“वागीश्वरी महोत्सव” प्रारम्भ आज पनि जारी
- मंसिर २५, २०८१
नेपालको इतिहासमा लिच्छविकाल र मल्लकाललाई स्वर्णकाल भन्ने गरिन्छ । लिच्छवि र मल्ल राजाहरूको पालामा जनताको सुविधा र सेवाको लागि मठ, मन्दिर, पाटीपौवा, पोखरी, धारा, इनार, कुवा आदि बनाएका पाइन्छ । त्यसबेला जनताको सहयोगमा त्यस्ता सम्पदाहरू बनाउन राजाहरूको बिचमा प्रतिस्पर्धा हुन्थ्यो । त्यही सांस्कृतिक सम्पदाले आज नेपाल विश्वमा परिचित छ ।
मानव सभ्यताको विकास सँगसँगै खानेपानीको सहज आपूर्ति गर्नको लागि मानिसले विभिन्न साधन प्रयोग गरेर पानीलाई उपयोग गर्दै आएको पाइन्छ । त्यसक्रममा जनताले ढुङ्गाको चिरा, प्वाल, खाल्डो भागबाट बगेको धारा (झरना) को पानी उपयोग गर्दै आएका थिए । त्यसको सिकाइ र अनुभवबाट मानिसले रुख, विरुवा वा वनस्पतिको पातलाई उपयोग गरेर धारा बनाई पानीको सहज उपयोग गर्दैै आएको पाइन्छ । त्यसपछि क्रमशः ढुङ्गा, तामा, फलामका पाता राखेर धारा बनाएको पाइन्छ । आज आएर नयाँ र उन्नत प्रविधिको फलाम र प्लास्टिकको पाइपको उपयोग गरेर घरघरमा खानेपानीको सहज आपूर्ति गर्दै आएको पाइन्छ ।
भक्तपुर नगरमा लिच्छवि र मल्लकालमा बनाइएका थुप्रै कलात्मक ढुङ्गेधारा रहेको पाइन्छ । ढुङ्गेधारालाई नेपालभाषामा ल्होहँ हिटी भनिन्छ । ल्होहँ भनेको नेपालभाषामा ढुङ्गा हो । हिटी भनेको धारा भयो । ढुङ्गा, बालुवा (प्राकृतिक फिल्टर) भई बगेको पानी सङ्लो र सुरक्षित हुन्छ । त्यसो हुँदा हाम्रा पुर्खाहरूले ढुङ्गालाई धाराको रूपमा ठाउँ ठाउँमा प्रयोग गर्दैै आएको देखिन्छ ।
भक्तपुर नगरमा लिच्छविकालदेखि नै जनतालाई खानेपानीको आपूर्ति गर्दै आएको देखिन्छ । राजा आनन्ददेवको पालामा भक्तपुर सहरमा महादेव, गणेश र विष्णुको मन्दिर स्थापना गरी सँगै कुवा, इनार र ढुङ्गेधाराको निर्माण गरेर मूलको पानी ल्याएर जनतालाई सुविधा दिइएको देखिन्छ । भक्तपुर नगरको पूर्वपट्टि कमलविनायक बाहरे तुमचो, च्याम्हासिंह, देगइना मूलबाटोको दायाँबायाँ क्षेत्रलाई लिच्छविकालीन मानगृह दरबारको क्षेत्र मानिन्छ । त्यस क्षेत्रभित्र कमलपोखरी, गरुडकुण्ड, वाचुहिटी, ठाउँ ठाउँमा चतुर्मुखी शिवलिङ्ग आज पनि अवशेषको रूपमा रहेको देखिन्छ । त्यति बेला घर बनाउन जग खन्दा किल्लाहरू भेटिएको थियो । त्यसबेलाका दरबारका तुला रानी कमलपोखरीमा कमलको पातमा हिँडेर नुहाउने गरिन्छ भन्ने च्याम्हसिंहको पूर्वपट्टि ब्रह्मायणी जाने बाटो देगइनासँगै उत्तरपट्टि रहेको वाचुहिटीमा राजा, रानीहरू दैनिक स्नान गर्ने अनि त्यही रहेको ढुङ्गाको ऐनामा हेरेर कपाल कोर्ने गरिन्छ भन्ने लोक कथन छ । त्यस वाचुहिटी र ब्रह्मायणीको ढुङ्गेधारामा उत्तरपट्टि दुगुरेको मूलबाट पानी लाने गरिएको थियो । यसरी भक्तपुरमा लिच्छवि राजाहरूको पालामा मूलको पानी इनार, धाराको माध्यमबाट जनतालाई खुवाएको देखिन्छ ।
जिताभित्र, भूपतीन्द्र मल्ल राजाहरूको पालामा नगरकोटको फेदी हालको मुहान पोखरीबाट राजकुलोको माध्यमबाट भक्तपुरको दरबारलगायत टोलमा ढुङ्गेधाराबाट पानी जनतालाई खुवाएको देखिन्छ । शासक दलहरूले असन्तुलित र अव्यवस्थित सहर विस्तार गरेको कारण मूलबाट पानी आउने केही धाराबाहेक अरु धारामा पानी आउन बन्द भएको अवस्था छ । हाल ती धेरैजसो ढुङ्गेधारामा स्थानीय जनता र भक्तपुर नगरपालिकाको समन्वयमा खानेपानीको पाइप जोडेर स्थानीय जनताले पानी उपभोग गरिरहेको अवस्था देखिन्छ । हाल नगरकोटको मुहानबाट आउने पानी भक्तपुर नगरपालिकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड भक्तपुरसँग समन्वय गरेर समय तालिका मिलाएर वितरण गरिरहेकोले भक्तपुरका जनतालाई पानीमा केही राहत मिलेको छ भने केही ठाउँमा दिप बोरिङ गरेर पानी वितरण गरेर थप सहज बनाएको छ ।
लिच्छवि र मल्ल राजाहरूको पालामा जनताले रगत पसिना बगाएर भक्तपुरको टोल टोलमा ढुङ्गेधारा निर्माण गरेर जनतालाई सहज खानेपानी खुवाएको माथि उल्लेख भयो । ती राजाहरूको पालामा भक्तपुरका जनताले बनाएका करिब ७९ वटा ढुङ्गेधारा देखिन्छन् । केही अरू बाँकी छुटेका होलान् । हाल प्राप्त ती ढुङ्गेधाराहरूमध्ये नगरको वडा नं १ मा ६ वटा, वडा नं २ मा ११ वटा, वडा नं ३ मा ६ वटा, वडा नं ४ मा ३ वटा, वडा नं ५ मा ८ वटा, वडा नं ६ मा ८ वटा, वडा नं ७ मा ९ वटा, वडा नं ८ मा ४ वटा, वडा नं ९ मा १३ वटा र वडा नं १० मा ११ वटा छन् । ती ७९ ढुङ्गेधाराहरूमध्ये पूर्वतर्फ फर्केको १२ वटा, दक्षिणतर्फ फर्केको २३ वटा, पश्चिमतर्फ फर्केको ३८ वटा उत्तरतर्फ फर्केको ५ वटा र उत्तर–पश्चिमतर्फ फर्केको एउटा धारा पाइन्छ । त्यस्तै, नगरमा दुईवटा स्वर्णधारा र एउटा तीनधारा रहेको पाइन्छ । नगरमा पश्चिमतर्फ फर्केका धाराहरू सबभन्दा बढी अर्थात् ३८ वटा ढुङ्गेधारा देखिएका छन् । यसो हुनुको कारण यहाँ पानी आउने धाराहरूको पानीको मुख्य स्रोत, बहाव पूर्व नगरफेदीबाट पानी आउने भएकोले हुनसक्ने अनुमान गर्न सकिन्छ । त्यसका अरू पनि कारण होला ! भक्तपुर नगरको बढी जमिनको भाग दक्षिण–पश्चिमतर्फ भिरालो परेको हुँदा नगरकोटबाट आउने पानी र जमिनभित्रको पानीको स्रोत, मूलको पानी पनि दक्षिणतिर स्वाभाविकरूपमा बहने र उत्तरतर्फ सा¥है कम हुने हुँदा जम्मा ५ वटा धारामात्र उत्तरतर्फ फर्केको अनुमान लगाउन गा¥हो भएन ।
पहिले टोलमा ढुङ्गेधारा, इनार, कुवामार्फत भक्तपुरका जनतालाई सहजै पानीको प्रबन्ध गरिएको थियो । स्थानीय सरकार भक्तपुर नपाले यहाँका जनतालाई सम्भव भएसम्म खानेपानीको स्रोत खोजी गरी पानीको सहज बन्दोबस्त गरिरहेको भक्तपुर जनताले अनुभव गरिरहेकै कुरा हुन् । भक्तपुर सहरको पानीको मुख्य स्रोत नगरकोट फेदी मुहानपोखरी माथि भंगेरी डाँडामा खेल मैदान बनाउने नाममा जङ्गल अतिक्रमण गरी जङ्गल फाँडी, पानीको स्रोत विनाश गरेको हुँदा ती पानीको मुख्य स्रोतलाई जलाधार क्षेत्र घोषणा गरेर त्यसको वरिपरि नेपाली सैनिकको क्याम्प राखेर सरकारले सुरक्षा गर्नु आवश्यक छ । सरकारले स्थानीय सरकारसँग समन्वय गरेर भिरालो बहाब क्षेत्रमा ठाउँ–ठाउँमा बाँध बाँधेर वर्षाको पानी जम्मा गर्न सकेको खण्डमा थप पानीको भण्डार भई जनतालाई खानेपानीको थप सहज व्यवस्था गर्नु आवश्यक छ ।
Leave a Reply