भर्खरै :

ई–सेवाप्रति बढ्दो आकर्षण

तेह्रथुम, २१ असोज (रासस) ः नेपालमा ‘डिजिटल पेमेन्ट’ सेवा प्रदान गर्दैआएको कम्पनी ई–सेवा पहाडी जिल्ला तेह्रथुममा पनि प्रभावकारी बन्दै गएको छ । सुरुमा छिटपुट रुपमा मात्रै प्रयोग हुने ई–सेवाको अहिले ग्राहक बढेका छन् ।
छिटो, छरितो र सरल ढंगले प्रयोग गर्न सकिने यो सेवाप्रति ग्राहकको आकर्षण बढेको हो । तेह्रथुमका सदरमुकाम म्याङलुङ, जिरिखिम्ती, वसन्तपुर, लसुने, संक्रान्तिलगायत बजारमा ई–सेवा ‘अनलाइन पेमेन्ट’ सर्वत्र छ ।
तेह्रथुममा यो सेवाबाट प्रति महिना कम्तीमा रु ३० लाखको कारोबार हुने गरेको ई–सेवा जोन रोशन मोबाइल एण्ड गिफ्ट हाउसका प्रोपाइटर रोशन श्रेष्ठले बताउनुभयो ।
‘जिल्लामा ई–सेवाप्रतिको आकर्षण ह्वात्तै बढेको छ, श्रेष्ठले भन्नुभयोे, “बजारदेखि गाउँ–गाउँसम्म ई–सेवाका ग्राहक छन् । उनीहरुले मासिक न्युनतम रु चार सयदेखि अढाई लाखसम्म कारोबार गरिरहेका छन् । ई–सेवा जोन चलाएका श्रेष्ठ एक्लैले अहिले मासिक लगभग रु चार लाखको कारोबार गर्छन् ।
जिल्लामा ई–सेवामार्फत विशेषगरी मोबाइल रिचार्ज, टेलिफोन बिल, इन्टरनेट बिल, डिसहोम रिचार्ज, सिसी टिभी रिचार्ज र हवाई जहाज टिकट हुनेगरेको छ । त्यस मध्येपनि सबैभन्दा बढीले मोबाइल रिचार्ज गर्ने गरेको जिरीखिम्तीका ई–सेवा प्वाइन्ट प्रकाश राईले बताउनुभयो ।
राईले पनि मासिक अढाई लाखसम्म ई–सेवामार्फत कारोबार गर्ने गरेका छन् । ई–सेवामार्फत मोबाइल रिचार्ज, पोष्टपेड बिलिङ, इन्टरनेट बिलिङ, हिडहोम रिचार्ज, हवाईजहाज टिकट, बस टिकट गर्न, क्रेडिट कार्डमा रकम जम्मा गर्न, कलेज, स्कुलको शुल्क बुझाउन र बजारमा सपिङ गर्न सकिन्छ । ई–सेवा उपयोगबाट उपभोक्ताले सेवा तथा वस्तु खरिद गर्दा नगद छुट पाउने छन् भने समयको बचत पनि भइरहेको छ ।
शहरी क्षेत्रमा ई–सेवाको प्रयोगपछि विद्युत्, टेलिफोन र खानेपानीको बिल भुक्तानी गर्दा लामो लाइनमा पनि बस्नुपर्दैन् । गाउँमा पनि ई–सेवामार्फत मोबाइल रिचार्ज मात्रै गर्दा पनि रिचार्ज स्क्रयाच गरेर पिन नम्बर लगाउने झन्झट नहुने गरेको सेवाग्राही बताउँछन् ।
ई–सेवा एकाउन्ट खोल्न अंग्रेजी ‘आरइजी’ टाइप गरी २१२१ मा एसएमएस गर्न सकिन्छ । साथै ई–सेवाको एजेण्ट कहाँ गएर पनि तुरुन्तै एकाउन्ट खोल्न सकिने रोशन मोबाइल एण्ड गिफ्ट हाउसका प्रोपाइटर श्रेष्ठले बताउनुभयो । इन्टरनेट चलाउने सर्वसाधारले भने धधध. ई–सेवा डट कम डट एनपीमा गएर पनि एकाउन्ट लग अन गर्न सक्नेछन् ।
ई–सेवाको एण्ड्रोइड, आइओएस एप्ससमेत उपलब्ध छ, यीएप्स स्मार्टफोनमा डाउनलोड गरेपछि सजिलैसँग चलाउनसक्ने सुविधा उपलब्ध छ । ई–सेवा उपयोग गरे वापत सेवा तथा वस्तु खरिदमा कुनै शुल्क लाग्दैन । उपभोक्तालाई रजिष्टे«सन गर्न पनि शुल्क लाग्दैन । इसेवाका सम्पूर्ण सुविधा निःशुल्क छन् । यो सेवाको प्रयोगबाट उपभोक्ताले समय र पैसाको बचत गर्न सक्छन्, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *