साउथ चाइना सीमा वास्तविक “राक्षस” को हो ?
- माघ १, २०८१
प्रहरी आउँदा तिनीहरू गोलो घेरा बनाएर बसेका थिए ।
“जहाँ जान्छौ त्यहीँ आउँछु साथी,” विद्यार्थीहरूलाई हत्कडी लगाउनुअघि प्रहरीले हामीलाई छुट्याउँदै गर्दा विद्यार्थीहरूले नारा लगाए ।
“किनकि तिम्रा आफन्त मेरा आफन्त, तिम्रा मान्छे मेरा मान्छे, तिम्रो धर्म मेरो धर्म,” तिनीहरूले नाराबाजी जारी राखे ।
जहाँ जान्छौ त्यहीँ आउँछु साथी सबै विद्यार्थी यहुदी थिए । केही विद्यार्थी ‘तत्काल युद्धविरामका लागि यहुदीहरू’ (जेएफसिएन) का सदस्य थिए । ब्राउन विश्वविद्यालयकी कुलपति क्रिस्टिना पाक्सनको कार्यालयसामु ५ घण्टादेखि धर्ना गर्दै थिए । उनीहरूले विश्वविद्यालयलाई आउने इजरायली कम्पनीहरूको चन्दा नलिन र तत्काल युद्धविराम गर्नुपर्ने पक्षमा उभिनुपर्ने माग राख्दै थिए ।
घण्टाघरले ५ बजेको घण्टी बजाउनुभन्दा ठीकअघि कार्यालय बन्द भयो र विद्यार्थीहरूलाई घर जान भनियो ।
विद्यार्थीहरू घर नफर्केपछि प्रहरी बोलाइयो ।
त्यो नोभेम्बरको घटना थियो ।
दुई हप्तापछि पनि ‘क्षेत्राधिकार अतिक्रमण’ गरेको आरोप फिर्ता लिइएन । अनुशासनको कारबाही अघि बढाउने छाँटकाँट पनि देखिएन । विद्यार्थीमा के गर्ने हुन् भन्ने अन्योल थियो । यद्यपि, उनीहरू आफ्नो गतिविधि उचित र अपरिहार्य थियो भन्नेमा विश्वस्त थिए ।
ब्राउन विश्वविद्यालयका कैयन् विद्यार्थीले पत्रकारसँगको कुराकानीमा २० यहुदी विद्यार्थीको पक्राउले विश्वविद्यालयको मुखबाट उदारवादी मूल्यमान्यताको मुकुण्डो निकालेर फालिदिएको बताए । यस घटनाले प्यालेस्टाइनविरोधी भावनाका जराहरू कति गडेका छन् भन्ने पनि उदाङ्गो भएको उनीहरूको राय थियो ।
यस घटनाले संरा अमेरिकाभरि नै प्यालेस्टिनीहरूको पक्ष लिने विद्यार्थीहरूले भोगिरहेको पूर्वाग्रहको कति रूखो छ भन्ने बताउँछ । उनीहरूले भने, “न्युयोर्कको कोलम्बिया विश्वविद्यालयमा जानुस्, म्यासाच्युसेट्सको हार्वर्ड वा क्यालिफोर्नियाको स्ट्यानफोर्ड जानुस्, सबैतिर यही हाल छ ।”
गत अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको प्रतिरोधी हमलामा परेर १२ सय इजरायलीहरू मारिए । तर, इजरायली बमबारीले आकाश ढाक्न थालेपछि गाजावासी प्यालेस्टिनीहरूको मृत्यु सङ्ख्या एकाएक बढ्यो । त्यो त्रासदी देखेर ब्राउन विश्वविद्यालयका यहुदी विद्यार्थीहरू आत्तिए ।
२२ वर्षकी एरियला रोजेनविग र २० वर्षकी लिली गार्डनर दुवै यहुदी हुन् । तिनीहरूजस्ता धेरै यहुदी विद्यार्थीहरू पहिले नै ‘प्यालेस्टाइनमा न्यायका लागि विद्यार्थी एकता’ (एसजेपी) नामक सङ्गठनमा आबद्ध थिए । उनीहरू सबैले प्रोभिडेन्स सहरमा भएका धेरै प्रदर्शनमा भाग लिइसकेका छन् । तर, सार्वजनिक सरोकारको विषयमा आफ्नो विश्वविद्यालयले उचित मार्गदर्शन गर्न नसकेको देखेर ती विद्यार्थीहरू अत्तालिए ।
पछि उनीहरूले आफ्ना प्यालेस्टिनी सहपाठी र साथीहरूमाथि दुव्र्यवहार भएको, अपशब्द प्रयोग गरिएको देखे । विश्वविद्यालय प्रशासनले उनीहरूको संरक्षण गर्नमा सिन्को भाँचेन ।
दिन घर्किन थाले । इजरायलले हवाई हमला थाम्ने सङ्केत देखाएन । त्यसपछि एरियला र लिली दुवैले एकाध दर्जन यहुदी विद्यार्थीहरूसँग मिलेर केही गर्नैपर्ने अठोट गरे ।
मुलधारे मिडियाले प्यालेस्टाइनविरोधी पूर्वाग्रहको खोलो बगाइरहेको थियो । प्यालेस्टिनी समूह, तिनका नारा र जुलुसलाई आतङ्कवादी वा यहुदीविरोधी करार गर्दै थियो । यो देखेर चुपचाप हात बाँधेर बस्न ती यहुदी विद्यार्थीहरूको मनले मानेन ।
“हामी सङ्गठित यहुदी विद्यार्थी हौँ । चल्तीको प्रचारबाजीको खण्डन गर्ने जिम्मेवारी हाम्रो हो भन्ने हामी बुझ्छौँ । यहुदी विद्यार्थीको रूपमा आफ्नो अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दै र शान्तिपूर्ण राजनीतिक प्रदर्शनमा सहभागी हुँदै विश्वविद्यालयले कस्तो प्रतिक्रिया जनाउला भनी हेर्नु पनि हाम्रो कर्तव्य हो ।” नोभेम्बर ८ गते हिरासतमा परेकी लिली गार्डनरले हामीसित भनिन् ।
रोजेनविग पनि पक्राउ परिसकेकी छिन् । विश्वविद्यालयको रवैयाकै कारण आफूले प्रत्यक्ष गतिविधि गर्नुपरेको उनले बताइन् ।
“तिनीहरूले हामीलाई आफ्नो कुरा राख्ने ठाउँ नै दिएनन् । आफ्नो विचार राख्न हामीले धेरै कोसिस ग¥यौँ । तर, तिनीहरूले हाम्रो मुख थुनिरहे ।” रोजेनविगले भनिन् ।
विश्वविद्यालयका १६० प्राध्यापकहरूले युद्धविरामलाई स्वागत गर्न र प्राज्ञिक स्वतन्त्रता देखाउन अनुरोध गर्दै विश्वविद्यालयकी कुलपति पाक्सनलाई खुलापत्र लेखे । उनले अभिव्यक्ति स्वतन्त्रता प्यालेस्टाइनको हकमा लागु नहुने बताइन् । ‘ब्राउन डेली’ अखबारअनुसार उनले युद्धविरामको विषयमा राय राख्न अस्वीकार गरिन् ।
प्यालेस्टाइनमा मृतकसङ्ख्या १४ हजार नाघिसकेको छ । ५ हजारभन्दा बढी बालबालिका मात्र मारिएका छन् । यो देखेर प्यालेस्टाइनको समर्थनमा बोल्न वा युद्धविरामको माग राख्न हिम्मत गर्ने विद्यार्थीहरू संरा अमेरिकाभरि नै छन् । तर अहिले उनीहरू कसैको आक्रमणको तारो बन्नुपर्ने डरमा बाँच्दै छन् ।
धेरै सम्भ्रान्त विश्वविद्यालयलाई दिँदै आएको चन्दा दाताहरूले रोक्दै छन् । विद्यार्थीहरूलाई दिने भनिएको रोजगारी खोसेका छन् । केही क्याम्पसहरूमा त प्यालेस्टाइनप्रति सहानुभूति देखाएका शिक्षक र विद्यालयहरूको नाम तथा फोटो टाँगिएका घुम्ती पर्दा डुलाइँदै छ ।
घुम्ती पर्दा र अनलाइनमा प्यालेस्टाइनप्रति सहानुभूतिशील शिक्षक तथा विद्यार्थीको विवरण खुला राख्ने कार्य ब्राउन विश्वविद्यालयमा भएको छैन । तर, प्यालेस्टिनी र अरब विद्यार्थीहरूले एक महिनायता विभेद र हेलाहोचोको सिकार बन्दै छन् ।
“विश्वविद्यालय प्रशासनले अक्टोबर ७ लगत्तै इजरायली पीडितहरूको पक्षमा वक्तव्य जारी ग¥यो र इजरायली एवम् यहुदी विद्यार्थीहरूलाई आवश्यक स्रोत उपलब्ध गराउने भनेर ढाडस दियो । तर, अर्को हप्ता अरब र प्यालेस्टिनी विद्यार्थीहरूलाई त्यस प्रकारको केही भनेन ।” अबुद असबाबले हामीलाई भने । उनी ब्राउन विश्वविद्यालयमा पढिरहेका प्यालेस्टिनी हुन् ।
तालिया साविरिस ब्राउन विश्वविद्यालयकी छात्रा हुन् । उनले आफ्नो विश्वविद्यालयले पश्चिम किनाराको कब्जा वा १६ वर्षदेखि भइराखेको गाजाको कब्जालाई मान्यता नदिएको गुनासो पोखिन् । यसलाई उनले विद्यार्थीप्रतिको अन्याय भनिन् ।
“क्याम्पसे बहस चर्केर तँ तँ र म म हुन थालेपछि विश्वविद्यालयले त्यसमा मध्यस्थता गर्नुपर्छ र घटनाको पृष्ठभूमि तथा यथार्थ बताइदिनुपर्छ । तर, हाम्रो विश्वविद्यालयले एकतर्फी वक्तव्य जारी ग¥यो र ७० वर्षको पृष्ठभूमिलाई बेवास्ता गर्दै कथित ‘तटस्थ वक्तव्य’ सुनायो । विश्वविद्यालयले अत्याचारीहरूकै भाषा बोल्यो र तिनले खाइपाइ आएको सरसुविधा लुकाउन खोज्यो ।” साविरिसले भनिन् ।
विश्वविद्यालयले कस्ता विद्यार्थीहरू हानिकारक छन् भन्ने विषयमा ध्यान नै दिन नचाहेको साविरिसले बताइन् ।
क्याम्पसमा यहुदीविरोधी घटनाहरू बढेका छन् । यसबारे धेरै समाचार पनि आएका छन् । तैपनि, वास्तविक यहुदीविरोधी सोच र प्यालेस्टाइनपक्षीय भएको आरोपलाई खण्डन गर्नमा उति ध्यान दिइएको छैन । रोजेनविग र गार्डनर दुवै यस्तै सोचिरहेछन् ।
“समयले हामी सबैलाई हिंसा र अत्याचारको तहबाट माथि उठेर केही ठूलो काम गर्न आह्वान गर्दै छ । किनभने, यहुदीवाद र यहुदी धर्म फरक कुरा हुन् । यहुदीवाद नै यहुदी धर्म होइन ।” गार्डनरले भनिन् ।
उनी अमेरिकामा यहुदीविरोधी भावनालाई कम ठान्दिनन् । तैपनि, उनलाई ब्राउन विश्वविद्यालयको क्याम्पस र ‘एसजेपी’ जस्तो समूहमा सुरक्षित महसुस गरेकी थिइन् । उनले भनिन्, “हाम्रो समूहले स्पष्ट शब्दमा यहुदीविरोधी विचारको निन्दा गर्दै आएको छ ।”
रोजेविगले भनिन्, “हामीले यहुदीविरोधी विचार सलहसरी फैलेको दाबी र खबर जहाँतहीँ सुन्दै आएका छौँ । मेरो विचारमा यी दाबी र खबरहरू प्रायः झूटा हुन्छन् ।”
ब्राउन विश्वविद्यालयमा यहुदीवादी विद्यार्थी सङ्गठन ‘हिलेल’ को पनि समिति छ । हामीले रोजेविगको धारणाबारे उनीहरूसँग जिज्ञासा राख्दा उनीहरूले जवाफै दिएनन् ।
प्रार्थना, प्रदर्शन र शान्ति
नोभेम्बर ८ गते २० जना यहुदी विद्यार्थीलाई एकएक गर्दै प्रहरीले गाडीमा राख्दै थियो । त्यति नै बेला ५०० भन्दा बढी विद्यार्थी तिनीहरूप्रति ऐक्यबद्धता जनाउन र साक्षी बस्न वरपरबाट जम्मा भइहाले । प्रहरीले आफ्ना सहपाठीहरूलाई लग्ने सुरसार गर्ने बेला तिनले पुरानो बाइबलको एउटा भजन गाए ।
‘प्रेमले बनाउनेछ संसार’, प्रहरीतिर हेर्दै तिनले भजन गाए ।
त्यसयता ती शिक्षक र विद्यार्थीहरूबिच २० विद्यार्थीको प्रशंसा चुलिएको छ ।
‘जेएफसीएन’ समूहका विद्यार्थीहरूले आफ्नो समूहको स्वयंसेवक सङ्ख्या १०–१५ बाट बढेर ७० आसपास पुगेको जनाए ।
२० वर्षकी मिका माल्जमन ‘जेएफसीएन’ की सदस्य हुन् । उनले भनिन्, “मैले यति धेरैथरी यहुदी विद्यार्थीहरू एकै झन्डामुनि आउलान् भनेर कहिल्यै कल्पनासम्म गरेकी थिइनँ ।”
“‘हिलेल’ का कार्यक्रमहरूमा जाने विद्यार्थीहरू अझै पनि छन् । तिनीहरू इजरायली विद्यार्थीका रूपमा सक्रिय छन् । तर, त्यसमा सबैखाले यहुदी विद्यार्थी छन् । कसैका परिवार इजरायलमै छन् । कोही वामपन्थी पनि छन् ।” माल्जमनले भनिन् ।
ब्राउन विश्वविद्यालयका २०० भन्दा बढी शिक्षकले विद्यार्थीमाथि लगाइएका सम्पूर्ण आरोपहरू फिर्ता लिन माग गर्दै एक मागपत्रमा हस्ताक्षर गरेका छन् । विद्यार्थीमाथि चलाइएका सम्पूर्ण अनुशासनजन्य कारबाही प्रक्रियाहरू रोक्नुपर्ने र विद्यार्थीको मागबमोजिम क्याम्पसव्यापी खुला बहस चलाउनुपर्नेमा शिक्षकहरूको जोड छ ।
“विद्यार्थीहरूलाई पक्राउ गर्ने निर्णयले हामी मर्माहत छौँ । हामी विश्वविद्यालय नेतृत्वसँग गहिरो चासो लिन र यो सङ्कटपूर्ण घडीमा हाम्रा विद्यार्थीले राखेको सचेत विषयलाई सम्बोधन गर्न आग्रह गर्छौँ ।” मागपत्रमा लेखिएको छ । दक्षिण अफ्रिकाको रङ्गभेदी शासनविरूद्ध ब्राउन विश्वविद्यालयले कुनै बेला रङ्गभेदी दाताहरूको चन्दा बहिष्कार गरेको थियो । शिक्षकहरूले प्रशासनलाई सोही नजिर स्मरण गराएका छन् ।
ब्राउन विश्वविद्यालयका प्रवक्ता ब्रायन क्लार्कले आफ्नो संस्थानले विरोध प्रदर्शनलाई ‘क्याम्पसमा आवश्यक र मान्य अभिव्यक्तिको माध्यम’ को रूपमा खुला मनले स्वीकारेको बताए । उनले थप भने, ‘ब्राउन (विश्वविद्यालय) ले अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्छ, त्यसैले त्यो हकको अभ्यास गर्ने ‘समय, स्थान र तरिका’ लाई नियमन गर्नु विश्वविद्यालयको सामान्य कामकारबाही जोखिममा पर्नबाट रोक्नु पनि हो । क्याम्पस भवनभित्र जानाजान नियम उल्लङ्घन गरेको हुनाले नै २० विद्यार्थीलाई पक्राउ गरिएको हो ।”
प्रोभिडेन्स नगर प्रहरी विभागले हामीसँग कुरा गर्न मानेन ।
घटनाक्रमले ब्राउन विश्वविद्यालयका प्यालेस्टिनी विद्यार्थीहरूको आत्मबल र उत्साह बढेको छ ।
विद्यार्थी सङ्गठक साविरिसले आफूलाई आफ्नो समूहप्रति गर्व लागेको बताइन् । ‘प्यालेस्टिनी मुक्तिको लागि उभिएकोमा र प्यालेस्टिनी ऐक्यबद्धता समितिका मागहरू गुञ्जाएकोमा’ उनी आफूलाई गौरवान्वित ठान्छिन् ।
उनले भनिन्, “आफ्नो ज्यान र भविष्यलाई नै जोखिममा राखेर गोरो यहुदी हुनाले पाइने सेवा–सुविधालाई च्याखेमा राखेर सङ्घर्ष गर्नुमा ठुलो गौरव छ ।”
साविरिसले जोड दिएर भनिन्, “विश्वभरिका नवयुवाहरू यहुदी, अरबी, प्यालेस्टिनी र अन्य धेरैथरी मानिसहरू एकजुट भएको, बहुसंस्कृति निर्माण गर्नको लागि हातेमालो गरेको र प्यालेस्टिनी मुक्तिको निम्ति काँधमा काँध मिलाएर उभिएको देख्दै छु । खुसी लाग्छ, प्रेरणा मिल्छ । सुन्दा अनौठो लाग्ला तर यो सङ्घर्षले के देखाएको छ भने मान्छे–मान्छेबिच विभाजन ल्याउने राज्य र सत्ताले हो, मानिस आफैले होइन ।”
– (एमआर अनलाइनबाट ।)
Leave a Reply