भर्खरै :

‘साम्राज्यवादको विरोध नगर्नेहरु कम्युनिष्ट होइनन्’ (भिडियोसहित)

भक्तपुर, २६ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले अपराधी, कालाबजारी, जालीफटाहा, तस्कर आदि सबैलाई पार्टीको सदस्य बनाउने र चुनावमा मनोनीत गर्ने एमाले, माओवादी पार्टीहरू नक्कली कम्युनिष्ट हुन् भन्नुभएको छ ।
बिहीबार सगरमाथा टेलिभिजनको एसटीभी च्याट कार्यक्रमका प्रस्तोता जीवराम भण्डारीसँगको अन्तर्वार्तामा बोल्दै अध्यक्ष बिजुक्छेंले चुनाव जितेर पूँजीवादी सरकारमा गई शासन गर्ने उद्देश्यले कम्युनिष्ट एकताको झूटो कुरा भएको बताउँदै विस्तारवाद र साम्राज्यवादको विरोध नगर्ने पार्टीहरू कम्युनिष्ट हुन नसक्ने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेंले भन्नुभयो –‘गणपुरक सङ्ख्या नपुग्दा पनि धमाधम विधेयक र नीतिहरू पास गर्दै लानु सभामुखको अकर्मण्यता हो । त्यसलाई समर्थन गर्दै एमाले चुप लागेर बस्नु प्रमुख प्रतिपक्षको धर्म होइन । संसदमा नेमकिपाले बाहेक अरू कुनै पार्टीले प्रतिपक्षको भूमिका निभाएको छैन ।’
‘विदेशी दलाललाई प्रधानमन्त्री बनाउने पार्टीको भविष्य सुनिश्चित हुँदैन । आर्थिक प्रलोभन र पैसाको चलखेलले चुनाव जितेकोमा घमण्ड गर्नुभन्दा सैद्धान्तिक रूपमा लडेर जनताको विश्वास जित्न सक्नु महत्वपूर्ण विषय हो ।’ उहाँले भन्नुभयो ।
उहाँले नेपालका नागरिक समाज र ठूला पार्टीहरू एनजीओ÷आईएनजीओमार्फत चलेका कारण चुनावमा कुन पार्टीलाई जिताउने भन्ने निर्णय पश्चिमी साम्राज्यवादी देश वा नाटोले गर्छ भन्नुभयो ।
नेपालको परिवर्तित राजनीतिबारे भारत अनभिज्ञ छ भन्नु हास्यास्पद रहेको बताउँदै अध्यक्ष रोहितले भारतको मुख्य उद्देश्य नेपालमा संविधान संशोधन गराउने हो र यो वाम गठबन्धनमा कुनै न कुनै रूपमा भारतको संलग्नता रहेको आशड्ढा गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘हाम्रो मुख्य शत्रु भारतीय एकाधिकार पूँजी र उसको विस्तारवादी नीति हो । नेपाली जनता त्यसको विरोधमा नउठेसम्म देश अगाडि बढ्न सक्दैन । भारतको चाहनाअनुरूप चुनावको वातावरण बन्छ ।’
ठूलो पार्टीको गलत कुरालाई पनि सहमति जनाउने नेपालका तथाकथित बुद्धिजीवीको आलोचना गर्दै उहाँले जबसम्म ठूला पार्टीप्रति सैद्धान्तिक प्रहार हुँदैन तबसम्म देश सुध्रिने सम्भावना छैन भन्नुभयो ।
उहाँले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने पार्टीको दर्ता खारेज गर्न आयोग प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । दलीय राजनीतिक भागबण्डाकै कारण नेपालको राजनीति झन् झन् फोहोर बन्दै गएको धारणा उहाँले राख्नुभयो । निर्वाचन आयोग राजनैतिक भागबण्डाबाट निर्माण भएको हुँदा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवार र दललाई कारबाही गर्न नसकेको पनि अध्यक्ष बिजुक्छेंले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *