नेपाल इञ्जनियरिङ काउन्सिल के हेरिरहेको छ ? कलेजमा हाल करिब २ हजार विद्यार्थी अध्ययनरत छन् । पोखरा विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तर तहमा विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । एउटै इन्टेकमा ४ सय ८० विद्यार्थी भर्ना गर्ने नेपाल इञ्जिनियरिङ कलेज निजी क्षेत्रको पहिलो कलेजको रूपमा २०५० सालमा स्थापना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *