भर्खरै :

क्रान्तिकारी बाटो छोड्ने अवसरवादी नेताहरूको ‘एकता’ !

क्रान्तिकारी बाटो छोड्ने अवसरवादी नेताहरूको ‘एकता’ !

कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारप्रति जनताको आस्था र विश्वास बढ्दै गएको विश्लेषण सही हो । पुँजीवादी व्यवस्थाको सरकारमा जाने कम्युनिस्ट भनिने दलले कम्युनिस्टको सिद्धान्त र विचारअनुसार काम नगरेको र त्यसबाट जनतामा असन्तोष बढेको अर्को यथार्थ हो । कम्युनिस्ट पार्टी बलियो बनाउने, कम्युनिस्ट आन्दोलन अघि बढाउने बखान गरेर कम्युनिस्ट भनिने दलहरूले धेरै पटक पार्टी एकता गर्ने कुरा उठाए, धेरै पटक प्रयास गरे, धेरै पटक एकता भए र त्यतिकै पटक अलग्ग पनि भए । अहिले पनि कम्युनिस्ट पार्टीबिच एकता गर्ने स्वर सेलाएको छैन । यतिबेला नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) बिच पार्टी एकीकरण प्रयास भइरहेको खबर सञ्चार माध्यममा आएको छ । यी दुई पार्टीबिच साँच्चै कम्युनिस्ट पार्टी बलियो बनाउन र कम्युनिस्ट आन्दोलन अघि बढाउन एकता हुन लागेको हो ? त्यो भन्दा पहिले समाजवादी आन्दोलन अघि बढाउने भनेर केही कम्युनिस्ट भनिने दलहरूबिच समाजवादी मोर्चा गठन गरिएको थियो । समाजवादको निम्ति गठन भएको त्यो मोर्चा अहिले कुनामा थन्केको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बरोबर अडान, विचार र बोली फेर्ने नेता हुन् । परिस्थिति तयार नहुँदै ‘जनयुद्ध’ घोषणा गरेर सरकारसमक्ष आत्मसमर्पण गर्ने र क्रान्तिकारी बाटो छोड्ने अवसरवादी नेता हुन् उनी । सिद्धान्त र विचारको ख्याल नगरी सत्तामा जानको निम्ति जुनसुकै दलसँग सहकार्य गरेर मित्र शक्तिलाई धोका दिने नेता हुन् उनी । ‘जनयुद्ध’ को संयोजक बनेका नेता भट्टराई पनि सिद्धान्त र विचार फेर्दै बढी दल फेर्ने या छिनछिनमा दल बदल्ने नेता हुन् । माओवादी छोडेर उनले विभिन्न दलसँग एकता गरे पनि मिल्न नसकेर या प्रगति गर्न नसकेर आफ्नै अध्यक्षतामा पार्टी खोल्ने कम्युनिस्टविरोधी नेता हुन् । आज ती नै दलका नेताहरू पार्टी एकीकरण अन्तिम चरणमा पुगेको उद्घोष गर्दै छन् । पार्टी एकीकरण हुनुमा कसैको टाउको दुखाइको विषय होइन । आ–आफ्नो अस्तित्व कायम राख्न या धेरै दलसँग पार्टी एकता गरे पनि सफल नभएपछि हुन लागेको पार्टी एकता स्थिर होला या नहोला, त्यो आफ्नो ठाउँमा छ ।
सुरुमा माओवादी पार्टी छोड्दा नेता भट्टराईले अर्का नेता दाहाललाई अनेक आरोप लगाएका थिए । एक समय नेता वामदेव गौतम एमाले छोडेर गएपछि एमालेका नेताहरूले गौतमलाई १ नम्बरको भ्रष्टाचारी भनी खुलामञ्चमा उद्घोष गरेका थिए । पछि त्यही व्यक्ति एमालेमा गए या एमालेले स्वागत ग¥यो । त्यस्तै बाबुराम भट्टराईले माओवादीका अध्यक्ष दाहाललाई भ्रष्टाचारी भनी खुला ठाउँमा भनेका थिए । आज दाहालको लागि भट्टराई, भट्टराईको लागि दाहाल प्यारो भए । ती दल या त्यस्तै अन्य दलबिच पार्टी एकता, पार्टी मोर्चा र चुनावी मोर्चा नभएको भए ती दलको हविगत के हुने हो ? सिद्धान्त र विचारको राजनीति नगर्ने, जसरी भए पनि टिकाउने, जित्ने र सरकारमा गएर पद र पैसामा भुल्ने दलका ती नेताहरू सिद्धान्त र विचारप्रति प्रतिबद्ध नभएको थाहा हुन्छ ।
‘क्रान्तिकारी शक्ति छिन्नभिन्न नभई एकताबद्ध’ भएर अगाडि बढ्न चाहेका ती नेताहरू पहिले किन अलग्ग भए ? ‘नयाँ एकता’, ‘नयाँ परिवेशमा नयाँ सोच र चेतना’ सहितको उनीहरूको एकता आज केको निम्ति ! हिजो सिद्धान्त र विचार नमिलेर अलग्ग भएका ती नेताहरूको ‘नयाँ एकता’ र ‘नयाँ सोच’ केको निम्ति ! पार्टी नटिक्ने भएरै, पार्टी चलाउन गा¥हो भएरै र सत्तामा बसिरहने मनसाय राखेरै ‘एकता’ हुन लागेको होइन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *