धूर्तले बुनेको जाल एक दिन तोडिने छ
- आश्विन २८, २०८१
२०१९–२०७९ सालसम्मको धनकुटा र हाल कुसुन्ती, ललितपुर बस्नुहुने नारायण जोशीको ‘यो कविता यात्रा’ को ‘आँखाका यी दुई नानीहरू’ शीर्षकको कविताले २०१४–१५ सालदेखि २०१७ सालसम्मको काठमाडौँको युवा कविहरूको लामा लामा कविताहरूको सम्झना गराउँछ । ‘आँखाका यी दुई नानीहरू’ ले अङ्ग्रेजी कवि वर्सवर्थका ‘लुसी ग्रे’ कविताहरूको याद आउँछ । तर, जोशीजीको लामो वात्सल्य ओतप्रोत त्यो कवितालाई ‘लुसी ग्रे’ वा सिद्धिचरण श्रेष्ठको ‘मेरो प्यारो ओखलढुङ्गा’ शैलीको भए कस्तो होला भनी कल्पना गर्नु अनुचित हुनेछैन ।
‘मन लाग्छ’ शीर्षकको कविता यसरी टुङ्गिन्छ–
‘मलाई एउटा
कविता बाँच्न मन लाग्छ
हो,
कविता बाँच्न मन लाग्छ ।’
हो त, कविहरूलाई कविता बाँच्न मन लाग्नु स्वाभाविक हो । तर, कविको ‘कविता’ शीर्षककै कवितामा कवि जोशीको कविता कस्तो होस् भन्ने इच्छा प्रकट हुन्छ– एक साहित्यिक निबन्ध जस्तै–
‘कविताले
पाठक, स्रोता रमाउन सकोस्
कविताको भावले पाठकलाई
चिमोट्न सकोस्
कविताको मर्मले
पाठकलाई भावुक
बनाउन सकोस्
तब पो कविता !
वाह ! कविता !!’
नारायण जोशीको यस कविताले पाठकहरूलाई २०१० सालकै दशकमा लैजान्छ–कविताको विषयमा काठमाडौँका लेखक, कवि र कलाकारहरूको बिचमा । भगन मगन जस्ता छन्द भएर के हुन्छ ? ‘भाव भए पो कविता हुन्छ !’
नारायण जोशीजी लामो समय शिक्षक, प्राध्यापक र प्रिन्सिपल आदि शिक्षा क्षेत्रमा आफूलाई समर्पित भएकै कारणले होला– ‘गुरु पूर्णिमा’ कवितामा कवि उपदेशकको रूपमा देखापर्नु जोशीजीको सरलता र पेसाको छाप होला !
यस अर्थमा जोशीले कति कविताका भावलाई निबन्धको रूपमा कलम चलाउनुभएको भए अति सशक्त हुने थियो । त्यसको एउटा उदाहरण हो– ‘ए ! नेता’ कविता ।
नेतालाई कवि सिद्धान्तच्युत र राजनैतिकरूपले अवसरवादी भनी आलोचनाभन्दा मिठो भाषामा भन्नुहुन्छ–
‘नेताको हिँडाइको चाल हेर्दा
पाइला कहिले यता
कहिले उता !’
यसले जँड्याहाको पनि सङ्केत गर्छ, कविको अभिव्यक्ति उतातिर होइन बरु कविले साहित्यको अदालतमा एकपछि अर्को प्रश्न गरे–
‘अब चुनाव जित्नासाथ
पदको मातले गर्दन तिम्रो
कति बाङ्गो ?’
…
हामीले निरङ्कुशताको
विरुद्धमा गणतन्त्र ल्यायौँ !’
जनताको जीवन शैलीमा
के परिवर्तन भो ?
।।।
‘विकासको नमुना देखाएर
आफ्नो नुनको सोझो गर्न सक्यौ ?
तिमीहरूको निर्लज्ज अनुहार देख्दा
हामीलाई सङ्कोच लाग्छ
लोकतन्त्र गणतन्त्र ल्यायौँ
त के परिवर्तन भो देशमा ?
जनताले के पाए ?
कवि जोशीको कलममा व्यापक जनताको भावना, देशका शासक दलहरू र नेतृत्व वर्गप्रति घृणा र विरोधको मसी बगेको प्रस्ट छ । यसरी कवि नारायणजी युवा सुलभ भावनाका ‘रोमान्टिक’ मायाप्रीतिका कवि मात्रै नभई एक जागरुक असल नागरिकको रूपमा मुुखरित देखिए ।
धनकुटा १३, भाद्र २०१९ को ‘आमा बन्ने रहर बोकेकी महिला देख्दा’ को युवा कवि साँच्चै कवि बन्न खोजेको कल्पनाका लहरहरूले नयाँ शिशु र नयाँ युगको आशाजस्तै देखिन्छ ।
‘माया अनि मान्छे’ शीर्षकको कवितामा १७–१८ वर्षको युवा कविमा आपसमा माया र स्नेहको बोटमा पानी सिञ्चन गरेको भए सद्भावनाको फूल फुल्थ्यो र फल फल्थ्यो भन्ने अनुभूति हुन्छ । युवा कविको भावना स्वाभाविक छ ।
‘सपँ्रदैन कुनै अर्को नबिग्रेर कहीँ पनि’ शीर्षकको कवितालाई व्याख्या गर्दा किसानलाई शोषण नगरी जमिनदार धनी हुँदैन र पुँजीपतिवर्गले मजदुर र जनतालाई शोषण नगरेसम्म करोडपति शोषक अरबपति हुँदैन भन्ने भाव पाइन्छ ।
नेपालको विश्वविद्यालय र कलेजहरूमा पाठ्यपुस्तककै रोमानिया वा रोमान्टिक पेरियर्डको बाइरन, वर्सवर्थ, किट्स र शेलीको रोमानी कविताको प्रभाव किन नपर्ला नेपाली युवाहरूमा । यसकारण, कोही किट्स र वर्सवर्थको रोमानी भावनाबाट प्रभावित हुन्छन् भने कसैकसैमा शैलीको ‘पश्चिमी हावा’ आँधीबेहरी र विचारलाई बीउसरि सुकेका पातहरूलाई संसारभरि फैलिने क्रान्तिकारी भावनाले ओतप्रोत हुन्छन् । तर, नारायण जोशीको कवि व्यक्तित्वमा बुद्ध र गान्धीको प्रभाव किशोर अवस्थादेखि नै परेको देखिन्छ । बुद्ध त विवादभन्दा पर पुग्यो ।
तर, यहाँ युवा कवि र प्रौढ कवि मानसपटलमा गान्धीप्रतिको दृष्टिकोण एउटै छ किन ? यदि युवा कविले ‘गान्धीवादको शव परीक्षा’ सम्भवतः यशपाल र नमुन्दरी पादको ‘गान्धी र उसको वाद’ हात परेको भए परिपक्व कविको दृष्टिकोणमा परिमार्जन आउने थियो ।
त्यस्तै भारतीय राष्ट्रिय कङ्ग्रेसका अध्यक्ष अबदुल कलाम आजादका ‘भारतीय आजदी’ वा ‘इन्डिया विनस् फ्रिडल’ हात लागेको भए भारतको इतिहास कवि जोशीले अरु प्रस्ट देख्नुहुन्थ्यो । बेलायती उपनिवेशको २०० वर्षमा केही लाख मरेको थियो भने १९४७ मा भारतले आजादीपछिको एक वर्षमा १५ लाख हिन्दू र मुसलमान, दलित र माथिल्लो जात, अनि अल्पसङ्ख्यक र सीमान्तकृत जातिका मानिसहरू मारिए । भारतीय नेताहरूले हवाईजहाजबाट हिन्दू र मुसलमानको काटमार हेर्दा र रगतको खोलो देख्दा भनेका थिए– ‘जनता बहुला भए ।’
तर होइन, जनता ठिक्कै थिए, बरु नेताहरूले अङ्ग्रेजहरूका शर्त स्वीकारेको हुँदा स्वतन्त्रताको ८० वर्षपछि पनि भारतीय जनतामा धार्मिक असहिष्णुता र जातीय भेदभाव कायम छ । यसको कारण भारतीय नेताहरू बेलायती उपनिवेशवादीहरूप्रति विश्वासी र आभारी भएका थिए । कविले हिरोसिमा र नागासाकीको हत्या र बर्बरताको बारेमा उल्लेख गर्नुभयो । त्यो बर्बरता कुन साम्राज्यवादीहरूले गरे भन्नेबारे कविता मौन रह्यो र अमेरिकी राष्ट्रपति ट्रयुम्यानको निन्दा र विरोध कतै थिएन । हुन त ‘रवि नपुगेको ठाउँमा कवि पुग्ने’ कहावत छ ।
कवि नारायण जोशीजीको कवि भावनामा रोमानीवाद देखिनु विद्यार्थी कालदेखि नै अध्ययनको प्रभाव हो भने ‘कवितासङ्ग्रह’ को अन्त्यमा ‘एउटा लघु कथा’ मा नेपाली समाजमा बाँचिरहेको महिलामाथिको भेदभाव र यौवनको पीडाको अभिव्यक्ति छ । साँच्चै कविताको ठाउँमा कथा र उपन्यास भइदिएको भए नेपाली साहित्यले थप एक कथाकार र उपन्यासकार पाउने थियो ।
रोमानी कविको कलममा कताकता ‘हिजोभन्दा मलाई भोलि मनपर्छ’ शीर्षकको कवितामा नयाँ अभिव्यक्ति गुञ्जिन्छ –
‘आजको बूढोको भन्दा
मुस्कुराई भोलिको
शिशुको हेर्न रहर लाग्छ
विश्वयुद्ध तेस्रो
बोलाउन मन लाग्छ ।’
हो त, पहिलो विश्वयुद्धले एउटा समाजवादी देश सोभियत सङ्घको उदय भयो, दोस्रो विश्व युद्धले १२–१३ वटा देशको एक समाजवादी शिविर तयार भयो । तेस्रो विश्वयुद्धले समाजवादी युगको विजय हुनेछ– नव जात शिशुको रहर लाग्दो निर्दोष मुस्कानजस्तै !
कवि नारायण जोशीलाई साधुवाद !
Leave a Reply