भर्खरै :

केही जिज्ञासुहरूलाई नेमकिपाबारे जानकारी

केही जिज्ञासुहरूलाई नेमकिपाबारे जानकारी

केही जिज्ञासु र पत्रकार मित्रहरूले बरोबर हाम्रो दलबारे जिज्ञासा राख्नुहुन्थ्यो । समयको अभावले सबैको जिज्ञासालाई पूरा गर्न नसक्ने हुँदा एउटै लेखाइमार्फत सामूहिक जिज्ञासा प्राप्त हुने दृष्टिले नेमकिपाबारे पाठकहरूसामु प्रस्तुत गर्दै छु ।
नेपाल मजदुर किसान पार्टीले आफ्नो वर्गीय सङ्गठनहरूभित्रै सैद्धान्तिक र राजनैतिक शिक्षा प्रदान गर्दै आएको छ । युवा, विद्यार्थी, किसान, मजदुर र अन्य पेसाका सङ्गठनका सदस्यहरूलाई आफ्ना वर्गीय र पेसागत विषयको साथसाथै माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारबाहेक संसारका सबै मजदुर आन्दोलन र समाजवादी क्रान्तिहरूका उद्देश्य, उपलब्धि र इतिहासको अध्ययन गराइन्छ । मानव समाजको विकास सँगसँगै पुँजीवादी व्यवस्थाको उत्थान, विकास र पतन एवम् बेलायती पँुजीवादी क्रान्ति, अमेरिकी स्वतन्त्रता आन्दोलन र फ्रान्सको राज्यक्रान्तिका साथै देशविदेशका संविधान र तिनीहरूका राजनैतिक पद्धतिका भिन्नताहरूबारे पनि जानकारी दिने गरिन्छ ।
भूमिगतकालमा होस् वा खुला समयमा होस् यी सबै पुँजीवादको उत्थान, विकास र पतनको आर्थिक, सामाजिक र राजनैतिक कारणहरूको अध्ययनमा आउँछ । त्यसको सँगसँगै समाजवाद र साम्यवादी समाजमा सङ्क्रमणका विभिन्न चरणहरूबारे पनि जानकारी दिने गरिन्छ ।
ती सबै अध्ययन सँगसँगै देश र जनताको निःस्वार्थरूपले सेवा गर्नेबारे नयाँ पुस्तालाई शिक्षित गरिन्छ । पद र पैसाले पुँजीवादी समाजमा युवाहरूलाई कसरी पतनतिर उन्मुख गराउँछ भनी सचेत गराइन्छ ।
नेमकिपाको सङ्गठन दुई प्रकारको हुन्छ– एउटा, निर्वाचन र पुँजीवादी र प्रतिक्रियावादी सङ्घसंस्थाहरूमार्फत पनि देश र जनताको सेवाको निम्ति सङ्घर्ष गर्ने† दोस्रो, विभिन्न वर्गीय र पेसागत सङ्घसंस्थामा पार्टीको सिद्धान्त र राजनैतिक शिक्षाबाट शिक्षित गर्नमा बढी ध्यान दिन्छ । यसकारण, नेमकिपाले निर्वाचनमा प्राप्त मतले राजनैतिक दलको सङ्गठनात्मक स्थिति र सैद्धान्तिक एवम् राजनीतिक स्थितिको नापो मान्दैन । आन्दोलनका धेरै रूपहरूमध्ये निर्वाचन पनि एउटा सङ्घर्ष हो भन्नेबारे नेमकिपा प्रस्ट छ ।
निर्वाचनको परिणाम नै राजनैतिक सफलता होइन, त्यसो हुँदो हो त धेरै मत पाएर सत्तामा पुगेका दलहरू किन आफूहरूलाई असफल मान्छन् ?
केही मानिसहरू नेमकिपा खुम्चिएको बताउँछन्, तर नेमकिपा खुम्चिएको होइन, नेमकिपाको कार्य क्षेत्र वृद्धि हुँदै छ । ऊ परिमाणमा होइन गुणमा ध्यान दिन्छ । नेमकिपा निर्वाचनलाई उपयोगको दृष्टिले हेर्छ अर्थात् व्यापक जनताको राजनैतिक चेतना नाप्ने ब्यारोमिटरको रूपमा हेर्छ । निर्वाचन नै कुनै दलको सबलता र मत सर्वेक्षण होइन बरु राजनैतिक गतिविधि नै दलको सबलताका मापन हो तथा कर्तव्यबोध नै दलको सफलताको सङ्केत हुने गर्छ । आन्दोलनमा सहभागीको सङ्ख्या, प्रचार माध्यम, दैनिक र साप्ताहिक पत्रपत्रिकाको अध्ययन, अन्य प्रकाशन सामग्रीको छलफल, अन्तरक्रिया एवम् जनसभा, कोणसभा, विरोध प्रदर्शन तथा कक्षा सञ्चालनले नै नेमकिपाको सबलता र सङ्गठनको व्यापकताको मूल्याङ्कनको नापो मान्छ ।
यस अर्थमा नेमकिपा खुम्चिएको होइन बरु सैद्धान्तिक र राजनीतिकरूपले गुणात्मकरूपमा र सन्तोषजनक ढङ्गमा द्रुतत्तररूपमा अगाडि बढ्दै छ भन्ने मान्नु उपयुक्त हुन्छ ।
नेमकिपा अहिले ३६ जिल्लामा सङ्गठित सक्रियतामा निरन्तरता प्राप्त गर्दै छ । त्यसको नापो हो– युक्रेनको काँधमा बन्दुक बिसाई संरा अमेरिकाले रुसमाथि गरेको आक्रमण र एमसीसीको विरोधमा सञ्चालित जनसभा, विरोध प्रदर्शन, अन्तरक्रिया अनि त्यसबारे देश र विदेशमा भएको क्रिया र प्रतिक्रियाहरूको अध्ययन र जानकारी त्यसैबाट कार्यकर्ता र स्थानीय सङ्गठनको मूल्याङ्कन । प्यालिस्टाइन र इजरायलको विषयमा जानकारी एवं इजरायलको आक्रमणको विरोधमा जनताको प्रदर्शन तथा विभिन्न जिल्लामा युक्रेन, संयुक्त राज्य अमेरिका र नाटोबाट भएको आक्रमण रुसको प्रत्याक्रमणबारे जानकारीजस्ता गतिविधि पनि सङ्गठनको महत्व र औचित्यता साबित गर्छ । नेमकिपा युक्रेनको नवनाजीवाद र फासीवादको विरोधमा ३५–३६ जिल्लामा प्रचार अभियान चलाउँदै छ । त्यस्तै नेपाल–भारत सम्बन्ध र भाजपा, फासीवाद र नाजीवादको समानताबारे तुलनात्मक अध्ययन दक्षिण एसियाको निम्ति महत्वपूर्ण विषय हो । यसरी देश र जनताको व्यापक हितबारे हाम्रो सङ्घर्ष खुम्चिएको छैन बरु विस्तार हुँदै छ ।
टीको लगाएर सदस्य बनाउने खुकुलो सङ्गठन र बोक्रे सङ्गठन कमजोर मानिन्छ र सानो देखिने तर राजनैतिक एवं सैद्धान्तिकरूपले शिक्षित बनाइएको सङ्गठन नै सबल सम्झिन्छ । पञ्चायती समर्थक दलहरू, नेका, एमाले, एमाओवादी र अनेक समाजवादी दलहरू निर्वाचनमा मत पाउँछन् तर सैद्धान्तिक र राजनैतिक शिक्षामा ध्यान नदिएको हुँदा तिनीहरूको राज्य सञ्चालनको असफलताबाट थाहा हुन्छ । यस्तो स्थितिलाई मत बढी देखिए पनि खुम्चिएको भनिन्छ । पश्चिम नेपाल र भेरी–कर्णाली हाम्रो दलको गढ होइन कर्म क्षेत्र हो । आज पनि हाम्रा कार्यकर्ता साथीहरू आ–आफ्नो देश र जनताको सेवा गर्ने कर्तव्यमा सक्रिय नै छन् ।
‘भक्तपुर मोडल’ नेमकिपा आफूले दिएको चिनारी होइन । भक्तपुरका कार्यकर्ता र जनताका छोराछोरीहरूले निःस्वार्थरूपमा देश र जनताको सेवा गरेकै कारण तथा नगरपालिका, सहकारी संस्थाहरू, स्कूल, कलेज र अन्य शैक्षिक संस्थाहरू, ख्वप अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई काम गर्न आर्थिक र श्रमदान दिएर जनताले भित्री हृदयदेखि आफ्नो कर्तव्य सम्झेर सहयोग गर्दै छन् । त्यसैलाई विभिन्न जिल्लाका बुद्धिजीवी समुदायले र जनताको तर्फबाट ‘ख्वप मोडल’ वा ‘भक्तपुर मोडल’ नाम दिएका हुन् । निर्माण कार्यमा ठेक्काभन्दा उपभोक्ता समिति र जनसहभागिता, विदेशी गैरसरकारी संस्थाभन्दा स्थानीय जनताकै सभा र सल्लाहको महत्व नै भक्तपुरको कामको आधार हो, जहाँ भ्रष्टाचारविरोधी भावना जागेको छ ।
विभिन्न जिल्लाका भक्तपुर भ्रमण गर्ने समूहका साथीहरूले आफ्नो ठम्याइअनुसार आआफ्ना जिल्लामा निःस्वार्थरूपले जनताको सेवा गर्नुभयो भने त्यो उत्साहजनक एवम् स्वागतयोग्य भावना हो । यसबारे आ–आफ्ना अनुभवबारे छलफल गर्नु झन् सुखद विषय हुनेछ ।
यसरी जनताको अनुभवको आदानप्रदानबाट काम गर्नु पनि देशको निम्ति नेपाली जनताको एक मनको भावना र योगदान नै हुनेछ । नेमकिपाले यसबारे ‘भक्तपुर मोडल’ भनी प्रचार गर्नु आवश्यक ठान्दैन । नेमकिपाले निःस्वार्थरूपले जनतासँग मिलेर काम गर्नु आफ्नो कर्तव्य मान्छ ।
विभिन्न जिल्लाका नगरपालिका, गाउँपालिका र प्रदेश सभाका सदस्यहरू, प्रमुख, उपप्रमुख र सदस्यहरूको समेत अवलोकन भ्रमण हुँदै छ । खेतीपाती र किसान साथीहरूको माझमा पनि भेटघाट र छलफल चालू छ । एक आपसमा सिक्नु भनेको यही हो । ‘रोम एकै दिन बनेको होइन’ भन्ने भनाइलाई सबैले मनन गर्नु राम्रो हो । तर, ‘रुख देख्ने जङ्गल नदेख्ने’ प्रवृत्ति सकारात्मक दृष्टिकोण होइन ।
देशप्रति समर्पित र कामदारवर्गको शोषणविहीन समाज खडा गर्न हाम फालेका पार्टी कार्यकर्ताले केही गुमाउनु छैन बरु विजय प्राप्त हुँदा तिनीहरूको अगाडि नेपाल मात्र होइन सारा संसार सेवा गर्न खुला छ । भक्तपुरका क्रान्तिकारी जनता कारागारबाट पनि जनताकै सेवामा प्राथमिकता दिनु आफ्ना कर्तव्य मान्थे, कारागारबाहिर पनि प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घसंस्थाहरूमा गएर देश र जनतालाई पुँजीवादी प्रभावबाट मुक्त गर्ने सेवामा लाग्नु आफ्नो उद्देश्य मान्थे । निर्वाचित साथीहरूलाई पनि स्वार्थी भावना र पुँजीवादी विचारको प्रभावको विरोधमा सङ्घर्ष गर्न नेमकिपा उत्साहित गर्छ । कारागार, भूमिगत, प्रवास र निर्वाचनलाई भक्तपुरका देशभक्तहरूले पालैपालो जनताको सेवा नयाँ–नयाँ शैलीमा गर्दै गए ।
पुर्खाले सिर्जेको हाम्रो कला र संस्कृतिलाई जोगाउनु, मर्मतसम्भार र पुनः निर्माण गर्नु हामी जनताकै कर्तव्य हो भन्ने भावनाले हाम्रा डकर्मी, सिकर्मी र नाचगानका गुरुहरूको निरन्तर मेहनत र सेवाबाटै भक्तपुरको मूर्त र अमूर्त कला एवम् संस्कृतिको संरक्षण र संवद्र्धनमा सफलता प्राप्त हुँदै छ ।
संविधानमा उल्लेख भएको ‘समाजवादउन्मुख’ को आजको अर्थ– भ्रष्टाचार नगर्नु, प्राथमिकता जनतालाई दिनु र देशको प्राकृतिक स्रोत र साधनको उचित प्रयोग गर्नु, विदेशी पुँजीलाई नेपालमा खेल्न नदिई देशको हितलाई प्राथमिकता दिनु भन्ने सम्झनु आवश्यक छ । स्थानीय निकायलाई विकेन्द्रीकरण र स्वायत्तताको अधिकार नदिएसम्म ‘सङ्घीय बन्दोबस्त’ र ‘प्रदेश सरकार’ को कुनै अर्थ छैन । जनतासँग सल्लाह गरेर जनताको ‘समाजवादउन्मुख’ राज्य व्यवस्थालाई बुझ्न सजिलो हुनेछ भन्ने नेमकिपाको ठम्याइ हो । सिद्धान्ततः उत्पादनका साधनहरूमा राज्य वा समाजको स्वामित्व हुनु र ‘योग्यताअनुसारको काम र कामअनुसारको ज्याला’ समाजवादको आधारभूत मान्यता हो । केन्द्रीय र प्रदेश सरकारहरूले यसमा यथोचित ध्यान दिनेछन् भन्ठान्छु ।
‘श्रमिक’ साप्ताहिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *