भर्खरै :

स्मार्टभन्दा भ्रष्टाचारमुक्त सहर सान्दर्भिक

भक्तपुर, १० भदौ । स्मार्ट सिटीभन्दा पनि राम्रो सहर वा हरियाली सहर र भ्रष्टाचारमुक्त सहर भनी नेपाली नामकरण गर्नु सान्दर्भिक हुन्छ ।
इञ्जिनियर समाज नेपालको आयोजनामा ख्वप इञ्जिनियरिङ कलेजमा शनिबार सम्पन्न ‘नेपालमा स्मार्ट सिटीको अवधारणा र सन्दर्भ’ विषयक प्रवचन कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले उक्त विचार व्यक्त गर्नुभएको हो ।
स्मार्ट सिटी, स्याटेलाइट वा मेघा सिटीजस्ता विदेशी नाम राख्नु उपयुक्त नहुने र सरकारमा गएका नेताहरू मुखले ‘देश र जनताको सेवा’ भन्ने तर व्यवहारमा नगर्ने भएकोले स्मार्ट सिटी नामाकरण उपयुक्त नहुने उहाँले बताउनुभयो ।
देशको भूगोल, सिमाना सङ्कटमा परिरहेको, भारतले बनाएका अनियमित बाँधका कारण तराईको ८० प्रतिशत भूभाग डुवानमा रहेको र नेपालमा भारतको माइक्रो म्यानेजमेन्टसहित हस्तक्षेप बढेकोलाई विरोध गर्दै उहाँले ७० लाख युवाहरू विदेशमा पठाएर स्मार्ट सिटीको अवधारणा ल्याउन नहुने बताउनुभयो ।
सन् १९५० देखि १९५३ सम्म भएको कोरियाली युद्घमा अमेरिकाले बम फालेर ध्वस्त पारेको प्रजग कोरियाले ६५ वर्षको अवधिमा समाजलाई बुद्घिजीवीकरण गर्ने लक्ष्य लिएर देश र जनताको विकास गरेको बताउनुभयो ।
प्रजग कोरियाको प्रगतिबारे पश्चिमा सञ्चार माध्यमले झूठा हल्ला फैलाएको चर्चा गर्दै सांसद सुवालले गगनचुम्बी सहरहरूको विकास, हाइड्रोजन बमको सफल परीक्षण र अमेरिकी साम्राज्यवादलाई मुखभरिको जवाफ दिंदै प्रजग कोरिया अगाडि बढिरहेको बताउनुभयो ।
भ्रष्टाचार र कमिसनमा चल्ने देशले स्मार्ट सिटी नामकरण गरेर सफलता नपाउने बरु समाजवादी सरह नामकरण गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
काठमाडौं विश्वविद्यालयका प्रा.डा. मनिष पोखरेलले सूचना प्रविधिको अधिकतम प्रयोग गरिकन सबैको पहँुच हुने गुणस्तरीय जीवनसहितको सहर नै स्मार्ट सिटी हुने बताउनुभयो ।
आजको समयमा सम्पत्ति, शिक्षा तथा पद हँुदैमा स्मार्ट बन्ने नभई जोसित सूचना छ र तत्काल निर्णय गर्ने क्षमता राख्दछ उही स्मार्ट हुने विचार उहाँले व्यक्त गर्नुभयो । सबै क्षेत्रमा स्मार्टपन खोजे कतै पनि सफल नहुने भएकोले नगरपालिका, विश्वविद्यालय, स्थानीय समुदायहरूले आफ्ना आवश्यकताहरू पहिचान गर्दै त्यसलाई प्राथमिकता क्रममा राख्नुपर्ने र सूचना प्रविधिको प्रयोगबाट त्यसको समाधान हुन्छ भने त्यसतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो ।
इञ्जिनियरिङ अध्ययन संस्थान, आर्किटेक्चर विभागका डा. संजय उप्रेतीले विभिन्न देशमा भइरहेको स्मार्ट सिटीबारे चर्चा गर्दै उहाँले नेपालमा स्मार्ट सिटी सन्दर्भमा भइरहेको अध्ययन अनुसन्धानबारे जानकारी दिनुभयो । उहाँले तत्काल स्मार्ट सिटी बनाउनेभन्दा पनि आधारभूत आवश्यकताहरू – शिक्षा, स्वास्थ्य, रोजगारी, सरसफाइ, पिउने पानीलगायतको बन्दोबस्तसहितको प्रारम्भिक सहर निर्माण गर्नुपर्ने र त्यसपछिमात्रै दिगो सहर वा स्मार्ट सिटीमा जान सकिने बताउनुभयो ।
नेपालमा मध्यकालीन युगमै दिगो सहरको बन्दोबस्त रहेको बताउँदै सूचना प्रविधियुक्त स्मार्ट सहर बनाउनेतर्फ प्रयास थाल्नुपर्ने उहाँले औंल्याउनुभयो । लुम्बिनीलाई स्मार्ट सिटी बनाउने सरकारको योजनाअनुसारको प्राविधिक टोलीको नेतृत्व गरिरहनुभएका डा. उप्रेतीले नयाँ सहरलाई स्मार्ट सिटी बनाउने वा अहिलेका विद्यमान सहरहरूको आवश्यकता पूर्ति गर्दै समग्रमा स्मार्ट सिटीको अवधारण लागू गर्ने छलफलको विषय भएको बताउनुभयो ।
स्मार्ट सिटीमा सबै जनता शिक्षित हुने र सूचना प्रविधिमा आधारित रहेर उच्चकोटीको सहरी जीवनस्तर उपलब्ध हुने भएकोले त्यस्तो दिगो सहर निर्माणको लागि हाम्रा आधारभूत आवश्यकताहरू अर्थात् विद्यमान परिस्थितिको वास्तविकता निकै चुनौतिपूर्ण रहेको बताउनुभयो ।
समाजका अध्यक्ष इ. रवीन्द्र फोजूको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहभागीहरूबीच स्मार्ट सिटीबारेमा जिज्ञासा एवं अन्तरक्रिया भएको थियो । कार्यक्रममा समाजका अमोद उलक र रविन कासुलाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *